|

हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटरकार कारखाना स्थापना गरेका थिए। दोश्रो विश्वयुद्धताका जसलाई अमेरिकाले बम उत्पादनको केन्द्र बनायो। यसपाला भने डालास सहरको त्यहीँ स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्नपुगेको छ। सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुने गरी पुनर्निर्माण गरेपछि यो संभव भएको हो। यो त्यहीँ थलो हो जहाँ नेपथ्य भन्दा पहिले पनि ‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’का डन हेनली ले आफूलाई प्रस्तुत गरिसकेका थिए।

‘रोबर्ट प्लान्ट र डन हेनली जस्ता महान कलाकारहरूले आफूलाई उभ्याएकै मञ्चमा नेपथ्य प्रस्तुत हुन पाउनु गौरवको कुरा हो,’ कन्सर्ट सकिने बित्तिकै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘हामी यी दुवै गायकहरूलाई सुन्दै हुर्केका हौं र आज पनि मेरो मनमा उत्तिकै सम्मान छ।’

२५०० भन्दा धेरै दर्शकले भरिएको डालासको कन्सर्ट यस वर्ष नेपथ्यको अमेरिका यात्राकै पहिलो शो थियो। जसमा नेपालबाट अमेरिका पुगेकाहरू खुबै रमाए। ‘दुई घन्टाको कार्यक्रम भरी एक निमेष पनि मैले अरु कुराबारे सोच्नै पाइँन र पुरै कन्सर्टमै केन्द्रित भएछुँ’, पाइलट अध्ययनका निम्ति अमेरिका बसोबास गर्दै आएका दीक्षान्त राणाले भने, ‘मेरो जीवनकै यो सबैभन्दा छोटो दुइ घन्टा बन्न पुग्यो।’

कन्सर्टको सुरुवात नेपथ्यको प्रारम्भिक गीतका रुपमा पहिचान बनाउँदै गएको ‘कुरुप अनुहार हो’ बाट भएको थियो। त्यसलाई ब्याण्डको एक पछि अर्को सदावहार र नयाँ अल्बमका गीतहरूले निरन्तरता दिएर दर्शकलाई सँधैजस्तै बाँध्न सफल भएको थियो।

आजसम्म नाम नराखिएको ब्याण्डको दसौं अल्बमका ‘शिरफूल शिरैमा’ र ‘कोशीको पानी यो जिन्दगानी’ लाई दर्शकले असाध्यै रुचाएका थिए। त्यसै गरी सदाबहार गीततर्फ ‘भेँडाको ऊनजस्तो’, ‘रेशम’, ‘तालको पानी’ र ‘जोगले हुन्छ भेट’ जस्ता गीतहरूले दर्शकको जोशलाई बढाएको थियो। कन्सर्टमै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले माहोल पुरै देशभक्तीमा डुबाएको थियो।

‘नेपथ्यले आज मलाइ घरको याद दिलायो’, १५ वर्षदेखि परिवारका साथ अमेरिका बस्दैआएकी दीक्षा भट्टले भनिन्, ‘गीतहरू सुन्दा रमाइलो थियो नै र कार्यक्रम हेरेपछि चाहीँ घर फर्केर देशकै निम्ति केहि गरौँ भन्ने भावना बढेको छ।’

कार्यक्रम अघि बढिरहेकै क्रममा गायक अमृतले आफ्नो यात्राका वर्णनहरू सुनाउँदै दर्शकहरूलाई पनि नेपालका गाउँघरको भ्रमण गर्नका निम्ति उत्साहित पारेका थिए। यो मौकाको उपयोग गर्दै उनले निकै कठिनाइपछि प्राप्त भएको स्थायित्व कायम राख्न र मुलुकलाई विकासको बाटोमा अघि बढाउन नेताहरुलाई अनुरोध गरेका थिए।

‘यस हलमा कुनै समय बनेका बमहरू मानवताविरुद्ध विध्वंशका माध्यम बनेका थिए होलान्’, उनले भने, ‘संसारभरका सबै बम कारखानाहरू पनि यसै गरी गीत प्रस्तुत गर्ने थलोका रुपमा विकास हुनुका साथै प्रेम र संगीतले युद्ध र हिंसालाई सँधै सँधैका लागि जितोस् भन्ने कामना गर्दछु।’

डालासको यो प्रस्तुती ब्याण्डले लामो समयको प्रतिक्षापछि सम्पन्न गर्न सकेको हो।

‘हामीले सन् २०१२ ताकै ब्याण्ड अमेरिका भ्रमणमा रहेको बेला यहाँ पनि बोलाउने प्रयास गरेका थियौँ’, आयोजक टिमका बचन तिवारी भन्छन्, ‘तर, त्यतिबेला सफल हुन सकेनौँ।’ आयोजक टिमका अर्का सदस्य दिवस थापाका अनुसार सन् २०१५ मा फेरि कन्सर्टका निम्ति नेपथ्य अमेरिका आउँदा उनले न्यूयोर्कका आयोजकहरूसँग यस बारेमा कुराकानी गरेका थिए। त्यतिबेला पनि सफलता हात लागेन। ‘त्यसपछि हामी स्वयं ब्याण्डको व्यवस्थापनसँग भेट्नका निम्ति सानफ्रान्सिस्को पुग्यौँ’, उनले भने, ‘सन् २०१६ मा नेपथ्यले क्यालिफोर्नियाको त्यस सहरमा कन्सर्ट गर्दाकै क्षण हाम्रो भेटघाट भयो।’ अन्ततः त्यहि प्रयासको प्रतिफलमा यसपाला ब्याण्डलाई डालास निम्त्याएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उनले बताए।

डालासमा सफल प्रस्तुतीसँगै नेपथ्य ब्यान्ड अब पूर्व किनारमा रहेको अमेरिकी सहर बोस्टनतर्फ लाग्ने भएको छ। त्यस सहरस्थित ‘रोयल बोस्टन हल’ मा जुन २४ तारिखका दिन नेपथ्यले आफूलाई प्रस्तुत गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.