|

कपिलवस्तु : तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पतालमा विशेष नवजात शिशु सघन कक्ष (एसएनसीयू) सेवा सुरु भएको छ। छ महिनाअघि नै सुरु गर्ने भनिएको उक्त सेवा शनिबारदेखि सुरु गरिएको हो।

जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको उक्त सेवा सञ्चालनमा आएसँगै नवजात शिशु मृत्युदरमा कमी हुने विश्वास लिइएको छ। विशेष समयअगावै जन्मेका तथा सघन उपचार आवश्यक पर्ने नवजात शिशुलाई लक्षित गरेर उक्त सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताए। डा. बन्जाडेका अनुुसार नवजात शिशुमध्ये पाँच देखि १० प्रतिशतलाई उक्त सेवा आवश्यक पर्छ।

शिशुमा गर्भमा रहँदा उपयुक्त हेरचाहको कमी हुँदा जन्मिएपछि शिशुमा श्वास फेर्न गाह्रो भएको अवस्थमा, जण्डिस भएमा, मुटुमा समस्या भएका नवजात शिशुको उपचारका लागि यो सेवाले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। रगतमा संक्रममण भएका, सास फेर्न गाह्रो भएका, दिमागमा संक्रमण भएका, जन्मिँदा निस्सासिएका र जन्मिँदै मुटु रोग भएका शिशुको पनि सघन उपचार कक्षमा राखेर उपचार गरिने डा. बन्जाडेले जानकारी दिए।

स्वीस संस्था फेयरमेड, बाल स्वास्थ्य महाशाखा र अस्पताल विकास समितिको सहयोगमा करिब २० लाख रुपैयाँ लागतमा एसएनसीयू सेवा सुरु गरिएको अस्पताल बिकास समितिका अध्यक्ष विजय जैसवालले जानकारी दिए। 

जन्मेपछि २८ दिनभित्रका शिशुलाई चिसो लागेमा, श्वास फेर्न समस्या भएमा लगायतका समस्याबाट ग्रसित भएमा एसएनसीयू कक्षमा राखिने एसएनसीयू फोकल पर्सन एवं नर्सिङ प्रमुख पुनम पासीले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.