|

काठमाडौं : भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शान्तिदूत भगवान गौतम बुद्धको २५६२ औँ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित ‘एनएलजी विशेष शान्ति कविता गोष्ठी’को आयोजना गरिएको छ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा तथा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित ‘विशेष शान्ति कविता गोष्ठी’मा शान्तिदूत बुद्धलाई सम्झिँदै १३ जना कविहरूले शान्ति कविता सुनाए । कविहरूले कवितामार्फत शान्ति स्थापना र सामाजिक समानताको पक्षमा कविता सुनाएका थिए।

कविहरू अशेष मल्ल, सुलोचना मानन्धर, किशोर पहाडी, राजेन्द्र शलभ, शशी लुमुम्बू, साम्ब ढकाल, देवकी अभिलाषी, निमेष निखिल, सुनीता खनाल, जीवन खत्री, अमृता स्मृति, केशव सिग्देल र कविता राई गाउँले आ–आफ्ना कविता वाचन गरेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले सबैभन्दा कलात्मक भाषिक अभिव्यक्ति नै कविता भएको बताए। 

प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीले समाजमा आपसी सद्भाव र प्रेमको अभाव खट्किन थालेको भन्दै प्रेम, सद्भाव र शान्तिका लागि आफ्नो संस्थाले यसप्रकारको कार्यक्रम आयोजना गर्ने गरेको बताइन्।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् कवि राजेश्वर कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। 

प्रतिष्ठानका संरक्षक विमल कोइराला, प्रथम मानार्थ सदस्य एस्पी कोइराला र एनएलजीका मानव संशाधन प्रमुख नौमिनाथ अधिकारीले ‘शान्ति कविता गोष्ठी’को महत्त्वबारे बोलेका थिए। 

कार्यक्रममा ‘कलाश्री’ साहित्य वार्षिक पत्रिकाको मञ्चमा आसिन र दर्शकदीर्घामा रहेका उपस्थित सबैले खामबाट पत्रिका निकालेर विमोचन गरेका थिए भने ई–पत्रिकाको नयाँ अंकको पनि लोकार्पण गरिएको थियो।

विमोचित पत्रिका ‘कलाश्री’ साहित्य वार्षिकमा प्रकाशित रचनामध्ये उत्कृष्ट ठहरिएको बलराम अधिकारीको निबन्ध ‘सुपेरियोरीटी कम्प्लेक्सको टुप्पोबाट’का लागि ११ हजार रुपैयाँ राशिको ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ पनि प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण कवि तथा सञ्चारकर्मी मणि लोहनीले गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.