'मेरो घरबेटी भए पनि गल्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष कुनै पनि पार्टीमा नभएकाले राजीनामा दिनु नपर्ने बताएका छन्।

तत्कालिन माओवादी र एमालेबीच एकता भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष बनेपछि पहिलोपटक निर्वाचन क्षेत्र रहेको जिल्ला चितवन पुगेका प्रचण्डले प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षले राजीनामा दिनु नपर्ने बताएका हुन्। उनले पार्टीबाट राजीनामा दिएको पत्र बुझाइसकेकाले उनीहरूले राजीनामा दिन नपर्ने र त्यस्तो माग गर्नु ऐनविपरीत हुने बताए।

प्रचण्डले भने, 'पार्टी एकता गर्न नपाइने र पार्टी एकता गरेपछि नहुने भन्ने त कहीँ ऐन नियममा लेखिएको छैन। जतिबेला सभामुख उपसभुमख नियुक्त भए अलगअलग पार्टी थिए, सभामुख भएपछि पार्टीमा नरहेको पत्र बुझाइ सक्नुभएको छ।' उनले थपे, 'अब पार्टीमा नभएका व्यक्तिलाई पार्टीको हो भन्नु ऐनविपरीत हुन्छ भन्ने मलाई लाग्छ।'

त्यस्तै प्रचण्डले राजपालाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको जानकारी दिएका छन्। उनले 'राष्ट्रिय एकता कायम गर्ने, विकास  र समृद्धिको नयाँ संकल्पको लागि राजपालाई ल्याउन  लागेको' बताए। उनले राजपा तत्काल सरकारमा आउन भने नलागेको बताए। संवैधानिक रुपमा २५ जना मात्रै मन्त्री बनाउने मिल्ने भएपनि राजपा आइहालेमा 'सहजै एडजस्ट' गर्न सकिने बताए। उनले नेपाली कांग्रेसलाई भने सरकारमा ल्याउन नहुने बताए।

पत्रकारहरूले संघीय संसदको नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गरिने शब्द नराख्दा जनतामा नकरात्मक सन्देश गएको भन्ने सवालको जवाफमा प्रचण्डले जनतालाई सही कुरा नबुझाइएको बताए। उनले नियमावलीमा जुन व्यवस्था गरिएको छ त्यसले निलम्बन नै जनाउने र ऐन बनाउने बेला स्वतः निलम्बन शब्द राखिनेमा प्रतिपक्षी कांग्रेसले समेत सहमति जनाएको जानकारी दिए।

प्रचण्डले सरकारले निर्वाचनका बेला गरिएका बाँचा अर्को वर्षको बजेटबाट पूरा गर्ने बताए। उनले अहिलेको बजेटमा देशको वास्तविक अर्थतन्त्रको प्रस्तुती रहेको बताए। उनले सरकार पाँच वर्ष चल्ने भएकाले जनताका मागको सम्बोधन अर्को वर्षका बजेटदेखि हुने बताए।

त्यस्तै काम नगर्ने ठेकेदार जो भएपनि कारबाही गर्न सरकार तत्पर भएको प्रचण्डले जानकारी दिएका छन्। उनले भने, 'ठेकेदारहरूले समयमा गुणस्तरीय काम गर्नुपर्छ त्यहाँ लापरबाही छ भने सरकारले कडा रुपमा जानुपर्छ भन्नेमा कसैको विमति छैन।' उनले आफ्नो घरबेटीले पनि त्यस्तो गलत काम गरेको भए कारबाही गर्न तत्पर रहेको बताए। उनले भने, 'म जसको घरमा बसेको छु उसले पनि गल्ती गरेको छ भने कारबाही हुन्छ, छैन भने प्रोत्साहित हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.