|

दमक (झापा ) : झापाको गौरादह नगरपालिकाको परिचय नै यहाँका दहहरू हुन्। बिभिन्न दहहरूको भएका कारणले नै यसको नाम गौरादह रहन गएको किम्बदन्ती छ। तर नगरको परिचायकका रुपमा रहेका यहाँ दह अर्थात पोखरीहरूकाे संरक्षण कार्य भने अलपत्र बनेको छ। 

स्थानीय तहको निर्वाचनका बेला गौरादहका ऐतिहासिक पोखरी संरक्षण र व्यवस्थापनको नारा सवै दलले उचालेका थिए। झापाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको गौरादह नगरपालिका १ स्थित गौरा दहका ऐतिहासिक पोखरीको संरक्षणमा हाल आएर नगरले विनियोजन गरेको बजेटबाट एक आर्थिक वर्ष वितिसक्दा पनि केही काम हुन सकेन। काम हुन नसक्दा नगरले पोखरी व्यवस्थापनका लागि भनेर छुट्टयाएको एक करोड रकम त्यसै रहने भएको छ।

तत्कालीन पहिलो पोखरी व्यवस्थापन तथा पर्यटकीय स्थल निर्माण समितिका अध्यक्ष समेत रहेका वडा  २ का वडा अध्यक्ष हेमन्त कार्कीका अनुसार पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थल सहितका फूलबारी निर्माण गर्ने, बोटिङ चलाउने, चिल्ड्रेन पार्क, बालबाटिका, जातीय संग्रालय र वनभोजस्थल बनाइने गुरुयोजनामा उल्लेख गरिएको थियो।

जस पाउन होडबाजी

पहिलोपटक २०७०/०७१ मा सर्वदलीय भेलाबाट गौरा दहका ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीयस्थल निर्माण समिति हेमन्त कार्कीको अध्यक्षतामा गठन गरिएको थियो। समितिले तत्कालीन समयमा तीन करोड ८५ लाख एक सयको गुरुयोजनासहित स्थानीय मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश समेत गरेको बताउँदै कार्कीले २५ लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए। तर तत्कालीन अवस्थामा आफूलाई काम गर्न नदिएको बताउँदै कार्कीले भने आफूलाई थाहा नै नदिई नगरपालिकाको संयन्त्रले यादवराज सेढाईंको अध्यक्षतामा अर्को समिति बनाएको बताए।

पोखरी क्षेत्रमा रहेको अतिक्रमण हटाएर २०७२/०७३ मा आफ्नो नेतृत्वमा दुई चरणमा ७२ मिटर र ५३ मिटर घेराबारा १८ लाखमा गरेको सेढाईंले बताए। पुनः मौसम प्रतिकूल रहेको अवस्थामा पनि ३८ लाख ७४ हजारमा  ३४० मिटर घेराबारा गर्ने काम गरेको उनको भनाई। तर वडाबाट पुन अर्को समिति बनाइएको छ। जसलाई नियम बिपरित रहेको दावी सेडाईंको छ। तर आफू पोखरीको व्यवस्थापन र संरक्षणमा एकलौटी ढंगले नलागी जनभावना अनुसारकै काम गरिरहेको नगरका प्रबक्ता समेत रहेका वडा १ का अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए। पोखरी व्यवस्थापनमा एक करोडले सम्भावना पनि छैन। वर्षातको समय पनि भएका कारणले काम रोकिएको समाज विकास समितिका संयोजक मणिन्द्र कार्कीले बताए।

सहमतिमा नै काम हुन्छ : प्रमुख साह

पोखरी संरक्षण र व्यवस्थापनमा समस्या आएको राजनीतिक सहमति नभएर हो भन्दै गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह अझै पनि काम हुने सम्भावना रहेको बताउँछन्। नगर प्रमुख साहले भने, 'यसका लागि राजनीतिक सहमति जुटाउन पहल गरिरहेको छु।’

साहले पोखरी संरक्षण र पर्यटन प्रवर्द्धनआफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताए। यहाँका ऐतिहासिक पोखरीहरूको प्रवर्द्धनका लागि प्रदेश सरकारसँग साझेदारीमा परियोजना संचालनकाे लक्ष्य रहेको उनले बताए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.