|

जनकपुरधाम : जनकपुरका एक युवकले स्कुल, कलेज, एयरपोर्ट, मन्दिर, खुल्ला मैदान, रेल्वे स्टेशनसहित अन्य स्थानहरूका लागि छुट्टाछुट्टै सुविधा भएको इन्टरनेट प्याकेजको सुरुवात गरेका छन्। कुनै पनि सार्वजनिकस्थल वा मन्दिर, मस्जिद, स्टेशन, बसपार्कलगायतका स्थानहरूको लागि छुटाछुटै आवश्यक जानकारी दिने इन्टरनेट सुविधाको सुरुवात गरेका हुन्।

भारतको बैंलोरबाट कम्प्युटर इन्जिनियर गरेका सुभाष कुँवरले दुई वर्षअघि निर्माण गरेको एटीए यन्त्र जडान गरी सफल परीक्षण गर्दै जनकपुर विमानस्थलमा हुने प्रत्येक गतिविधिलाई नियन्त्रण गर्ने र यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउन सफल भएको दाबी गरेका छन्। जनकपुर विमानस्थलमा एटीआई यन्त्रको सफलतापूर्वक परीक्षण गरी कुँवरले अब यस्तै प्रकारको यन्त्र विस्तार गरी मन्दिर, होटेल, कलेजसहितको स्थानमा प्रयोग हुने विषयवस्तुलाई इन्टरनेटमार्फत प्रयोग गर्न पाउने किसिमले सेवा सुचारु गरेको बताए।

उनले विश्कै विज्ञान र प्रविधिको अविष्कारमा एटीआई यन्त्रको निर्माण एउटा उपलब्धिमूलक भएको दाबी गरे। उनले भने, ‘अहिलेको इन्टरनेटको संसारमा बढेको साइवर अपराधलाई निरुत्साहित गर्न यो प्रविधि सहायक सिद्ध हुन्छ। एटीआई प्रविधिले पर्यटक, विद्यार्थी–शिक्षक, यात्रा गर्ने यात्री, भ्रमण गर्न आउने पर्यटकलगायत सर्वसाधारणलाई फाइदा पुग्नुका  साथै साइवर क्राइमको अपराधलाई यसले धेरै हदसम्म नियन्त्रण गर्न सहायक सिद्ध हुनेछ।’

के हो एटीआई यन्त्र ?

एटीआइलाई अंग्रेजीमा 'एनिटाइम इन्टरनेट सर्भिस' भनिन्छ । यो चौबिसै घण्टा फ्री इनटरनेट अथवा वाईफाई सेवा जस्तै हुन्छ तर यसको प्रयोग गर्न पासवर्ड हाल्नुपर्छ। जुन पासवर्ड एटीआई यन्त्रबाट लिन सकिन्छ। फ्री वाइफाइ जडान गर्ने र ठाउँको विषयमा विशेष जानकारी लिन चाहने व्यक्तिले जडान गरिएको एटीआई यन्त्रबाट पासवर्ड लिन सक्छन्।

वाइफाई प्रयोग गर्न चाहने व्यक्तिले एटीआई यन्त्रबाट पासवर्ड लिन प्रेसस्वीच थिच्नुपर्छ। जसले वाइफाई कनेक्टको लागि पासवर्ड अर्थात युजर नेमसहितको एउटा एटीएमको 'पर्ची' जस्तै पेपर दिन्छ। जसमा पासवर्ड हुन्छ। व्यक्ति पिच्छे पासवर्ड फरक हुन्छ। एटीआई मेसिनबाट वासवर्ड लिन गएका व्यक्तिले प्रेस स्वीच थिच्नेबितिकै यन्त्रणले उसको फोटो खिच्नुको साथै पासवर्डसहितको एउटा कागजमा दिन्छ।

पासवर्ड राखेर इन्टरनेट कनेक्ट गर्दा उसको अन्य केहि सामान्य जानकारीसमेत एटीआई यन्त्रले क्याच गर्छ। जडान गरेको सिस्टमअनुसार कम्तिमा एक घण्टा वा बढी ५/१० घण्टासम्म रहन्छ । त्यसपछि स्वतः इन्टरनेट डिसकनेक्ट हुन्छ। यो सेवा एकपटकमा २०० भन्दा बढीले प्रयोग गर्न सक्छन्।

इन्टरनेट प्रयोगकर्ताले कुनै साइवर अपराध वा अन्य गलतविधि गरेमा तुरन्त जानकारी हुन्छ। उसलाई तुरन्तै पहिचान गर्न र पक्राउ गर्न सकिन्छ। यस एटीआई यन्त्रको प्रयोगले सार्वजनिकस्थल वा कुनै संघसंस्थामा हुने साइवर अपराध र अन्य अवाञ्चित गतिविधिलाईसमेत नियन्त्रण मद्दत गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.