|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणलाई व्यवस्थित गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ। स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूको वैदेशिक भ्रमणसम्बन्धी निर्देशिका/कार्यविधि निर्माणको चरणमा रहेको अवस्थामा कार्यविधि स्वीकृत नभएसम्म मन्त्रिस्तरीय निर्णयअनुसार उक्त परिपत्र गरिएको हो।

परिपत्रअनुसार नेपाल सरकार (प्रदेश तथा स्थानीय तहसमेत)ले खर्च व्यहोर्ने गरी कुनै पनि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरू वैदेशिक भ्रमणमा जान पाउने छैनन्। 

अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाले खर्च व्यहोर्ने गरी सामान्यत: स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूले वैदेशिक भ्रमणमा जान पाउने छैनन्। यद्यपि, कार्यक्रमको औचित्य हेरी जानुपर्ने अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए।

संघीय तथा प्रादेशिक मन्त्रालय एवं सोही स्तरका निकायले आफ्नो स्वीकृत वार्षिक कार्यक्रमभित्र रही स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूलाई वैदेशिक भ्रमणमा समावेश गर्न सक्नेछन्। नेपाल सरकारको स्वीकृतिबिना वैदेशिक भ्रमणमा जाने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साह गर्न कन्सुलर सेवा विभाग तथा राहदानी विभागले भिसा सिफारिस गर्नु पूर्व मन्त्रालयको स्वीकृति/सिफारिस अनिवार्य रूपमा माग गर्न मन्त्रालयले परिपत्र गरेको छ।  

'विदेशी मुलुक, दातृ निकाय, अन्तर्राष्ट्रिय संघसंस्था र विश्वविद्यालयबाट सम्पूर्ण वित्तीय दायित्व व्यहोर्ने गरी अध्ययन, तालिम तथा अवलोकन भ्रमणमा स्थानीय तहका पदाधिकारी र कर्मचारीहरूलाई आमन्त्रण भएको खण्डमा आयोजक मुलुक तथा निकायको औपचारिक आमन्त्रण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने र कार्यक्रमको औचित्य हेरी सहभागीहरूको मनोनयन मन्त्रालयले गर्ने', परिपत्रमा भनिएको छ।

यस्तै, नेपाल सरकार र दातृ निकायबीच सम्झौता भई दातृ निकायको सहायतामा सञ्चालित आयोजनासँग सम्बन्धित पदाधिकारी तथा कर्मचारीहरूलाई आयोजनाको प्राविधिक सहायताअन्तर्गत सम्बन्धित कार्यक्रमबाट सहभागीहरूको सम्पूर्ण खर्च व्यहोर्ने गरी आमन्त्रण भएमा दातृ निकायले अर्थ मन्त्रालयमार्फत् सहभागीहरूको मनोनयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.