अलग्गिए महामन्त्री कोइराला

|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचनमा पार्टी परायजयको मुख्य कारण गुटगत राजनीति भएको निष्कर्ष निकालेको थियो। कांग्रेसले यस्तो निष्कर्ष मात्र निकालेन, अब एकजुट भएर अघि बढे मात्र पार्टी बलियो हुने निर्णयसमेत गर्‍यो। तर बैठक सकिएपछि झनै पार्टीभित्र गुटगत राजनीति मौलायो। कांग्रसभित्र रहेका धेरैजसो गुटले सभापति शेरबहादुर देउवाको विरोध मात्र गरिरहे। देउवाकै कारण परायज भोग्नुपरेको उनीहरूले बारम्बार बोलिरहे।

यस्तै, देउवा पक्षका नेता भने सभापतिको बचाउमा लागिरहेका छन्। देउवाले अब एकजुट हुन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरिरहेका छन्। तर धेरै नेताले भने देउवालाई एक्लो बनाउँदै गएका छन्। उनको विरुद्ध पार्टीभित्रका अन्य गुटले मोर्चाबन्दी नै गर्न सुरु गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी एकजुट भएका छन्।

पार्टीको १३औँ महाधिवेशनमा देउवालाई सहयोग गरेका पार्टी नेता केबी गुरुङले पनि देउवालाई दिएको समर्थन फिर्ता लिइरहेका छन्।

पार्टीको १३औँ महाधिवेशनअघि दुई गुट देखिएको कांग्रेसभित्र महाधिवेशनपछि सशक्त तीन गुट देखापरे। उक्त गुटले एकअर्काप्रतिको कामको सधैँ आलोचना मात्र गरिरहे तर फेरि १३औँ महाधिवेशनताका पौडेलको साथ छाडेका नोताहरू पुनः सभापतिविरुद्ध मोर्चा गर्न आएका छन्।

यसको सन्देश सोमबार नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको कार्यक्रममा देखियो। कार्यक्रममा सभापति गुटबाहेक अन्य गुटका नेता थिए। उक्त कार्यक्रममा नेविसंघको पनि गुटगत राजनीति खुला देखिन्थ्यो। नेविसंघ काठमाडौंको आयोजनामा भएको कार्यक्रममा संघका सभापति नैनसिंह महर गुटलाई ‘बाइपास’ गरिएको थियो भने महामन्त्री कुन्दन काफ्ले गुटका विद्यार्थी सहभागी थिए। काफ्ले सिटौलाका विश्वासपात्र हुन्। कार्यक्रममा पौडेल गुटका विद्यार्थीको पनि उपस्थिति थियो।

यसरी छुट्टिएका थिए १३औँ महाधिवेशनमा पौडेल, सिटौला र केसी

अहिले पुनः मोर्चाबन्दी गरेका पौडेल, सिटौला र केसी १३औँ महाधिवेशनअघि एउटै गुटमा थिए। १२औँ महाधिवेशनपछि उनीहरू एउटै गुटबाट कांग्रेस केन्द्रीय समितिको पदाधिकारी पनि थिए।

तत्कालीन सभापति सुशील कोइराला (संस्थापन पक्ष)को गुटबाट पौडेल उपसभापति, सिंह निर्वाचित महामन्त्री, सिटौला मनोनीत महामन्त्री र केसी सहमहामन्त्री थिए। तर कोइरालाको निधनपछि उनीहरूबीच शक्तिका हिसाबले द्वन्द्व बढ्दै गयो। फलस्वरूप १३औँ महाधिवेशनमा आएर उनीहरू अलग भए।

गुटभित्र एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेको आरोप लगाउँदै उनीहरू फुटे। पौडेललाई असहयोग गर्दै सिटौलाले सभापतिमा उम्मेदवारी दिए तर तेस्रो भएपछि उनले अन्त्यमा देउवालाई समर्थन गरे। कांग्रेसमा प्रथम भएर मात्रै सभापति निर्वाचित हुँदैन, त्यसका लागि बहुमत आवश्यक हुन्छ। देउवा १३अौँ महाधिवेशनमा पहिलो मत प्राप्त गर्न सफल भए पनि बहुमत ल्याउन सकेनन्, तेस्रो भएर दोस्रो चरणको निर्वाचनमा सभापतिको निर्वाचनको रिङबाट बाहिरिएका सिटौलाले देउवालाई समर्थन गरेका थिए। त्यही कारण पौडेल पराजित भए अनि पौडेल र सिटौलाबीच द्वन्द्व बढ्यो।

पौडेलले आफ्नो अस्तित्व स्वीकार गर्न नसकेको भन्दै केसी पनि देउवा पक्षबाट महामन्त्रीमा निर्वाचनमा प्रतिस्पर्धा गरे तर उनलाई पौडेल पक्षबाट उठेका डा. शशांक कोइरालाले पराजित गरे। महाधिवेशनको दुई वर्षभन्दा लामो समयपछि देउवा स्वेच्छाचारी भएको भन्दै उनीहरू फेरि देउवाविरुद्ध मोर्चाबन्दीमा आएका छन्। उनीहरूलाई सभापति देउवाको कार्यशैलीले फेरि एक पटक एक ठाउँ बनाएको छ।

अलग्गिए महामन्त्री कोइराला

१३औँ महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीमा डा. शशांक कोइरालाले प्रतिस्पर्धा गरेका थिए। संस्थापन पक्षबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका कोइराला निर्वाचित भएपछि आफैँ गुट चलाउन थाले। पौडेल समूह त्यसबेलादेखि नै असन्तुष्ट थियो।

गत फागुनमा कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति देउवा र नेता प्रकाशमान सिंहले चुनावी प्रतिस्पर्धा गरे। त्यस समयमा कोइरालाले सिंहलाई सहयोग नगरेको आरोप लागयो। अलग धार बनाएर पार्टीमा अघि बढिरहेका कोइरालालाई पौडेल समूहले त्यसपछि विश्वास गर्न छाड्यो। अहिले उनी पौडेल गुटबाट बाहिर छन्।

फर्किए केसी

१३औँ महाधिवेशनअघि पौडेलसँगै रहेका पूर्वसहमहामन्त्री केसी पुनः पौडेल पक्षसँगै मोर्चाबन्दी गर्न आइपुगे। १२औँ महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइराला गुटमा रहेका उनी १३औँ महाधिवेशनमा देउवा गुटमा गए।

तर निर्वाचनपछि देउवाले पार्टीलाई आफ्नो ढंगबाट चलाएको भन्दै उनी लामो समयदेखि असन्तुष्ट थिए। स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देउवाले अरू दललाई फकाउने मात्र तर आफ्नो दलको बारेमा नसोचेका कारण हार व्यहोर्नुपरेको आरोप लगाउँदै आएका थिए केसी।

पार्टी फुटाएर गइसकेका देउवाले पुनः पार्टीबाट एक पटक अलग भएर आएका विजयकुमार गच्छदारलाई नेतृत्व तहमा पुर्‍याएपछि उनी झनै असन्तुष्ट बने। 'नेताको परिक्रमा गर्ने'ले पार्टी बिगारेको भन्दै उनी देउवा समूहबाट अलग हुँदै पौडेल समूहसँग मोर्चाबन्दी गर्न आइपुगे।

झस्किए पौडेल

सोमबार एउटै मंचमा रहेका नेताहरू पौडेल, सिंह, सिटौला र केसीलाई विद्यार्थी संगठनका कार्यकर्ताहरूले एकताको सन्देश दिन आग्रह गरे। कार्यकर्ताले अब एक भएर कांग्रेसलाई पुनः बलियो पार्टी बनाउन आग्रह गरे। कार्यकर्ताले चार नेतालाई उठेर हातेमालो गर्दै एकताको सन्देश दिन आग्रह गरे तर त्यसबेला एउटा अचम्मको दृश्य देखियो।

सैब नेता उठेर हातेमाले गरे तर पौडेल भने उठ्न मानेनन्। कार्यकर्ताको जबर्जस्तीले गर्दा उनी उठे र सबै नेतासँग हातेमालो गरे यद्यपि, उनी बस्न हतार गरिरहेका थिए। उनले त्यसो गरेपछि मंचमा रहेका सबै नेताको अनुहारमा अचम्मको भाव देखिन्थ्यो।

उनले बोल्न सुरु गर्दै गर्दा आफूले त्यसो गर्नुको रहस्य खोले। पौडेलले भने, ‘मलाई उठ्ने मनै थिएन। साथीहरूले भनिहाल्नुभयो, त्यसैले उठेँ। अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा पनि तर्सिन्छ भनेको यही हो तर अब मनदेखि एक हुनुपर्छ।’

उनले संकेत गरेका थिए १३औँ महाधिवेशनमा महाधिवेशनकै मुखमा सिटौला र केसीले दिएको धोकालाई।

देउवामाथि आरोप नै आरोप

कार्यक्रममा बोल्ने सबै नेताले सभापति देउवालाई पार्टी बिगारेको आरोप लगाए। वक्ताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले देउवाको अधिनायकवादी चरित्रले पार्टी सकिएको आरोप लगाए।

उनीहरूले देउवाको यही तरिका मात्र रहिरहने हो भने कांग्रेस इतिहासको पानमा सीमित रहने बताए। कांग्रेस हार्नुमा मुख्य जिम्मेवार देउवा रहेका कारण आफूहरूले त्यसको जिम्मेवारी नलिने उनीहरूको भनाइ थियो। देउवाको कदमविरुद्ध अब एक हुनुपर्ने उनीहरूको धारणा थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.