|

विश्व कप फुटबलको जहाँ कुरा हुन्छ, त्यहाँ ब्राजिलको प्रसंग स्वतः उठिहाल्छ। तपाईं ब्राजिललाई छाडेर विश्व कपको कल्पना गर्न सक्नुहुन्छ? अहँ, सक्नुहुन्न। यो दक्षिण अमेरिकी देश, जहाँ फुटबल धर्म हो, संस्कार हो र हो संस्कृति पनि। ब्राजिल विश्वको यस्तो एक मात्र देश हो, जो एकै पटक पनि विश्व कपको मूल पर्वबाट टाढा बस्नुपरेको छैन। सबैभन्दा ठूलो कुरा सर्वाधिक (पाँच पटक) विश्व कप जितेको रेकर्ड आफूसँग बोकेर हिँड्छ, ब्राजिल।

मैदानमा ‘काला/सेता’ वर्ण भएका गजबका खेलाडीहरूले बल लिएर कुदिरहेको कल्पना गर्नुहोस्, ब्राजिल आँखामा नाच्न आइहाल्छ। ब्राजिल यस्तो देश हो, जसले फुटबल कसरी खेल्छ र उपाधि कसरी जितिन्छ, सिकाउँछ। जसले प्रत्येक चार वर्षमा नयाँनयाँ ‘ट्यालेन्ट’ विश्व फुटबललाई दिन्छ। पेले, सोक्रेटस, रोनाल्डो, रोमारियो, रिभाल्डो, रोनाल्डिनो, गरिन्चा, जिको, काका, रोबर्टो कार्लोस, जेरिजिन्हो आदि यस्ता ब्राजिलियन ट्यालेन्ट हुन्, जसको फुटबल कौशल देखेर विश्वभरिका फुटबलप्रेमीहरू कायल हुन्थे। हेरेको हेर्‍यै हुन्थे। अहिले ब्राजिलसँग नेइमार, मार्सेलो, ग्राबियल जिजस, थियागो सिल्भा, फिलिप कोटिन्हो, केस्मेरियो, पाउलिह्नो, विलियम, फेर्मिनो जस्ता कोभन्दा को कम्तीका युवा ट्यालेन्टहरू छन्। यी सबैको केन्द्रमा नेइमार छन्।

नेइमार २६ वर्षे ब्राजिली निक्खर ट्यालेन्ट। अहिले विश्वकै सबैभन्दा महँगा खेलाडी। स्यान्टोस फुटबल क्लबले हुर्काएको र निखारेको तगडा स्ट्राइकर। विपक्षी खेलाडीहरूलाई छक्याएर गोल गर्न माहिर खेलाडी। नेइमारमा गोल गर्ने र गोलको अवसर सिर्जना गर्ने जुन अदभूत कला छ, त्यसले उनलाई मेस्सी र रोनाल्डोको हाराहारीमा राखेको छ। ब्राजिलियनहरूले नेइमारलाई पेलेसँग दाँजेर हेर्छन्। स्वयं पेलेले नेइमारमा आफू पाउँछन्। ब्राजिलले कहिल्यै ओलम्पिक खेलको फुटबलमा गोल्ड मेडल जितेको थिएन। नेइमारलाई लाग्यो, ‘देशका लागि यो ठूलो रिक्तता हो। गोल्ड मेडल जित्नै पर्छ।’

सबै कुरा पन्छाएर उनी ओलम्पिकको ब्राजिली फुटबल टिममा सामेल भए। निकै खटेर खेले। आफ्नो कौशल देखाए र ब्राजिललाई पहिलो पटक गोल्ड मेडल जिताए। आफ्नै देशमा भएको ओलम्पिकमा गोल्ड मेडल जित्नुको खुसी र उत्सव नेइमारको आँखामा स्पष्ट देखिन्थ्यो। यो खुसीले चार वर्षअघि आफ्नै भूमिमा भएको विश्व कपको सेमिफाइनलमा जर्मनीविरुद्ध व्यहोरेको लाजमर्दो हारलाई बिर्साएको थियो। अहिले मैदान नयाँ छ। वातावरण बेग्लै छ। प्रतियोगिताको स्तर उच्च छ। दबाब सबैभन्दा बढी छ। देश र देशबासीको मात्र होइन, तर ब्राजिललाई चियर्स गर्ने विश्वभरिका प्रशंसकहरूको सपना छ। आशा-भरोसा छ। यो सपना, आशा र भरोसालाई काँधमा बोकेर हिँडनुपर्ने सबैभन्दा ठूलो दायित्व नेइमारमाथि छ किनभने उनी ब्राजिलकै स्टार खेलाडी हुन्। साथी खेलाडीहरूका लागि ऊर्जा हुन्। प्रेरणा हुन्।

नेइमार चम्किए अवश्यै ब्राजिलको दाबेदारी अझ बलियो बन्छ, यसमा दुई मतै छैन। आफ्नो श्रेष्ठता प्रदर्शन गर्ने उनीसामु योभन्दा राम्रो अवसर अर्को छैन, यो कुरा नेइमारलाई राम्ररी थाहा छ। उनीसँग जुन टिम छ, त्यो गजबको छ। दह्रो छ। हरेक जब्बर खेलाडीहरू छन्। केवल खाँचो छ, आआफ्नो प्रतिभालाई सामूहिकता र टिम स्पिरिटको रूपमा मैदानमा देखाउने। पेलेले आफ्नो श्रेष्ठता प्रमाणित गर्दै विश्व कप जिताए। जेरिजिन्होले पनि ब्राजिललाई विश्व कपको उपाधि दिलाए। रोमारियोले पनि ब्राजिलको सपना साकार पार्दै विश्व कपको उपाधि उचाले। सन् २००२ मा जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्व कप ब्राजिलले जित्दा रोनाल्डो, रिभाल्डो र रोबर्टो कार्लोस, रोनाल्डिनो र काफुहरू नायक बने। अब यो दायित्व नेइमारहरूको काँधमा छ।

ब्राजिलले विश्व कपको उपाधि नजितेको लामो समय भएको छ। १६ वर्ष छोटो समय पक्कै होइन। पछिल्लो विश्व कपमा आफ्नै आँगनमा ब्राजिलको सपना तुहिएको थियो। यो ‘सपना तुहाइ’ कम पीडादायी थिएन। सबैभन्दा ठूलो पीडा नेइमारलाई परेको थियो। कोलम्बियाविरुद्ध खेलिएको क्वार्टर फाइनल नराम्रो गरी घाइते भएपछि नेइमार प्रतियोगिताबाट बाहिरिएका थिए। यस्तै, लगातार दुई म्याचमा पहेँलो कार्ड पाएका कप्तान थियागो सिल्भा पनि सेमिफाइनल खेल्नबाट वञ्चित भएका थिए। यी दुई महत्त्वपूर्ण खेलाडीको अनुपस्थितिमा कमजोर भएको ब्राजिलले जुन हार व्यहोर्‍यो, त्यो ब्राजिलका कसैले भुल्न नसक्ने पीडा हो।

विश्व कपअघिसम्म नेइमारको चोट निको हुन्छ/हुँदैन भन्ने अनिश्चितता हटिसकेको छ। पछिल्लो मैत्री खेलमा गोल गरेर नेइमारले आफ्नो श्रेष्ठता सबैलाई देखाइसकेका छन्। ९८ दिनपछि मैदानमा फर्किएका उनी पहिलाकै लयमा देखिएका छन्, यो ब्राजिलियन फुटबलप्रेमीहरूका लागि सुखद कुरा हो। नेइमार भएपछि उनीहरू ढुक्क हुन्छन्/छन्। ओलम्पिकमा गोल्ड जितिसकेका नेइमारको लक्ष्य अहिले विश्व कप हो। महाभारतका अर्जुनले चराको आँखा मात्र देखेझैँ उनले पनि विश्व कपको ट्रफी मात्र देख्नुपर्छ। यस पटक पनि चुके भने अर्को चार वर्ष पुनः पर्खिनुपर्नेछ। त्यसबेला उनी ३२ वर्षका भइसकेका हुनेछन्। निश्चित छ, २६ को नेइमारबाट उनका प्रशंसकहरूले जे चाहिरहेका छन्, त्यो ३२ को नेइमारबाट पाउन गाह्रै हुने कुरा हो।

यस्तो छ नेइमारको व्यक्तिगत विवरण :

नाम : नेइमार डा सिल्भा स्यान्टोस जुनियर

जन्ममिति : ५ फेब्रुअरी १९९२ 

जन्मस्थान : साउपाउलो ब्राजिल

उचाइ : ५ फुट ९ इन्च

खेल्ने पोजिसन : स्ट्राइकर

जर्सी नम्बर : १० 

वर्तमान क्लब : पीएसजी (फ्रान्स)

कुल क्लब म्याच : ४३९

कुल क्लब गोल : २६९ 

अन्तर्राष्ट्रिय म्याच : ८४ 

कुल गोल संख्या : ५४

विश्व कपमा उपस्थिति : दुई पटक (रूस विश्व कपसहित)

विश्व कपका कुल म्याच : ५ 

विश्व कपमा कुल गोल : ४

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.