|

उपाधि दाबेदार मानिएको फ्रान्स विश्वकपअघिको अन्तिम मैत्रिपूर्ण खेलमा बराबरीमा रोकिएको छ। उसले घरेलु मैदानमा अमेरिकासँग १-१ गोलको बराबरी खेलेको छ। विश्वकपमा छनोट हुन असफल रहेको अमेरिकाविरुद्ध फ्रान्स पहिलो हाफमा १ गोलले पछि परे पनि उसलाई युवा स्टार क्यालियन माबाप्पेले जोगाएका थिए।

फ्रान्सले अधिकांश आफ्नो विश्वकप लाइनअपलाई नै सुरुवातमा उतारे पनि ४४ औं मिनेटमा खेलमा पछि परेको थियो। अमेरिकाले जुलियन ग्रिनको गोलमार्फत खेलमा अग्रता बनायो। अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखे पनि फ्रान्सले गोल गर्न भने दोस्रो हाफको अन्तिम समयसम्म कुर्नु परेको थियो। ७८ औं मिनेटमा माबाप्पले फ्रान्सको सम्भावित संकट टार्दै खेल बराबरीमा ल्याए।

फ्रान्सका लागि एन्टोनि ग्रिजम्यान, पाउलो पोग्बाले निरन्तर आक्रमण गरे पनि जित निकाल्न भने सकेनन्। अन्तिम समयको अर्को एक महत्त्वपूर्ण प्रहारलाई पनि गोलरक्षक ज्याक स्टेफनले बचाएपछि सम्भावित जितबाट फ्रान्सस बञ्चित भयो। खेल अवधिभर ६९ प्रतिशत पोसेसन राखेको फ्रान्सले १९ सट प्रहार गर्दा अाठ वटा सट टार्गेटमा प्रहार गर्‍यो तर एक गोल मात्र गर्न सफल भयो।

फ्रान्सले समुह सी मा रहेर अस्ट्रेलियाविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि पेरु र डेनमार्क सामना समूह चरणमा फ्रान्सले गर्नेछ। त्यस्तै अन्य मैत्रिपूर्ण खेलमा डेनमार्कले म्याक्सीकोलाई २-० ले पराजित गर्दा स्पेनले ट्युनिसियामाथी १-०को जित निकाल्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.