|

काठमाडौं : प्रेमकथामा आधारित शिव बस्यालको उपन्यास ‘बिस्मिता’ सार्वजनिक भएको छ।

सर्वनाम थिएटर काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा आख्यानकार राजन मुकारुङ, लेखक बन्दना ढकाल र कवि हरिमाया भेटवाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

पुस्तकमाथि बोल्दै मुकारुङले वर्तमान समाजको मानवीय संवेदनालाई उपन्यासले समेटेको बताए। ‘अहिले हामीलाई ‘डिजिटल’ दुनियाँले दिमाग ‘ड्यामेज’ गर्दै लगिरहेको छ। हाम्रो संवेदनालाई कमजोर बनाएको छ’, उनले, ‘यस मनोविज्ञानलाई लेखकले उपन्यासमा प्रस्तुत गरेका छन्।’

‘टेक्नोलोजी’को प्रभावले समाज, राजनीति, परिवारबाट अलग्गिँदै गएको पात्रको मनोविज्ञानलाई खुलस्त रूपमा लेखकले उपन्यासमा राखेको उनले बताए। ‘अहिलेको पुस्तामा यसखाले टेक्नोलोजीको मनोरोग बढ्दै गएको छ। लेखकले त्यो रोगलाई सचेचतापूर्वक देखाएका छन्,’ उनले भने, ‘लेखकको भाषा र प्रस्तुति निकै राम्रो छ। यत्ति राम्रो लेख्नेले अबको पुस्तक झनै राम्रो बनाउन सक्छ।’

अर्की वक्ता भेटवालले प्रेमको अन्योलमा अल्झिएको र अहिलेको पुस्ताको मनोविज्ञानलाई उपन्यासले उजागर गरेको बताइन्। ‘साइबर प्रेमको प्रयोग भए पनि प्रेमलाई हल्का रूपमा लिएका छन् पात्रले,’ उनले भनिन्, ‘नयाँ पुस्तामा यही देखिन्छ, जुन लेखकले देखाउन खोजेका छन्।’

लेखक बन्दना ढकालले युवा पुस्ताले पढ्ने खालको उपन्यास आएको बताइन्। लेखक बस्याल प्रवासमा रहेर साहित्य क्षेत्रमा क्रियाशील छन्। उनको यो पहिलो साहित्यिक पुस्तक हो। उपन्यासलाई इन्डिगो इन्कले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.