|

दमक (झापा) : झापाका विभिन्न सहकारी संस्थाहरूको संयुक्त लगानीमा रबरको व्यवसायिक खेती गरिएको छ। १२ वटा सहकारी संस्थाले दमक नगरपालिका–३ को मावाखोला किनारको जमिनमा रबर खेती गरेका हुन्। सहकारी संस्थाहरूको साझा स्वामित्व रहेको अन्तर संस्था बहुउद्देश्यीय कृषि उद्योग केन्द्रले गरेको रबर खेतीबाट कच्चा रबर उत्पादन सुरु हुन थालेको छ।

आठ वर्षअघि दमक, गौरादह, कमल तथा चुलाचुलीका सहकारी संस्थाहरूले करिब १३ बिघा क्षेत्रफलमा सामुहिक रूपमा वनमा आधारित उद्यम सुरु गरिएको उद्योगका अध्यक्ष काशीनाथ पौडेलले बताए। सुरुवातका क्रममा करिब १८ सय रबरका विरुवा लगाइएका थिए। 

उत्पादित रबरलाई प्राथमिक रूपमा प्रशोधन गर्न प्रशोधन केन्द्र पनि तयार पारिएको छ। ‘रूखबाट आएका चोपलाई संकलन गरी तरल रबरलाई जमाएर, धुँवामा सुकाएर प्रारम्भिक प्रशोधन गरिएको छ’ उनले भने, ‘हामीसँग अहिले अरू धेरै प्रविधि छैन। त्यसैले प्रशोधन केन्द्रको रूपमा धुँवाघर बनाएका छौं, यसैमा कच्चा रबरको पहिलो प्रशोधन हुन्छ।’

उद्योगमा करिब डेढ करोड रुपैयाँ लगानी भइसकेको जनाइएको छ। सोमध्ये दमकस्थित मेची सहकारीको ४० प्रतिशत स्वामित्व रहेको छ। कृषिलाई आधुनीकरण गर्ने उद्देश्यले रबरको व्यवसायिक खेती सुरु गरिएको मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए। विश्वव्यापी रूपमा नै रबरको माग अधिक भएको भन्दै यसको बजार अभाव नहुने उनको भनाइ छ। उत्पादित रबर स्थानीय स्तरमा खपत हुन सक्ने र बढी उत्पादन भएमा निर्यातको उच्च सम्भावना रहेको उनले बताए।

मावाखोलाले कटान गरिरहेको जमिन कम्पनीले खरिद गरी वनको रुपमा विकास गरेको हो। यस स्थानमा रबरका साथै खयर, टीक, सिसौलगायतका विरुवा पनि हुर्काइएको छ।

मेची सहकारीका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार यस स्थानलाई आन्तरिक पर्यटनको गन्तव्य बनाउने गरी दीर्घकालीन योजना बनाइएको छ। पोखरी निर्माण गरी माछा पालन गर्ने तथा पिकनिक स्पट पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।

राम्रो सम्भावना

झापा रबर खेतीका लागि उपयुक्त रहेको विज्ञहरूले बताएका छन्। झापा, मोरङ, सुनसरी तथा इलामको दक्षिणी क्षेत्रको जलवायु, हावापानी तथा माटो रबर खेतीका लागि उपयोगी रहेको रबरविज्ञ तेजनाथ दाहाल बताउँछन्।

देशका विभिन्न स्थानमा लगाइको रबर खेतीबारे समेत अध्ययन गर्दै आएका उनले झापामा करिव १५ सय बिघामा रबर खेती गरिएको जानकारी दिए। उनका अनुसार बिरुवा रोपेको छ देखि ३० वर्षसम्म कच्चा रबर (चोप) उत्पादन हुने र यसका रूखलाई काठको रूपमा उपयोग गर्न सकिन्छ।

रबरका बिरुवालाई अन्य बिरुवाजस्तै मल तथा स्याहारको आवश्यकता पर्दछ। ‘रोपेर त्यसै छोडे यसबाट खासै आम्दानी हुँदैन,’ उनले भने, ‘बिरुवा छनौटदेखि हुर्काउँदासम्म मल, सिँचाइलगायतमा ध्यान दिनु पर्छ।’ बिरुवा हुर्किएपछि चोप निकाल्ने समयमा समेत कच्चा रबर निकाल्न रुखमा घाउ लगाउने र प्रारम्भिक प्रशोधन पनि ध्यान दिनुपर्ने उनले सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.