|

काठमाडौं : नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एउटा कार्यक्रममा भेला भएका सबै नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चरम आलोचना गरेका छन्। देउवाका कारण पार्टी कमजोर भएको, संसदमा कमजोर प्रतिपक्ष बनेको, पार्टी स्वेच्छाचारी ढंगले अघि बढेको आरोप नेताहरूले लगाए। 

कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाकै कारण पार्टीमा गुटहरूको निर्माण भएको बताए। ‘अहिले सभापतिज्यूले एक हौं भन्नुहुन्छ, मलाई यस्तो नक्कली एकता मन पर्दैन,’ पौडेलले भने, ‘एकताका लागि न्याय, निष्पक्षता र पारदर्शीता चाहिन्छ।’ साथै उनले अब पार्टीमा सबैले आफूलाई सहयोग गर्नुपर्ने बताए। 

‘शेरबहादुरजीले जस्तो पार्टीलाई कमजोर बनाउँदिन, नयाँ ठाउँमा पु¥याउँछु, साथीहरूले मलाई सहयोग गर्नुपर्यो,’ पौडेलले भने। सैद्धान्तिक हिसावले कांग्रेसको जीत भएको भएपनि संगठनका हिसावले अहिले कांग्रेस सबैभन्दा कमजोर दल भएको पौडेलले बताए।

साथै उनले अहिलेको सरकारले शंकाको वातावरण सिर्जना गरेको बताए। ‘प्रत्यक्ष कार्यकारीको विषयले सशंकित बनाएको छ,’ उनले भने, ‘मधेशकेन्दीत दललाई ल्याएर दुईतिहाई पु¥याउनुपर्ने आवश्यकता थिएन।’ उनले नेपाल प्रयोगशाला नभएकोले सचेत रहन सरकारलाई आग्रह गरे।

सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी भित्र धेरै रोग भएको र अहिले नेविसंघमा पनि त्यो रोग सल्किएको बताए। ‘यसलाई समाधान गर्न सबै एक भएर लाग्नुपर्छ,’ उनले भने, ‘पार्टी सभापतिले एकतर्फि ढंगले पार्टी चलाउँदा यस्तो अवस्था आएको हो।’ उनले अहिलेको अवस्थामा कांग्रेसलाई चुनौतिहरु सामना गर्न समेत गाह्रो भएको बताए।

‘पार्टी सभापतिले सबैथोक मै हुँ, विधान मान्नुपर्दैन भन्नु गलत हो,’ उनले भने, ‘नेतृत्वको शैलीको विरोध गर्दा व्यक्तिगत रुपमा आक्रमण गर्यो भन्ने प्रचलन पनि छ।’
कार्यक्रममा बोल्दै नेता कृष्ण प्रसाद सिटौलाले कांग्रेस चाकडीवादले विग्रिएको बताए। ‘संसदको समानुपातिक सूचीमा कांग्रेसले मालिकहरुलाई मात्रै खोज्यो,’ उनले भने, ‘अहिले मजुदरले भोट दिएनन् भनेर चित्त दुखाएर हुँदैन, अप्ठ्यारो पर्दा मात्रै सम्झेर हुँदैन।’

साथै उनले अहिले कांग्रेसले प्रतिपक्षको रुपमा गतिलो भूमिका निर्वाह गर्न नसकेको समेत बताए। ‘गणतन्त्र दिवसको दिन सभापति ज्यूलाई भेटेर नीति तथा कार्यक्रममा किन विरोध जनाउनुभएन भनेँ,’ उनले भने, ‘सभापतिज्यूले कसैले सम्झाएनन् भनेर जवाफ दिनुभयो, जुन गलत हो।’ कार्यक्रममा बोल्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले स्वेच्छाचारी ढंगले चलाउँदा पार्टी विग्रिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.