विचार

विवाहविनै आमा : सनातन धर्मको मूल्य र मान्यताविरुद्ध
SHARES

sketch : artsketches99.com
जेठ २८, २०७५

    आमा बन्नका लागि (बच्ता जन्माउन) विवाह गरिरहनु नपर्ने कानुन तयार हुन लागेको सन्दर्भमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ठूलो बहस भइरहेको छ। यसबारे सनातन धर्मसंस्कृतिको दृष्टिकोण र समाजमा पार्ने असरबारे चर्चा गर्नु सान्दर्भिक होला। नेपालजस्ताे सनातन धर्मावलम्बीको बहुलता भएको मुलुकमा कसको स्वार्थपूर्ति गर्न यो कानुन अावश्यक पर्‍यो भन्ने  विषय पनि यो सानो लेखमा उठाइँदैछ।

    सन्तान उत्पादन र विवाह

    सनातन संस्कृतिमा गृहस्थाश्रम धर्मपूर्वक निर्वाह गर्न, धर्मानुकूल यौनसम्बन्ध राख्न र सन्तानोत्पादनका लागि विवाह महत्त्वपूर्ण संस्कार मानिएको छ। विवाह संस्कार नभएको व्यक्तिलाई कुनै पनि धार्मिक कार्य गर्ने अधिकार दिइएको छैन। जुनसुकै कर्म गर्दा पनि पत्नीलाई साथमा लिएर गर्नु भन्ने श्रुति, स्मृति, पुराणको निर्देश छ। स्त्रीलाई पुरुषको आधा अंग अर्थात् अर्धांगिनी मानिएको हुनाले जब, आधा अंग मिलेर पूर्ण अंग बन्दछ, अनि मात्र उसले कुनै पनि कर्म गर्न पाउँछ  र गरेका कर्महरू पूर्ण रूपले सफल हुन्छन् भन्ने शास्त्रको भनाइ छ। 

    विवाह स्त्री र पुरुषलाई एकीकरण गरी पतिपत्नी बनाउने संस्कार हो। यसरी विवाह भएका पतिपत्नी कहिल्यै छुट्टिँदैनन् भन्ने मान्यता छ। यसबाट समाजमा  धर्म, नैतिकता, कर्तव्य आदि समाजलाई आवश्यक पर्ने विभिन्न गुणहरू विकसित भइरहेको देखिन्छ। यसरी गरिएको विवाह शास्त्रीय रूपमा कहिल्यै पनि विच्छेद नहुने बताइएको छ। 

    विवाहबाट पतिपत्नी भएकाले विधिपूर्वक जन्माएको सन्तानलाई पुत्र वा पुत्री भनिन्छ। अाफ्नै अंशका रूपमा जन्म हुने भएकाले पुत्रलाई अात्मज पनि भनिएको छ।अझ शास्त्रहरूमा त 'पुं' नामको नरकबाट तार्ने भएकाले पुत्र वा पुत्री भनिएको बताएका छन्।

    विवाहका क्रममा पढिने एक मन्त्रका अनुसार बेहुला(पति)को प्राणसँग बेहुली(पत्नी)को प्राण मिलाउने भनिएको छ। पति र पत्नीको हाड, छाला, मासु सबै एकाकार गराउने भनिएको छ। त्यसैले पत्नीलाई अर्धांगिनी पतिलाई अर्धांग भनिएको छ। अर्थात् दुवै एकअर्काका परिपूरक। एकविना अर्कोको अस्तित्व हुँदैन। यसरी गरिएको विवाहबाट पतिपत्नी भएकाले विधिपूर्वक जन्माएको सन्तानलाई पुत्र वा पुत्री भनिन्छ। अाफ्नै अंशका रूपमा जन्म हुने भएकाले पुत्रलाई अात्मज पनि भनिएको छ।अझ शास्त्रहरूमा त 'पुं' नामको नरकबाट तार्ने भएकाले पुत्र वा पुत्री भनिएको बताएका छन्।

    असल संस्कारबाट जन्मिएका छोराछोरीले उचित शिक्षादीक्षा पाएर बाबुआमा अनुकुल कार्य गर्नु, उनीहरूलाई हरेक तहबाट खुशी राख्नु नरकबाट तारेसरह भइहाल्यो। पूर्वीय परम्पराको यो गहन पक्षलाई भुल्दै नेपालजस्तो देशमा अब विवाह नै नगरी सन्तान जन्माउने कानुन बनाउन लागिँदैछ।

    पारिवारिक मूल्य मान्यता

    हाम्रो समाज युगौँदेखि पारिवारिक मूल्य र मान्यताका आधारमा चल्दै आएको छ। हामी बाबु–आमा, पति–पत्नी, छोरा–छोरी, दाजु–भाइ, दाजु–बहिनी, दिदी–भाइ, दिदी–बहिनी, हजुरबा–हजुरआमाजस्ता सम्बन्धमा बाँधिएका छौँ। यिनै सम्बन्धको आधारमा कर्तव्यहरू निर्धारण हुँदै आएको छ। संस्कार–संस्कृतिमा बाबुतर्फका तीन पुस्ता र मावलीपट्टिका तीन पुस्ताप्रति हामी अनुगृहीत भइरहन्छौँ।

    विज्ञानले बाबुतर्फको 'वाइ' र अामातर्फको 'एक्स' क्रोमोजोम मिली सन्तानको जन्म हुने बताएजस्तै पूर्वीय दर्शनमा बाबु–आमा दुवैका तर्फबाट आएका गुणहरूले भरिएको हुन्छ भन्ने मान्यता छ। बाबु आमा र सन्तानको सम्बन्ध उपनिषद्ले यसरी परिभाषा दिएको छ– पतिर्जायां प्रविशति गर्भो भूत्वा स मातरम्\ तस्यां पुनर्नवो भूत्वा दशमे मासि जायते\ तज्जाया जाया भवति यदस्यां जायते पुनः अर्थात् गर्भको रूप लिएर पति माताका रूप लिएकी पत्नीमा प्रवेश गर्छ। फेरि त्यहाँ नयाँ स्वरूप ग्रहण गरेर दशौँ महिनामा जन्मिन्छ। पति नै फेरि पत्नीबाट जन्मिने हुनाले पत्नीलाई जाया भनिएको हो।

    महाभारत आदिपर्वमा यस्तो पनि भनिएको छ, आत्माऽऽत्मनैव जनितः पुत्र इत्युच्यते...अर्थात् आफैँले जन्माएको आफू विद्वानहरूबाट जन्मिएकोलाई पुत्र(पुत्री) भनिन्छ। महिलाले चाहेको व्यक्तिबाट गर्भधारण गर्ने त्यसबाट जन्मेको शिशुको बाबुको पत्तो नहुने व्यवस्थाले हाम्रो समाजलाई कता डोहोर्‍याउला, प्रश्न गम्भीर छ। सन्तानप्राप्तिका लागि विवाह अावश्यक नपर्ने, वैधानिक पुरुष अावश्यक नपर्नेजस्ता कानुनले व्यभिचार, दुराचारजस्ता अपराधले प्रश्रय पाउने निश्चित छ। 

    ‘विनाबाउका सन्तान’ भन्दा अहिले गाली गरेको वा होच्याएको बुझिन्छ तर अब यही गाली पनि राम्रै सुनिने होला हैन त? यसैलाई नै आजभोलिको भाषामा ‘छलाङ मारेको’ भन्ने पनि कोही होलान्’ शुक्लयजुर्वेदाचार्य डा.आमोदवर्धन कौण्डिन्न्यायन लेख्छन्, यसबाट बाबु–आमा, पति–पत्नी, छोरा–छोरी, हजुबा–हजुरआमा इत्यादि मिलेर बनेको हाम्रो आदर्शपूर्ण पारिवारिक संरचना बिस्तारै भत्किँदै जानेछ। लोग्ने–स्वास्नी भन्ने सम्बन्ध नरहने मात्र हैन समाजमा व्यभिचारी र दुराचारीको संख्या पनि बढ्नेछ।’ 

    शास्त्रविरुद्ध विवाहविनै अामा

    धर्मशास्त्राचार्य डा.देवमणि भट्टराईका अनुसार सनातन हिन्दु संस्कृतिले विवाह संस्कार नभई आमा बन्न अनुमति दिँदैन। विधिपूर्वक विवाह भई श्रीमान् र श्रीमतीबीच संसर्ग भएर जन्मिने सन्तानको मात्र मान्यता हुन्छ। ‘आवेगमा गरिएका यस्ता कर्मले क्षणिक सुख त होला' तर उनी भन्छन्, ‘इहलोक र परलोकमा समेत सुख हुँदैन।’
    इतिहासपुराणविद् प्रियंवदा काफ्लेका अनुसार वर्णाश्रम धर्ममा कुनै पनि दृष्टिले अविवाहित आमा उपयुक्त होइन।  ‘विवाहविनै आमा बन्नु भनेको पशुपक्षीमा जस्तो असभ्यता भित्र्याउने प्रपञ्च मात्र हो’, उनी  भन्छिन्, ‘मानिस विभिन्न गुणको विकास गर्दै झन् सभ्य बन्दै जानुपर्ने हो। आधुनिकताका नाममा झन् पाशविकतातिर जान खोजिँदैछ।’

    कुन्ती र कर्णको प्रसंग 
    अविवाहित आमा ठीक हो भन्ने तर्क गर्नेहरूले पुराणकी पात्र कुन्तीलाई देखाउँछन् र भन्छन्, 'उनी पनि पतिविनै आमा बनेकी हुन् त! बाबुको पत्तो नै नभई कर्णले प्रगति गरे त!'

    कुमारी अवस्थामै सूर्यबाट कर्ण प्राप्त गर्दा कुन्तीले व्यहोर्नुपरेको दुःख महाभारतमा देखाइएको छ। जन्मिनेवित्तिकै फ्याँक्नुपर्यो। आफ्नो छोरा हो भन्ने थाहा पाउँदापाउँदै पनि समाजलाई छोरा भनेर चिनाउन सकिनन्। आखिरमा आफ्नै छोरा(अर्जुन)को हातबाट कर्णको मृत्यु भयो। यस्ता कतिपय घटना हाम्रै समाजमा पनि भेटिन्छन्। एक जनाबाट जन्माएको सन्तानलाई छोडेर अामा अन्यत्र लाग्दा उनीहरूले दु:ख पाएका उदाहरण प्रशस्त छन्।

    कम्तीमा सुत दम्पतीले लालनपालन गरेकाले कर्ण योग्य भए। यसबाट बालबालिकाका लागि अामाबाबु दुवैको ममता महत्त्वपूर्ण हो भन्ने प्रष्ट हुन्छ। सन्तानको इच्छा गर्ने तर अाफू जन्माउन नसक्ने\ नचाहनेका लागि धर्मपुत्र\पुत्री राख्ने व्यवस्था हिन्दु समाजमा रहेको छ।

    सामाजिक असर
    सामाजिक रूपमा एकल अामा सक्षम हुञ्जेल त तर अक्षम हुँदा छाोराछोरीको खानपान, पढाइ, उपचार आदिको व्यवस्थापन गर्न कठिनाइ हुने धर्मशास्त्राचार्य भट्टराईको तर्क छ। सामाजिक रूपमा पनि बच्चाको लालनपालन एकल रूपमा गर्दा विभिन्न समस्या आउने महिलाको स्थिति कस्तो हुन्छ? छोरा वा छोरीले बाबु खोज्दा कसलाई देखाउने? यसबाट बालबालिकामा नकारात्मक असर पर्ने त छँदैछ, उनीहरूको व्यक्तित्व विकासमा समेत गम्भीर असर पर्छ। सन्तान अामाबाबु दुवैसँग बस्दा मात्र उनीहरूको लालनपालन राम्रोसँग हुने, पोषण तत्त्व पाउने र आत्मविश्वास बढ्ने इतिहासपुराणविद् काफ्लेको बुझाइ छ।

    मानौँ महिलाले मन लागेर अमुक पुरुषबाट गर्भधारण गरिन्। बाबु चिनाउन चाहिनन्। आफैँले सन्तानको लालनपालन गरिन्। तर समयअन्तरालमा उनले बच्चा हुर्काउन नसक्ने भइन्। अब के गर्ने? सन्तानलाई अलपत्र छाडिदिने? बाबु खोज्ने? वा कुनैबेला उसले बलात्कार गरेर जन्मिएको सन्तान हो भनेर मुद्दा हाल्ने, डीएनए परीक्षण गराउन थाल्ने?  प्रश्न गम्भीर छ।

    छोरा वा छोरीले बाबु खोज्दा कसलाई देखाउने? यसबाट बालबालिकामा नकारात्मक असर पर्ने त छँदैछ, उनीहरूको व्यक्तित्व विकासमा समेत गम्भीर असर पर्छ। बालबालिका आमाबाबु दुवैसँग बस्दा मात्र उनीहरूको लालनपालन राम्रोसँग हुने, पोषण तत्त्व पाउने र आत्मविश्वास बढ्ने अध्ययनले देखाएका छन्।

    नेपालको संस्कृति सुहाउँदो छैन

    अधिकांश हिन्दु र बौद्ध धर्मावलम्बी रहेको नेपाली समाजमा यो किसिमको व्यवस्था कुनै पनि दृष्टिले उचित होइन। मुस्लिम समुदायमा पनि यो मान्य छैन। बलात्कार वा अन्य हिंसामा परेर पुरुषबाट बहिष्करणमा परेकाहरूको सन्दर्भमा उनीहरूको पुन: स्थापनाका लागि सरकारले व्यवस्था गर्नुपर्छ।

    ‘दक्षिण एसियाली मुलुकमा यस प्रकारको व्यवस्था छैन। विकासको शिखरमा कुदिरहेको चीन (जसले जनतालाई सामाजिक र सांस्कृतिक रूपमा स्वतन्त्रता पूर्ण रूपमा उपभोग गर्न अधिकार प्रदान गरेको छ) मा समेत यो व्यवस्था छैन’, अधिवक्ता मुकुन्द अधिकारी लेख्छन्, 'किन नेपालमा यो व्यवस्थाको आवश्यकता पर्‍यो युरोपियन युनियनसँग सम्बन्धित मुलुकहरूले मात्र यो व्यवस्थालाई अंगीकार गरेको पाइन्छ।’

    शुक्लयजुर्वेदाचार्य कौण्डिन्न्यायनका अनुसार यस्ता किसिमका ऐन–कानुन बनाउने मात्र होइनन् उनीहरूलाई मत दिने र हाम्रा जनप्रतिनिधि हुन् भनेर तिनले गरेका अनुचित कार्यको समर्थन गर्ने नागरिक पनि कम दोषी होइनन्।

    किन बन्दैछ कानुन?

    एकल अामाका कारण पश्चिमा मुलुकहरूमा बालबालिकाले मात्र होइन समाज र राष्ट्रले नै भोग्नुपरेको समस्या जगजाहेर छ। उनीहरूको देशमा 'अाउट डेटेड' भइसकेको संस्कृति नेपालजस्ता मुलुकमा प्रयोग गरेर उनीहरू यहाँ भाँडभैलो मच्चाउन चाहन्छन्।  नेपालका अधिकांश नागरिकले यो किसिमको कानुन चाहेकै हुन् त। अब बच्चा जन्माउन वैधानिक पति वा लोग्नेको आवश्यकता नपर्ने नै हो त? यस्ता प्रश्न नेपाली समाजसामु खडा भएका छन्।

    आफूलाई अधिकारवादी देखाउने केही डलरका खेती गर्नेहरूले यो विषयलाई उचालिरहेका छन् वा उनीहरूलाई उचाल्न लगाइएको छ। हामीले नै चुनेर संसदमा पठाएका सांसद्हरूले पश्चिमाहरूसँग बिकेर देश–धर्म–संस्कृति र मूल्य मान्यता ध्वस्त हुनेगरी कानुन निर्माण गर्न मिल्छ कि मिल्दैन ? यो पक्ष विचारणीय हो।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Dinesh Poudel

    पत्रकारहरू कुरै बुझ्दैनन् भन्या । । बिहे कृत्रिम सम्बन्ध हो, प्राकृतिक सम्बन्ध त यौन मात्र हो । देशका बहुसङ्ख्यक नेपाली महिलाहरु विवाह गर्न नै चाहँदैनन् । बिहे नगरी सन्तान जन्माउन पाए उनीहरू गान्धारीका झैँ सयौँ सन्तान पाउन सक्षम र इच्छुक छन् । आम महिलाहरु लोग्नेको माया र सुरक्षालाई अनावश्यक देख्छन् । त्यो सत्य सांसद महोदयहरूलाई मात्र थाहा भएर हो ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]