|

उदयपुर : प्रभावकारी अनुगमन नहुँदा उदयपुरमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् मनलाग्दी रूपमा भइरहेको छ। जिल्ला समन्वय समितिले ठेक्का लगाएको क्षेत्र भन्दा अन्य सम्बेदनशील क्षेत्रमा समेत ढुंगा, गिट्टी, बालुवा उत्खनन् भइरहेको स्थानीयको गुनासो छ।

समन्वय समितिले आर्थिक वर्ष २०७४/०७५ मा ५ फर्मलाई विभिन्न खोला नालमा ठेक्का दिएको थियो। जसमा विभिन्न मापदण्ड तोकेर दिएर पनि अनुगमन नहुँदा ठेकेदारहरूले मनलाग्दी गरिरहेकाे गुनासो सर्वसाधारणको छ। कटारी नगरपालिकामा पर्ने सुनकोसी नदी, बादुरा खोलाको ढुंगा, गिट्टी, बालुवाको ठेक्का श्रेष्ठ विल्डर्स ललितपुरलाई दिएको थियो। जसलाई जिल्ला बाहिर निकासीमा गर्न पाइने नभने पनि सिन्धुली, ओखलढुंगा लगायतका जिल्लामा समेत निकासी गरेरिरहेको स्थानीय लेखराज सुनुवारले जानकारी दिए। ‘अनुगमन गर्न कोही आएका छैन्न,’ उनले भने, ‘कति घनमिटर उत्खनन् गर्न पाउने हो। अनि कुन कुन ठाउँमा खन्न पाउने हो। त्यसो कसैले आएर हेरेका छैनन्। ठेकेदारले मनमौजी गरिरहेका छन्।’

जिल्ला समन्वय समितिले ठेक्का लगाएको ढुंगा, गिट्टी, बालुवा उत्खनन् क्षेत्रको प्रभावकारी अनुगमन नहुँदा समस्या निम्तिएको स्थानीय तहको भनाइ छ। ‘ठेकेदार तथा ठेक्का लिने फर्मले मनलाग्दी उत्खनन् गर्‍यो भनेर गुनासो आउँछ,’ कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘अव आउने आर्थिक वर्ष २०७५/०७६ बाट हामी आफैंले ठेक्का लगाउने हो। अहिले आएको गुनासो जिल्ला समन्वय समितिले हेर्ने हो। तर, अनुगमन किन हो कुन्न प्रभावकारी नभएकाले समस्या भएको छ।’
चुरे वनक्षेत्र, नदि किनारका बस्ती, ढुंगा गिट्टी बालुवा उत्खनन् को चपेटमा परेका छन्।

जिल्ला समन्वय समिति उदयपुरका स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईका अनुसार नदीजन्य पदार्थ उत्खनन् एवं संकलनका लागि स्थान निश्चित गरिदिएको बताए। ‘वैकल्पिक लोमार्ग निर्माणका लागि चाहिने नदीजन्य पदार्थ निर्बाध संकलनका लागि संघीय मामिला मन्त्रालयबाट पनि पत्र प्राप्त भएको पत्र अनुसार गरेका छौ,’ उनले भने, ‘अन्य नदीजन्य पदार्थको लागि नदी, खोला तोकिदिएका छौं। गुनासो आएका ठाउँमा अनुगमन गरेका छौं।’

उनले कतै ठेकेदार राजस्व तिर्न नमानेहरूलाई पनि बैङक धरौटीबाट लिने गरेको बताए। ‘कतै वडा अध्यक्षहरूले रोकिदिन्छन्, अनि ठेकेदारले उठाउन पाउँदैनन्, कतै जिल्ला बाहिर निकासी गर्छन्,’ उनले भने, ‘त्यसको लागि जिल्लाबाटै टोली गएर मिलाउने गरेका छाैं। अहिले चुरे क्षेत्रको अनुगमनमा निस्केका छाैं।’ जिल्ला समन्वय समितिका प्रमुख खड्गप्रसाद परियारले कडाइकासाथ अनुगमन भएको बताए। ‘कतै मापदण्ड विपरित काम भएको पाए कारवाही गर्ने गरेका छाैं,’ उनले भने, ‘त्यसको लागि अनुगमन प्रभावकारी बनाएका छाैं।’

यस्तो छ नदी दोहनले निम्त्याएको समस्या

कतै खेतमा पानी लगाउने कुलभन्दा खोला गहिरो भएको छ भने कतै बस्तीतिर खोला मोडिएको छ। त्रियुगा खोलाको किनारको गाउँ तोरीबारीमा खेतीबारी सिंचाइको साधन यी दुई खोला छन्। खेत गहिरो र नदी उँचो भएकाले यस क्षेत्रका किसानका लागि यी खोला वरदान साबित भएका थियो। तर, केही महिनादेखि ढु‌ंगा, गिट्टी र बालुवा झिक्दा खेत उच्च र खोला गहिरो बनेको छ। तोरीबारीका किसान कमल राईले कुलोमा पानी आउनै नसक्ने गरी खोलो गहिराे भएको बताए। नदीजन्य पदार्थ झिकेर सतह गहिरो हुँदा किसानलाई सिंचाइ असुविधा भएको छ। खोलामा क्रसर उद्योगम समेत सञ्चालन भएका छन्। 

कहाँ कहाँ कस्ले ठेक्का लिएका छन?

जिल्ला समन्वय समितिको कार्यालयका ५ वटा फर्मले ठेक्का लिएका छन्। जसमा संर्घष निर्माण सेवाले बरुवा, त्रियुगा र सरस्वती खोलाको जिम्मा पाएको छ। जसले ६९ हजार ९४० घनमिरको कर जिससलाई बुझाउनुपर्ने छ। जुन सवै त्रियुगा नदीमा पर्ने चुरे वन क्षेत्रमा पर्दछन्। यसैगरी सगरमाथा ट्रेड एण्ड सप्लायर्सले द्वार, माडिवास, कालिखोला, त्रियुगाको ज्यामिरे दोभान, सिवयाईमा जिम्मा लिएको छ। जसले ३७ हजार ७६० घनमिटरको कर तिर्नुपर्ने छ।
 
कार्यालयमा अनुसार आर्शिवाद निर्माण सेवाले गिँदेरी, सेती, सितुवा, कोपोसा खोलाको जिम्मा १८ हजार ४३५ घनमिटरको पाएको छ। यसैगरी श्रेष्ठ विल्डर्स सप्लायर्सले ललितपुरले सुनकासी नदी, बादुरा खोलाको ४ हजार ९०० घनमिटर उठाउने सम्झौता गरेको थियो। सवैभन्दा धेरै जेड आइइसी लामा एण्ड शर्मा जेभिले एक लाख ११ हजार घनमिटर उठाउने गरी जिम्मा लिएको छ। जुन जेभिले चतरा, गाइघाट सिन्धुली हुँदै हेटाैंडा जोड्ने सडकको पूर्व खण्डमा पर्ने सिन्धुली उदयपुरको खण्ड निर्माणको लागि प्रयोग गर्दै आएको छ। जसको लागि त्रियुगा, बरुवा, शाही, द्वारा, लामा, बैजनाथ, तावा खोलाबाट उत्खनन् गरिरहेको छ। 

अनुगमन नहुँदा तोकिएको परिमाणभन्दा बढी झिक्ने र तोकिएको ठाउँभन्दा अन्यत्र गएर उत्खनन् गर्दा सर्वसाधरणमा मारमा परेका हुन्। ‘खोलापारि गएर झिक्न अनुमति लिएको छ,’ बैजनाथ खोलका स्थानीय हरि खत्रीले भने, ‘खोलावारि आएर झिकिदिएकाले समस्या निम्तिएको छ। खोला खेततिर आउने सम्भावना बढेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.