छनोट चरणमा ३० खेलमा २२ गोल गर्दा १०० गोल खाएको रेकर्ड

|

विश्वकपको माहोल सुरु भैसकेको छ। रसियामा हुन लागे पनि नेपालका शहरी गल्ली र चोकहरूमा पनि विश्वकपको रौनक कम छैन। तर सहभागिताको दृष्टिले हेर्ने हो भने रुस भौगोलिक रूपमा जति टाढा छ नपालको विश्वकप यात्रा त्यो भन्दा पनि निकै टाढा छ।

नेपालले विश्वकपमा आफ्नो सर्वाधिक माथिल्लो अनुभवका रूपमा एसियाली छनोटमा दोस्रो चरणसम्म आफूलाई पुर्‍याएको छ। जबकि फाइनल चरण छनोटका लागि चौथो चरणसम्मको यात्रा तय गर्नु पर्छ। नेपालले सन् १९७० मा फिफाको सदस्य बनेको १६ वर्षपछि पहिलो पटक १९८६ मा विश्वकप छनोट खेलेको थियो।त्यसयता ७ पटक विश्वकप छनोट खेल खेलेको छ तर, उपलब्धि शून्य ।

विश्व फुटबलमानै एसियालाई धेरै कमजोर रूपमा हेरिने गर्छ। नेपाल तर कमजोर देशहरूको बिचमा पनि नेपाल थप कमजोर छ। त्यसैले विश्वकप सपना नेपालको हकमा अझै कोसौँ टाढा छ। छनोटमा सहभागिता हुन थालेयता दुईपटक आन्तरिक कारण देखाउँदै सन् १९९४ र २००६ मा विश्वकप छनोट नखेलेको नेपालले सातौँ पटकको विश्वकप छनोट चरणमा खेल्दा ३० खेलमा अहिलेसम्म १०० गोल खाएको छ भने विपक्षीको पोस्टमा २२ गोल मात्र गरेको छ।

छनोट चरणमा नेपाल दक्षिण कोरिया र जोर्डनसँग सर्वाधिक ठूलो अन्तरका रूपमा ९-० को विशाल हार बेहोरेको छ। जितको कुरा गर्दा मकाउविरुद्ध ६–१ र इस्ट टिमोरविरुद्ध ५-० को नतिजा एेतिहासिक मानिएको छ। विश्वकप छनोट चरणमा नेपालले इतिहास रच्न सफल छनोटका रूपमा २०१४ को विश्वकप छनोटलाई मान्न सकिन्छ। नेपाल पहिलोपटक एसियाली छनोटको दोस्रो चरणमा पुग्दा कमजोर मानिएको इस्ट टिमोरसँग खेलेको थियो।

कप्तान सागर थापा र प्रशिक्षक ग्राहम रोबर्टको प्रशिक्षणमा नेपालले इस्ट टिमोरलाई हराउँदै दोस्रो चरण स्थान सुरक्षित गरेको थियो। फुटबलमा निकै कमजोर इस्ट टिमोरसँग फुटबल मैदान नभएकाले एएफसीले दुवै लेग दशरथ रंगालामा गराएको थियो। पहिलोे लेगमा नेपालले इस्ट टिमोरलाई २–१ ले पराजित गर्दा अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए। दोस्रो प्ले अफमा नेपालले इस्ट टिमोरमाथि ५–० को शानदार जित निकाल्यो। दोस्रो लेगमा अनिल, जुमानु, जगजीत श्रेष्ठ, शिव श्रेष्ठ र भोला सिलवाल गोल गर्दै नेपाललाई दोस्रो चरणमा पुर्‍याए।

तर दोस्रो चरण नेपाली खेलाडीका लागि सधैँ सम्झन लायक हुने छ किनकि जोर्डनले नेपाललाई गोलको वर्षा गर्दै घर पठाएको थियो। त्यसवेला जोर्डन एसियाली बरीयतामा शीर्ष १० मा थियो। एसियाकै एक बलियो राष्ट्रविरुद्ध नेपाल पुरापुर निरीह रह्यो। जोडर्नमा भएको पहिलो लेगमा नेपाल ९-० ले पराजित भयो। नेपालले तेस्रो चरण स्थान सुरक्षित गर्न काठमाडौंमा हुने दोस्रो लेगमा १०-० ले हराउनुपर्थ्यो । जुन एक हिसाबले अकल्पनीय नै थियो। दोस्रो लेगमा भीषण वर्षाले  हिलाम्मे मैदानमा खेल्न खप्पिस नेपाली खेलाडीले जोर्डनलाई १–१ को बराबरीमा रोकेपछि नेपाल फेरि चर्चित बनेको थियो।

समग्रमा नेपालको विश्वकप सहभागिता अझै कासौं टाढा छ। तर नेपाली मनहरूलाई नेपालको सहभागिता हुनु र नहुनुले फुटबलको क्रेजलाई रोकेको छैन। त्यसैले अाफूलाई मन परेको देशको जर्सीले समर्थकहरू रंगिँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.