|

कञ्चनपुर : स्वदेशमा रोजगारीको अवसर नभएको बहाना गर्दै विदेशीनेको संख्या कञ्चनपुरमा बढ्दो छ। भारतीयहरूले परिवारसहित यहाँ आएर वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन्।   

भारतको उत्तर प्रदेश पिलिभितका कल्लु खाँलाई कञ्चनपुरको नदीको बगरमा तरकारी उत्पादनको कार्यमा लागेको २८ वर्ष बित्यो। उनले धेरै समय निम्वुखेडा र दैजीमा तरकारी उत्पादनको कार्य गरेपछि तीन वर्षदेखि कालागौंडीको स्याली नदीको बगरलाई तरकारी उत्पादनका लागि रोजेका छन्। उनले सित्तैमा पाएको बगरमा तरकारी उत्पादन गरी वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिँदै आएका छन्।

स्याली नदीको २५ विघा बगरमा उनले तितेकरेला, फर्सी, कांक्रा, टमाटर, लौका, तरभुजा, खरभुजालगायतको खेती गरेर गतिलो आम्दानी लिँदै आएका हुन्। नदीको बगरमा झपडी बनाएर परिवारसहित बस्दै आएका खाँले कञ्चनपुरकै खोला किनाराको बगरमा तरकारी खेती गरेर भारतको पिलिभितमा सुविधा सम्पन्न घर घरेडी जोडेका छन्।

खाँका परिवारका सदस्यसँगै काम गर्न सजिलोका लागि भारतबाटै अन्य तीन परिवारलाई आफूसँगै उनले बगर खेतीमा संलग्न राखेका छन्। ‘एक्लैले बगरमा काम गर्न र रेखदेख गर्न अप्ठेरो हुने हुँदा भारतबाटै तीन परिवारलाई आफूसँगै संलग्न गरी आम्दानीको केही हिस्सा दिने गरी सामेल गरेको छु’ उनले भने। 

बगरमा तरकारी खेती गर्नका लागि १५ लाख रुपैयाँ लगानी गरिएको उनी बताउँछन्। लगानी कटाएर १८ लाख रुपैयाँ बढी रकम आम्दानी हुने गरेको उनले बताए।तरकारी टिप्ने, गोडेमेल गर्ने र मल राख्ने कार्यका लागि स्थानीय आधा दर्जन बढी नेपालीलाई उनले रोजगारी दिएका छन्। यस कार्यका लागि दुई लाख रुपैयाँ खर्च हुने गरेको नवाव खाँले बताए।

बगरको खेतीका लागि स्थानीय समुदायलाई १५ हजार रकम दिएर बगर पाएको उनले बताए। बगरमा तरकारी खेती गर्दै आएका भारतीय मंसिरमै यहाँ बगर खेतीका लागि आउने र असारको पहिलो सातासम्म यहाँ बस्ने गरेका छन्। त्यसपछि उनीहरू तरकारी उत्पादनको कार्य सकिएपछि भारत तर्फ फर्किने गरेका छन्।भारतीयहरूले उत्पादन गरेको तरकारी स्थानिय बजारसँगै कैलाली, नेपालगञ्ज, बुटवल र काठमाडौंसम्म आपूर्ति गरी आम्दानी लिँदै आएका छन्।

नगरपालिका र वडा कार्यालयलाई भारतीयहरूले बगरमा खेती गरेवाफतको कुनै किसिमको कर भने तिर्दैनन्। ‘नगरपालिकाबाट कर माग्न कोही आएका छैनन्’ महागिर खाँले भने, ‘भारतमा खेती योग्य जग्गा खोज्न निकै मुश्किल छ। नेपालमा सित्तैमा जग्गा पाइने र मनग्य आम्दानी हुने गरेकाले प्रतिवर्ष यहाँ पुगेर खेतीलाई निरन्तरता दिँदै आएका छौँ।’ 

हाल बगर खेतीमा यहाँका स्थानीय संलग्न हुन थालेपछि पहिलेको जस्तो आम्दानी नरहेको उनले बताए। भारतीय एक दर्जन बढी परिवार यहाँका खोला नदी किनारको बगरमा तरकारी उत्पादनको कार्य गर्दै आएका छन्।
 
नेपालीहरूले स्वदेशमा श्रम गर्न नमान्ने गरेकाले नै विदेश जानु परेको भारतीय तरकारी उत्पादनमा लागेकाहरूको भनाइ रहेको छ। ‘स्वदेशमै अथाह आम्दानीका श्रोतहरू भए पनि माल भएर पनि चाल पाएका छैनन्’ तसलिम खाँले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.