राजनीति

प्रधानमन्त्रीको प्रदेश १ सम्बोधन : सीमा विवाद टुंग्याउन पहल थाल्छु
SHARES

यसरी गराए प्रदेशको परिचय

जेठ २६, २०७५

    विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता, देश हितका बारेमा कुराकानी गरेर नेपालको पक्षमा निर्णय लिइने बताएका छन्। प्रदेश १ को प्रदेशसभालाई पहिलो पटक शनिबार (आज) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग विभिन्न चरणमा कुराकानी गरिने र समस्या समाधान गर्ने बताए। 

    'सिमानामा बाटो बनाउने, पुल बनाउने, बाँध बनाउने नाममा विवाद भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विवाद समाधानका लागि कहाँ कहाँ के के भूमिका खोल्नु पर्ने छ हामी पहल गर्छौं।’ ओलीले सिमामा भारतीय सुरक्षाकर्मी र नेपाल पक्षबीच भइरहेका अस्वाभाविक क्रियाकलापप्रति सचेत हुनुपर्ने पनि बताए। ‘सिमामा भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि आक्रमण भएको, धम्क्याएको जस्ता कुरा आएका छन्,’ ओलीले भने, ‘यो राम्रो कुरा होइन। यसले राष्ट्र-राष्ट्रबीचमा समस्या ल्याउन पनि सक्छ। हामीले बेलैमा ध्यान दिनु आवश्यक छ।’ 

    कतिपय विवाद वैयक्तिक ढंगले पनि हुन सक्ने भएकोले सचेत रहन पनि आग्रह गरे। ‘हामी आफ्ना निम्ती सोचिरहेका छैनौं, देशका निम्ती सोचेका छौं। अन्तर्राष्ट्रिय संबन्धका प्रसंगमा सार्वभौम समाजवादका आधारमा वास्तविक अर्थमा स्वाधीन बनाउने हाम्रो प्रतिबद्धता छ,’ प्रधानमन्त्री ओलीले भने।

     अर्को प्रसंगमा ओलीले देश अधिनायकवादतिर जाँदैछ कि कहाँ जाँदैछ भन्ने कुरा जनताले थाहा पाइरहेको पनि बताए। यसअघिको सरकारले ठेक्का-पट्टामा जथाभावी रकम दिएर देशको अर्थतन्त्रलाई धराशायी बनाएको आरोप पनि लगाए। अहिलेको सरकारले विगतको कुरालाई सच्याएर लाने पनि बताए। 

    ‘सरकार भनेको शासन गर्नका लागि नभएर सेवा गर्नका लागि हो,’ उनले भने, ‘सरकार विकास कसरी गर्न सकिन्छ त्यसको योजना, नीति कार्यक्रम बनाएर देशलाई अगाडि बढाउने, सुशासन कायम गर्ने तिर लागेको छ।’ अहिले नेपालमा ६० लाखदेखि ८० जनता निरपेक्ष गरिवीको रेखामुनी रहेकाले प्रधानमन्त्री ओलीले ती जनताले परिवर्तनको अनुभूति गर्न पाउनु पर्नेमा पनि जोड दिए। 

    देश बनाउन संकल्प गरेको बताउँदै ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गरेको पाइएमा कसैल छुट नदिने पनि बताए। ‘प्रदेशको मन्त्रिपरिषद् र ब्युरोक्रेसी पनि स्वच्छ ढंगले चलाउन म आग्रह गर्दछु,’  प्रम ओलीले भने, ‘भ्रष्टाचार र सुशासन कायम गर्न आवश्यक छ।’  प्रदेश सरकारले आफ्नो आम्दानीको स्रोत नभएको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने स्रोत ठूलो कुरा नभएको बताए। ‘दुनियाँमा लगानीका लागि अनुकूल वातावरण दिए मात्रै पुग्छ’, ओलीले भने, ‘सबै चिजका लागि हामीले पहिलो कुरा देश र जनताप्रति समर्पित छौं। हामी हाम्रो काम र जिम्मेवारी लिन्छौं भन्ने संकल्प चाहिएको छ। हामी भ्रष्टाचार गर्दैनौं भन्ने संकल्प चाहिएको छ।’

     प्रदेश १ असाधारण भएको भन्दै ओलीले सर्वोच्च शिखर सगरमाथा हुनु, असाधरण क्षमताका नदी तथा खोला रहनु, हिमाल पहाड, तराई, उत्तर दक्षिण बगेका खोला, जातीय विविधिता, गुराँस,सुपारी, चिया, रुद्राक्ष, अम्लिसो, ढाका बुन्ने कला पनि रहेको उल्लेख गरे। ‘जडिबुटी छ, उर्वर भूमि छ, यस्तो सुन्दर, सामाजिक विविधिता छ, ऐतिहासिक परम्परा छ, जहाँ सप्तकोशी नदी छ र सर्वोच्च शिखर सगरमाथा छ,’ ओलीले भने, ‘यस्तो असाधारण प्रदेश १ नम्बर मात्रै हो।’

    नेपाल र नेपाली विद्धान पूर्खाका सन्तान भएकाले त्यही ज्ञानका आधारमा अगाडि बढ्नुपर्नेमा उनले जाेड दिए। उनले नेपाललाई गरिव हुने कुनै कारण नभएको पनि बताए। ‘यो देशलाई गरिव हुन नदिने प्रण गर्दछौं। गरिव हुने कारण अनैतिक प्रणाली र व्यवस्थापन हो। शासन गर्ने शासकले गर्दा हाे। राष्ट्रको सम्पत्तिआफ्नो हितमा प्रयोग गर्नेका कारण भएको हो,’ ओलीले भने, ‘अब देशको सम्पत्ती जनताको लागि र राष्ट्रको लागि खर्च गर्नुपर्दछ। प्रणालीमा पनि परिवर्तन गर्नु पर्दछ।’ प्रदेशिक प्रणालीलाई सहज बनाउनका लागि उपयुक्त संरचना निर्माण हुँदै जाने पनि प्रधानमन्त्रीले बताए। 
     

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]