‘माउण्ट एभरेष्ट चढ्न हिँडेको मान्छे चुरे पहाडतिर फर्कंदैन’

|

तत्कालीन माओवादी केन्द्रसँग छुट्टिएर नयाँ शक्ति नेपाल पार्टी बनाएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बेलाबेला चर्चामा आइरहन्छन्। अहिले माओवादी र एमाले एक भइसकेपछि भट्टराईको नयाँ शक्ति पनि मिल्न लागेको हल्ला चलेकै छ। पहिले पनि एमाले र माओवादीसँग एकता गर्ने सहमति गरी गएका भट्टराई केही दिन नबित्दै फर्किका हुन्। अहिले वाम सरकारले बजेट पनि प्रस्तुत गरिसकेको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईसँग यिनै समसामयिक विषयमा गोरखाको पालुङ्टारमा थाहाखबरकर्मी सन्तोष अधिकारीले गरेको कुराकानीको सारांश प्रस्तुत छ।

तपाईंको पार्टी नेकपासँग एकता गर्ने तयारीमा छ रे नि? 

माउण्ट एभरेष्ट (सगरमाथा) चढ्न हिँडेको मान्छे चुरे पहाडतिर फर्कन लागेको हो? भनेको जस्तो भयो। यो असम्भव कुरा हो। म के स्पष्ट पार्न चाहन्छु भने नयाँ शक्ति कसैको लहडमा, कसैको आक्रोशमा सुरुवात गरेको अभियान होइन। विश्वमा नै विचारको अहिले ठूलो संकट छ। उदारवादी लोकतन्त्रको संकट अमेरिकामा डोनाल्ड ट्रम्पलगायतको उदयले देखाइरहेको छ। परंपरावादी सनातनी साम्यवादको संकट विश्वभर छ। एकाध देशमा मात्र अलिकति धिपधिप गरिराखेको छ। यस्तो स्थितिमा हामीले चौथो औद्योगिक क्रान्तिको नयाँ युगअनुसार विश्वमा नै एउटा नयाँ विचारको खोजीको क्रममा नयाँ शक्ति सुरु भएको हो। यसले नेपालमा रहेका अहिलेका कांग्रेस र कम्युनिस्ट ब्राण्ड, जुन दोस्रो विश्वयुद्धताका नेपालमा राणाशासनसँग संघर्ष गर्नेताका जन्मिएर आएका शक्ति हुन्, यिनले लोकतान्त्रिक आन्दोलनको चरणमा एउटा भूमिका निर्वाह गरे। म आफैँ पनि त्यसमा सहभागी भएँ तर त्यो काम फत्ते भइसकेको छ।

अब नयाँ युग २१औँ शताब्दीको नेतृत्व गर्ने हो भने पुरानो विचार, शैलीले हुँदैन, यो नै यसको सार तत्त्व हो। त्यसैले अहिले हामीले के भनेका छौँ भने दुईवटा ध्रुव छन्, पुराना शीतयुद्धकालीन। यसको वैकल्पीक ध्रुव निर्माण गर्ने हाम्रो लक्ष्य हो। तेस्रो ध्रुव निर्माण गर्न अघि बढेको शक्ति कुनै रूपले यो वा ऊ, कहाँ टाँस्सिन्छ कि, विलीन हुन्छ कि भन्ने प्रश्न सान्दर्भिक छैन। तत्कालीन मुद्दामा सहकार्य गर्छाैं तर हाम्रो पार्टी एकीकरण हुँदैन। 

नेकपालाई कथित कम्युनिस्ट भन्नुभयो नि?

कम्युनिस्ट कित्ता विश्वमै संकटग्रस्त भयो, जुन राजनीतिक रूपले एक दलीय अधिनायकत्व भन्ने मोडेल हो। कि त कम्युनिस्ट होइन भन्नुप¥यो। कम्युनिजमको परिभाषा, जो मुख्य रूपमा लेलिन, स्टालिनले गर्नुभयो, त्यो भनेको सर्वहारा वर्गको अधिनायकत्व नै हो। त्यो छोडिसकेपछि कम्युनिस्ट भन्ने नाम राख्न आवश्यक हुँदैन। 

आर्थिक रूपमा भन्ने हो भने कम्युनिस्ट व्यवस्था भनेको राज्यले सबै उत्पादनका साधनमाथि नियन्त्रण गरेर माथिबाट लागू गरेको नीतिअन्तर्गत समाजलाई अघि बढाउने भन्ने हो । जब तपाईं छोड्नु हुन्छ, निजी क्षेत्रलाई, बजारलाई ठाउँ दिनुहुन्छ। त्यहाँनिर कम्युनिस्ट भन्ने अर्थ रहँदैन। त्यो कम्युनिस्टको खोल ओढिसकेपछि अर्काे नीति के अर्थ हुन्छ? लेनिनले भनेको कम्युनिस्ट केन्द्रीयता मान्ने पार्टी हो। मूल रूपमा जनवादचाहिँ छलफलका लागि जनवाद हुन्छ तर मूल रूपमा केन्द्रिकृत हुन्छ र त्यसअनुसार नियम पालना गर्नुपर्छ। यसले तानाशाही जन्मायो, यसलाई छोड्नुपर्छ भनेर मदन भण्डारी आफैँले भने। 

जनयुद्धकालमा हामीले नै २१औँ शताब्दीको जनवाद भनिसक्यौँ। संगठनको सिद्धान्त पनि छोड्यौँ। त्यो हिसाबले पनि अब फेरि कम्युनिस्ट ब्राण्ड बोकिराख्नुको औचित्य रहँदैन। अब फेरि हामी त्यहाँ फर्कने कुरा हुँदैन। कांग्रेस र कम्युनिस्टलाई हाम्रो धन्यवाद छ। उहाँहरूले एउटा युगको कार्यभार पूरा गर्नुभयो। अब नयाँ युगमा नयाँ बन्नुपर्छ। हाम्रो मूल अडान यही हो। 

तपाईंको विचारको शक्तिभन्दा सत्ताको शक्ति नै बलियो देखिन्छ नि?

यसमा फरक के छ भने विचारको शक्ति र सत्ताको शक्तिको प्रतिस्पर्धा हुँदा फेरि सुरुमा सत्ताको शक्ति हावी हुन्छ। देशमा नयाँ विचार जन्मँदा यथास्थितिवादी र तत्कालीन सत्ताले नै जितेका घटना छन्। ठूल्ठूला चिन्तकहरू सुकरातदेखि लिएर वैज्ञानिकहरू समेत प्रताडित हुनुपरेका घटना तपाईं हामी सबैलाई थाहा छ। त्यसैले विचार र शक्तिको लडाईंमा अहिले सत्ता पक्ष हावी छ भन्दैमा हामी एउटा विचारको अभियान छोड्दैनौँ। कुनै पनि हिसाबले हामी तेस्रो ध्रुव खडा गर्ने अभियानमा लाग्छौँ।  

प्रचण्डजी आफैँ एकता गरेर जनयुद्धको उपलब्धि गुमेर पछाडि फर्कन्छ कि क्या हो भनेर चिन्तित देखिनुहुन्थ्यो। त्यो सन्दर्भमा ठीक त्यसो हो भने माओवादी आन्दोलनलाई नयाँ ढंगमा रूपान्तरण गरेर जान तयार हुनुहुन्छ भने जाऔँ भनेकै हो। तर उहाँ मान्नुभएन र उतैपट्टि जानुभयो।

पहिले त त्यतै फर्कन लाग्नुभएकै हो नि, होइन र?

हामीले कम्युनिस्ट समूहसँग असोज १७ गते सहकार्य खोजेको विषय र पछिल्लो चरणमा प्रचण्डजीसँग मैले र उपेन्द्र यादवजीले कुराकानी गरेको विषय पनि के हो भने असोज १७ गते समाजवादी केन्द्र बनाऊँ भन्ने थियो। त्यसको सम्भावना देखेर हामी गयौँ। तर उहाँहरूको कम्युनिस्ट ब्राण्ड सार छोड्ने रूपचाहिँ बोक्ने जुन प्रवृत्ति देखियो, योचाहिँ ठीक लागेन र हामी अलग्गियौँ। पछिल्लो चरणमा प्रचण्डजीसँग कुरा के थियो भने उहाँको माले र माओवादी केन्द्रको अन्तरविरोध बढ्दै थियो।

प्रचण्डजी आफैँ एकता गरेर जनयुद्धको उपलब्धि गुमेर पछाडि फर्कन्छ कि क्या हो भनेर चिन्तित देखिनुहुन्थ्यो। त्यो सन्दर्भमा ठीक त्यसो हो भने माओवादी आन्दोलनलाई नयाँ ढंगमा रूपान्तरण गरेर जान तयार हुनुहुन्छ भने जाऔँ भनेकै हो। तर उहाँ मान्नुभएन र उतैपट्टि जानुभयो। अरू रूपान्तरित भएर आउँछन् भने त सोच्ने कुरा भयो तर अहिले भएको कांग्रेस र कम्युनिस्ट विचार बोकेका त्यही शक्ति र संगठनमा एकताको कुनै सम्भावना छैन। यो भ्रम कहिल्यै नपाल्नु होला। कहिल्यै पनि मिडियाका साथीहरूले पनि यो के हो भनेर अब नसोधिदिनुहोला। 

राजनीतिक ध्रुव त बढ्ला जस्तो देखिन्छ, नयाँ शक्ति यही ठाउँमा उभिन्छ कि परिवर्तन हुन्छ?

अहिले भएका दुई ध्रुव त शीतयुद्धकालकै ध्रुव हुन्। पुँजीवादी ध्रुव र साम्यवादी ध्रुवबीचमा ४५ वर्ष संघर्ष चलेकै हो। त्यसैको उपज नेपालमा कम्युनिस्ट र कांग्रेस हुन्। यी दुवै कुनै नयाँ चिज होइनन्। पुराना शक्ति हुन्। हामी यिनको विकल्पमा तेस्रो शक्ति हौँ। 

वैचारिक रूपमा कांग्रेस र कम्युनिस्ट कुनसँग नजिक छ नयाँ शक्ति? 

हामी त्योभन्दा अगाडि बढ्न चाहिरहेका छौँ। चुरे नजिककी महाभारत नजिक भन्ने कुरा भएन। हामी त एभरेष्ट (सगरमाथा) चढ्न लागेका मान्छे। चुरे र महाभारतसँग तुलना नगरौँ। 

कार्यकारी राष्ट्रपति फेरि चर्चामा छ, तपाईंको धारणा?

यो विचारको मुद्दा होइन, राजनीतिक मुद्दा हो। शासकीय स्वरूपको मुद्दा हो। यस विषयमा मेरो दृढ विश्वास के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक सांसद। त्यसले मात्रै नेपालमा स्थायित्व र विविधताको सम्बोधन गर्छ। नयाँ शक्तिले चाहिँ देशव्यापी हस्ताक्षर अभियान चलाएर १० लाख हस्ताक्षर तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको पनि हो। अहिले प्रचण्डजीले साँच्चै भित्रैदेखि भन्नुभयो कि सार्वजनिक खपतका लागि भन्नुभयो, यसमा जानु राम्रो हो। मैले उहाँलाई सरकार बहुमतको छ, तपाईंले भन्ने होइन, गर्ने हो भनेर शुभेच्छा छ भनेको छु। 

वाम सरकारको अहिलेको कामकारवाहीलाई कसरी लिनुभएको छ?

बिहानीले दिउँसोको झल्को दिन्छ भन्छन् तर त्यति राम्रो झल्को दिएन। खासगरी जुन बजेट प्रस्तुत भयो, नीति कार्यक्रम आयो, तिनमा कुनै पनि नयाँपन आएन। पुरानैको निरन्तरता, झासझुस जम्मा पारेर प्रस्तुत गरियो। हनुमानले सञ्जीवनी बुटी छुट्याउन नसकेर झारपातसहित पर्वत नै बोकेर आएजस्तो भयो। विकासमा दुई अंकको जुन फड्को हामीले खोजिरहेका छौँ, त्यो अहिलेको नीति कार्यक्रमले सम्भव छैन। यो सरकारबाट जनताले जति अपेक्षा गरेका हुन्, त्यस्तो हुन सकेन। तैपनि भर्खर सुरु भएको छ, शुभकामना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.