|

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको रेल सपना प्रदेशमा पनि गुन्जिन थालेको छ। प्रदेश ७ को नीति तथा कार्यक्रममाथिको छलफलमा रेलमार्गलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको हो। 

सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीका कृष्णराज सुबेदीले प्रदेश सरकारले सडक विस्तारभन्दा रेडमार्ग सुरुवात गर्न ध्यान दिनुपर्ने बताए। उनले भने‘ सडकको ठाउँमा रेललाई पनि जोड्दा राम्रो हुने थियो। प्रदेश सरकारलाई सुझाव दिन चाहन्छु।’ उनले रेलमार्ग बिस्तारमा सरकारले ध्यान दिनुपर्ने बताए। प्रदेश ७ मा नीति तथा कार्यक्रम माथिको छलफल सोमबार पनि टुंगिएको छैन। शनिबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइतबार र सोमबार प्रदेश सभा सदस्यहरूले धारण राखेका थिए। धारण राख्ने अधिकांशले अन्तर्राष्ट्रिय विमानस्थल र रेलमार्ग विस्तार सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका थिए।

सत्तारुढ दलका प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रमले प्रदेश समृद्धिको ढोका खोल्ने बताए। नेकपाका प्रकाश रावलले त्रिदेशीय नाकालाई जोड्ने महाकाली कोरिडोर निमार्णलाई तीब्रता दिनुपर्ने बताए। ‘मान सरोबर जाने तीर्थयात्रुहरूका लागि यो मार्ग सबै भन्दा उपयुक्त  छ’ नेता रावलले भने। सडक निर्माण चाँडै भए लाखै पर्यटकहरू भित्रने उनको धारणा थियो।

नीति तथा कार्यक्रममा धारणा राख्दै नेकपाका गेल्बुसिंह बोहराले पछिल्लो समय बढिरहेको बसाई सराइलाई व्यवस्थित बनाउन सरकारले नयाँ नीति ल्याउनु पर्ने बताए। उनले भने, ‘यहि रफ्तारले पहाडबाट तराई बसाइ सराइ हुन थाल्यो भने पहाडी र हिमाली क्षेत्र खाली हुन्छ तराइले धान्न सक्दैन।’ बोहराले दार्चुला लगायत प्रदेश ७ मा बन्द अवस्थामा रहेका बिमानस्थल संचालन गर्न सरकारसँग माग समेत गरेका थिए। 

नीति तथा कार्यक्रममाथि धारण राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका गोबिन्दराज बोहराले प्रदेश सरकारले प्रदेशमा एउटा अन्तर्राष्ट्रिय विमास्थल बनाउने योजनाको स्वागत गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग रहेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बोहाराको जोड थियो।  

शनिबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रदेश सभामा छलफल भएको हो। दुई दिन सम्ममा ३२ जना प्रदेशसभा सदस्यहरूले धारण राखेका थिए। नीति तथा कार्यक्रममा धारण राख्ने क्रम नसकिएपछि मंगलबार पनि प्रदेश सभाको बैठक आह्वान गरिएको छ।

मंगलबार केही प्रदेश सभा सदस्यहरूले धारण राखेपछि नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेस हुने प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.