माग्नेको आमा बन्दा संसारले चिन्यो

|

काठमाडौं : ०४२ साल तिरको कुरा, पुतलीसडकको एक टेलरिङ हाउसमा कपडा सिलाइरहेकी शारदा गिरीलाई फिल्म खेल्ने अफर आयो। उनलाई अफर गरेका थिए, फिल्मकर्मी प्रेम बानियाँले। फिल्म खेल्न मन भइरहेकी शारदाले पनि उक्त कुरालाई स्विकारिन् र फिल्म खेल्न तयार भइन्।

फिल्म खेल्न के गर्नुपर्छ, कसरी खिचिन्छ वा सिधा भनुम् फिल्मका बारेमा शारदालाई केही थाहा थिएन। प्रेम बानियाँसँगको चिनजानले उनी पहिलो फिल्मको सुटिङसम्म पुगिन्।

सुटिङमा पुगेको पहिलो दिन, सिन नम्बर एक: उनले ग्रुप डान्स भइरेहको ठाउँमा नाच्नुपर्ने दृष्य थियो। पहिले सिन उनको लागि सौभाग्य पनि भयो र दुर्भाग्य पनि। सौभाग्य यस अर्थमा थियो, उनले त्यहाँ फिल्मका नायक रोशन श्रेष्ठसँग नाचिरहेकी थिइन्। अनि दुर्भाग्य, रोशन उनीसँग नायिका भनेर नाचिरहेका थिए र शारदालाई देखेपछि उनलाई हत्याउनुपर्ने दृष्य थियो। मतलब शारदा त्यहाँ हेपिनुपर्ने दृष्य।

फिल्मको छायांकनको लागि 'एक्सन' बोलियो। उनी मस्त नाच्न थालिन्। एक्कासि उनलाई हुत्याइयो। लगत्तै कतैबाट 'कट'को आवाज आयो। शारदा छक्क परिन्। 'मलाई रोशन श्रेष्ठसँग नाच्नु भनेका थिए। म त्यही गरिरहेकै थिएँ,' शारदा सम्झिन्छिन्, 'एक्कासि हुत्याएपछि त म छक्क परेँ। मैले केही गल्ती गरेर हुत्याएको हो कि भन्ने लाग्यो।'

शारदाले पछि थाहा पाइन् त्यहाँ फिल्मको सिन नै त्यही रहेछ। अनि गल्ती नभएको थाहा पाएपछि भित्रभित्रै मन्द मुस्कुराइन्। 'ए फिल्ममै देख्नको लागि पो रहेछ।'

दोस्रो फिल्म पाउन गाह्रो

फिल्म क्षेत्रमा चिनजान थिएन। उनलाई फिल्ममा खेलाउन कोही तयार भएनन्। उनी भन्छिन्, 'पहिलो फिल्ममा त्यति गरियो। त्यसपछि मलाई कसैले अफर गर्नुभएन। म पुरानै काममा फर्किएँ।'

लगभग दुई वर्षपछि शारदाको एक साथीले उनलाई फेरि फिल्म खेल्न ऊर्जा दिए। 'फिल्म खेल्न थालिसकेको मान्छे किन छोड्नुभएको,' फिल्म क्षेत्रमा नै काम गरिहरेका साथीले उनलाई भने, 'हरि सिवाकोटीले फिल्म बनाउँदै हुनुहुन्छ म भन्दिन्छु।' शारदाले हुन्छ भनिन्।

हरिले बनाउन लागेको फिल्म थियो, 'बेदना र मुक्ति'। शारदाले यस फिल्ममा हिरोइनको आमा बनेर काम गरिन्।

हरिलाई शारदाको काम मन पर्‍यो। हरि र शारदा दिनेश डिसीको सम्म पुगे। अनि 'ट्वाक्क टुक्क'मा काम गर्ने भए। हरि छोरा बने अनि शारदा आमा। उनीहरूले त्यहाँ राम्रो गरे।

'ट्वाक्क टुक्क' पछि उनले धेरै सिरियलहरूमा काम गरिन्। 'सँगाले', 'काउकुती', 'झिल्के कान्छा' 'चेतना', 'देवी' लगायत धेरै सिरियलमा काम गरेकी छिन्। उनी भन्छिन्, 'सिरियल त मैले दर्जन बढी काम गरेको छु।'

धेरै कलाकारकी आमा

लगभग ६० फिल्ममा अभिनय गरिसकेकी शारदाले सबै फिल्ममा आमा बनेर काम गरेकी छिन्। आमा बनेर अभिनय गरिरहँदा उनी धेरै कलाकारहरूको आमा बनिन्। भन्छिन्, 'म फिल्म क्षेत्रका धेरै कलाकारहरूको आमा बनिसकेकी छु।' उनी सिरियलमा पनि आमा बनेर काम गर्थिन्।

उनी सिरियलमा हरि सिवाकोटी, दीपकराज गिरी, जितु नेपाल, दमन रूपाखेतीलगायतको आमा बनेकी छिन्। भने फिल्ममा पनि धेरै कलाकारको आमा बनिसकेकी छिन्।

छोरा-छोरी मरेको सिन गर्न धेरै गाह्रो

फिल्ममा धेरै छोरा छोरीको आमा बनेकी उनी वास्तविक जीवनमा चार सन्तानकी आमा हुन्। उनका दुई छोरा र दुई छोरी छन्।

फिल्ममा कहिलेकाहीँ आफ्नो छोरा छोरी मरेको दृष्य गर्नुपर्थ्यो। त्यो गर्न आफूलाई धेरै गाह्रो हुने शारदा बताउँछिन्। 'फिल्ममा भए पनि आफ्नो सन्तान मरेको दृष्य गर्न गाह्रो हुनेरहेछ,' उनी सम्झिन्छिन्, 'कतिपटक त म साच्चिकै रोएको छु।'

माग्नेकी आमा बन्दा संसारले चिने

शारदालाई उनको नामले भन्दा पनि 'माग्ने बुढाको आमा' वा 'काली बुढी' भनेर चिनिन्छ। उनी यस कुरामा निकै खुसी भएको बताउँछिन्। 'यत्रो वर्ष यही क्षेत्रमा सङ्घर्ष गरियो। लस्टमा आएर माग्नेको आमा बनेर चिनियो', हास्दै उनी भन्छिन्, 'आखिर माग्ने कै आमा बनेर चिनिन रहेछ, खुसी लाग्छ।'

'छक्का पञ्जा'मा अभिनय गर्न शारदालाई दीपक-दीपाले अफर गरेका थिए। शारदा दीपक दीपालाई आफ्नो भगवान् मान्छिन्। भन्छिन्, 'मलाई संसारभर चिनाउन उहाँहरूले ठूलो भूमिका निर्वाह गर्नुभएको छ। उहाँहरु त मेरो भगवान हो।'

छक्का पञ्जाभन्दा पहिला उनलाई धेरैले फिल्म क्षेत्रमा काम गर्छे भनेर नराम्रो धारणा राख्थे। उनी भन्छिन्, 'छक्का पञ्जा गर्नुभन्दा पहिला, यो यसो फिल्म खेल्छे भन्नेहरू अहिले सम्मानसहित उहाँ कलाकार हो भन्छन्।'

'छक्का पञ्जा'ले बढाएको व्यस्तता

'छक्का पञ्जा' रिलिजपश्चात उनले धेरै फिल्ममा काम गरिसकेकी छिन्। उनलाई दर्शकले रुचाएका छन्। त्यसैले पनि फिल्मकर्मी पनि उनलाई फिल्म खेलाउन लागिरहेका छन्। 'छक्का पञ्जापछि मैले धेरै माया पाएको छु,' दंग पर्दै उनी भन्छिन्, 'त्यसपश्चात फिल्मको अफर पनि कति आए कति।'

उनी हरेक दिनजसो सुटिङमा हुन्छिन्। उनको प्रदर्शनमा आउने फिल्म धेरै छन्। उनी भन्छिन्, 'मैले सुटिङ सकेको धेरै फिल्म प्रदर्शनको तयारीमा छन्। केही सुटिङ भइरहेको छन् भने केही छिट्टै सुटिङमा जाँदै छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.