|

काठमाडौं : ग्रामीण भेगका विद्यालयमा पुस्तकालय संचालन गर्ने र त्यसका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्य राखेर उर्वरा फाउन्डेसन नेपालले गत वर्षबाट एकल सांगीतिक साँझको आयोजना गर्दै आएको छ। यसै क्रममा शनिबार भारतको २२औँ राज्य सिक्किमका गायक तथा संगीतकार जीवन शर्मालाई निम्त्याएर फाउन्डेसनले सांगीतिक साँझको आयोजना गरेको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रममा पाहुना गायक शर्माले प्रतिष्ठानका सदस्य सचिव तथा प्रसिद्ध गायक गणेश रसिक, प्रसिद्ध गायकद्वय दीप श्रेष्ठ र किरण प्रधानलगायतका गीत संगीत पारखीहरूका अगाडि चर्चित तथा कालजयी हिन्दी गजलका साथै आफ्ना नेपाली भाषाका गीतहरू सुनाए। उनको गायनमा दर्शक/श्रोताको निरन्तर ताली गुन्जिरह्यो। शर्मालाई तबलामा पल्टु साह, गिटारमा शुभ्रदीप मुखर्जी र पर्कुनिष्टमा गौतम दासले साथ दिएका थिए।

लेखनकुञ्ज थापागाउँस्थित थिएटरमा भएको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक तथा फाउन्डेसनकी अध्यक्ष देवकी अभिलाषी तथा गायक शर्माको गायन यात्राबारे रसिक, दीप श्रेष्ठ र रामगोपाल आशुतोषले बोलेका थिए। कार्यक्रममा नेपालमा उदीयमान गायक अधिश्री कसपालले शम्भुप्रसाद ढुंगेलको रचना र हरि लम्सालको संगीतमा ‘आफूलाई उचो देखाउन अरूलाई निचो नबनाऊ’ बोलको गीत सुनाएका थिए। 

शर्माको सन् २००१ मा ‘प्रियतम्’ नामक गीति एल्बम प्रकाशित छ भने थुप्रै गीतमा संगीत र स्वर दिएका छन्। सिक्किम साहित्य परिषद्का महासचिवसमेत शर्मा सिक्किम सरकारी सेवामा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.