|

रौतहट : रौतहटका नगर प्रमुखहरूले हाजिर गर्न नदिएपछि पाँच जना प्रशासकीय अधिकृतहरू मन्त्रालय नै फर्किएका छन्। 

विभिन्न नगरपालिकामा नायव सुब्बाले नै काम गरिरहेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयले पाँच जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो। रौतहटको वृन्दावन नगरपालिका, बौधीमाई नगरपालिका, कटहरिया नगरपालिका, राजपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा नायव सुब्बाले नै कार्यालय प्रमुख भएर काम गर्दै आएका थिए। 

राजपुर नगरपालिकामा सोमबार हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत गोपालनाथ श्रेष्ठले आफूलाई नगर प्रमुखले हाजिर नगराएको बताए। असार मसान्तपछि मात्र हाजिर गराउने नगर प्रमुख सकिल अख्तरले बताएपछि आफू फर्किएको श्रेष्ठले जानकारी दिए। 

यता, नगर प्रमुख अख्तरले आर्थिक वर्षको अन्तिम अवस्थामा नयाँ कर्मचारी आउँदा काम प्रभावित हुने हुँदा अहिलेलाई उनलाई फर्काइएको र असार मसान्तपछि नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउने उनले बताए। उक्त नगरपालिकामा नायव सुब्बा जगतप्रसाद साहले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका छन्। 

यसैगरी वृन्दावन नगरपालिकामा हाजिर गर्न पुगेका नयाँ प्रमुख प्रशासकीय अधिकृत ओमनारायण झा पनि हाजिर नै नगरी फर्किएका छन्। त्यहाँ पनि नगर प्रमुख रामस्नेही यादवले यो आर्थिक वर्ष सकिएपछि मात्र हाजिर गराउने बताएपछि झा मन्त्रालय नै फर्किएका हुन्। उक्त नगरपालिकामा नायव सुब्बा शिवध्यान यादव प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्। 

त्यस्तै, यमुनामाई गाउँपालिकाले पनि त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुष्पचन्द्र घिमिरेलाई फर्काइदिएको छ। उक्त गाउँपालिकामा नायव सुब्बा शिवपुजन यादव प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन्। यसैगरी कटहरियाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका रामलाल सहनी पनि त्यसैगरी हाजिर नै नगरी फर्किएका छन्। उक्त नगरपालिकामा नायव सुब्बा राजदेव मुखिया कार्यालय प्रमुख भएर कामकाज गर्दै आएका छन्। 

त्यस्तै, बौधीमाई नगरपालिकाका लागि दिलीपकुमार झा आएका थिए। उनी पनि हाजिर नगरी फर्किएका छन्। १६ नगरपालिका र दुई गाउँपालिकासहित १८ स्थानीय तह रहेको रौतहटमा छवटा स्थानीय तहमा नायव सुब्बाले नै कामकाज गर्दै आएका छन्। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवको दरबन्दी भएको भए तापनि नायव सुब्बाहरूले कामकाज गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.