थाहा संवाद : स्थानीय सरकार

पहिलो वर्ष जनताको मागअनुसारको टुक्रे योजनामा बित्यो : सूर्यविनायक नगरपालिका प्रमुख थापा
SHARES

जेठ ३०, २०७५

    उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकको नामबाट नामकरण गरिएको सूर्यविनायक नगरपालिकाको गठन साविकको कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविसलाई मर्ज गरेर २०७१ सालमा भएको हो।

    मुलुक संघीयतामा प्रवेश गरेसँगै नयाँ संविधानबमोजिम राज्य पुनर्संरचना गर्दै राज्यलाई तीन तहमा विभाजन गर्ने क्रममा २०७४ मा तत्कालीन बालकोट, सिरुटार, दधिकोट र गुण्डु गाविस मिलेर बनेको अनन्तलिंगेश्वर नगरपालिकासमेत सूर्यविनायकमा मर्ज भयो।

    सूर्यविनायक नगरपालिकामा २०६८ को जनगणनाअनुसार ७८ हजार ७९० जनसंख्या रहेको छ। समुद्री सतहदेखि एक हजार ३७२ देखि दुई हजार २५ मिटर उचाइमा रहेको यस नगरपालिकाको क्षेत्रफल ४२.४५ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिका भक्तपुर जिल्लाको दक्षिणतर्फ काभ्रेको साँगादेखि पश्चिम ललितपुरसम्म फैलिएको छ।

    चरखण्डी महादेव, केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, अग्लो महादेव, नन्दीकेश्वर महादेव, अनन्तलिंगेश्वर, सुवर्णेश्वर र सूर्यविनायक गणेश मन्दिरलगायतका धार्मिकस्थलका कारण धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको यस नगरपालिकामा पहिलो खुला चिडियाखना निर्माणको चरणमा रहेको छ।

    स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको सन्दर्भमा सूर्यविनायक नगरपालिकाको विकास निर्माणलगायत विविध पक्षबारे नगर प्रमुख वासुदेव थापासँग थाहाखबरकर्मी लक्ष्मी गारुले गरेको कुराकानी प्रस्तुत छ।

    निर्वाचित भएको एक वर्ष पूरा भइसकेको छ। यो एक वर्षमा तपाईंले चुनावमा जनताको घरदैलोमा गएर भोट माग्दा गरेका प्रतिवद्धता कतिको पूरा गर्नुभयो?

    २०७४ बैशाख ३१ को स्थानीय तहको चुनावमा भाग लिँदा जनतामाझ घोषणापत्र र प्रतिवद्धतापत्र राखेका थियौँ। त्यो घोषणापत्र र प्रतिवद्धतापत्रअनुसारको योजनालाई क्यालेण्डर बनाएर सूर्यविनायक नगरपालिका अगाडि बढेको छ। विशेषगरी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई र मठमन्दिरलगायतका महत्त्वपूर्ण कामहरूलाई प्राथमिकतामा राखेर गर्दै आएका छौँ। नपाका प्रत्येक वडा वडामा एक करोड ७५ लाखदेखि दुई करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजित गर्‍यौँ। सोही बजेटले पहिलो वर्ष जनताका मागअनुसारको टुक्रे योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्‍यौँ। त्यसअनुसार पहिलो वर्षलाई टुक्रे योजनाको वर्ष भन्दा फरक नपर्ला।

    ती योजनाहरू पनि हामीले करिव ९० प्रतिशत सम्पन्न गरिसक्यौँ।  बाँकी १० प्रतिशत चालु अवस्थामा छन्। शत प्रतिशत जनताका योजनाहरू असार १५ सम्ममा पूरा गर्ने लक्ष्यमा हामी अडिग भएर अगाडि बढिरहेका छौँ।

    बाँकी १० प्रतिशत काम ढिला हुनुको कारण के हो?

    बाँकी १० प्रतिशत काम पनि खासै ढिला त भएको मान्न सकिन्न। किनकि, हामीसँग अझै समय छ। केही ढिलाजस्तो देखिए पनि त्यसमा नपाको कुनै कमजोरी छैन। वादविवाद र झैंझगडा भएका कारण पनि ढिला भएको होइन। जुन ठाउँको योजना हो, त्यहीँका स्थानीय बासिन्दाहरूले उपभोक्ता समिति ढिला गठन गरेर आउनुभएका कारण केही विलम्ब हुन पुगेको हो।

    त्यसैगरी केही स्थानमा नपाले विनियोजन गरेको बजेट केही अपुग भयो भन्ने गुनासो आएको छ। त्यस्ता स्थानका उपभोक्ताहरूलाई उपभोक्ता समिति गठन गरेर कति बजेट चाहिन्छ, त्यो प्रस्तावसहित आउनुहोस् भनेका छौँ। नपाको बजेटले भ्याएसम्म गर्ने हो। यदि कुनै कामका लागि पाँच लाख रुपैयाँ बजेट इस्टिमेट भएको छ र त्यो पुग्दैन भने छ लाख रुपैयाँ गर्नुस् तर समस्या समाधानसहित आउनुहोस् भनी सुझाव दिएका छौँ। चुनावको समयमा जनताको घरदैलोमा गएर गरेका प्रतिवद्धताहरू हामीले पूरा गरेका छौँ।

    नगरस्तरीय योजनाहरू केके छन्?

    अघि नै मैले भनिसकेँ कि यो वर्ष हामीले ठूला नगरस्तरीय योजनाहरूभन्दा पनि जनताका समस्या समाधान गर्ने ससाना टुक्रे योजनामा जोड दियौँ। अब हामी आगामी वर्षदेखि बाँकी चार वर्षमा ठूलाठूला योजनामा जोड दिन्छौँ। सोहीअनुसार हामी अहिले गुरुयोजनाहरू निर्माणमा जुटेका छौँ।

    पहिलो वर्षमा हामीले लथालिंग र भताभुंग अवस्थामा रहेका जनताबाट आएका टुक्रे योजनालाई प्राथमिकतामा पारेर काम अगाडि बढाएका हौँ। गुरुयोजना अगाडि टुक्रे योजना सम्पन्न गर्नुपर्छ। टुक्रे योजनाहरू करिब सम्पन्न भइसकेको अवस्था छ। अबको चार वर्षमा पाँचदेखि १० वर्षसम्मका गुरुयोजनाहरू बनाउनेतिर हामी लाग्छौँ।

    सूर्यविनायक नपाको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन गर्नका निम्ति तपाईंले केके योजना अघि सार्नुभएको छ?

    सूर्यविनायक नपाको आन्तरिक आम्दानीको स्रोत निकै कमजोर छ। यहाँ खासै त्यस्तो आम्दानी हुने स्रोतहरू छैनन्। यहाँको मुख्य सम्भावना भनेकै धार्मिक पर्यटन हो। यहाँ रहेका चरखण्डी महादेव, केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, अग्लो महादेव, नन्दीकेश्वर महादेव, अनन्तलिंगेश्वर, सुवर्णेश्वर र सूर्यविनायक गणेश मन्दिरलगायतका धार्मिकस्थलको महत्त्वको विषयमा देश विदेशमा प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटन भित्र्याउन सके आम्दानीको निकै राम्रो स्रोत बन्न सक्छ।

    यस कारण सूर्यविनायक नपालाई आर्थिक रूपमा समृद्ध बनाउन र पर्यटन प्रवर्द्धन गर्न यहाँ रहेका धार्मिक स्थलहरूबाटै आर्यआर्जन गर्ने सोच बनाएका छौँ। त्यसका लागि पुरातत्त्व विभागसँग छलफल चलाएका छौँ। नपाले गर्न नसक्ने योजनाका लागि सम्बन्धित निकायमा पहल गरिरहेका छौँ। सानातिना योजना, जस्तो कि सरसफाई, शौचालय बनाउने र मर्मत गर्ने काम नपाले सुरु गरिसकेको छ। धार्मिक स्थलहरू व्यवस्थित गर्न नपाले विज्ञहरू र जनतासँग छलफल गरेर नगरसभा सकेर गुरुयोजनामै जान्छौँ।

    तपाईंले सूर्यविनायक नपाका जनताले प्रत्यक्ष अनुभव गर्ने खालका केके काम सम्पन्न गरिसक्नुभयो र केके भइरहेको छ?

    हामीले सामुदायिक विद्यालयमा पढ्ने सर्वसाधारणका छोराछोरीहरूले पनि निजीमा जस्तै गुणस्तरीय र अंग्रेजी माध्यममा पठनपाठन गर्न सक्ने वातावरण निर्माण गरेका छौँ। त्यसका लागि नपाका सामुदायिक विद्यालयमा यसै वर्षदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाउने कार्यको थालनी गरिसकेका छौँ। त्यसैगरी २०७८ सम्म नपाका सबै सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउन नपा लागिसकेको छ। एउटा नागरिक जन्मेपछि उसले स्वास्थ्य निःशुल्क पाउनुपर्छ भन्ने अवधारणामा हामी लागेका छौँ। साधारण रोगका बिरामीलाई नपाका स्वास्थ्य केन्द्रबाटै उपचार गराउने तयारीमा हामी लागेका छौँ।

    तपाईंको कार्यकालका विशेष योजना केके छन्? ती योजना पूरा गर्ने आधारहरू केके हुन्?

    जनताले बस्नलायक, सफा हराभरा, शान्त वातावरण भएको भक्तपुरका चरवटा नपामध्ये विकसित र उत्कृष्ट नपाको रूपमा यस नपालाई पाउनेछन्। नपामा अहिले वडा १ बाट १० वडासम्मै सरर जाने बाटो छैन, अब छिट्टै यो पनि हुन्छ। यस विषयमा आवश्यक छलफल गरी हामीले गुरुयेजना बनाइसक्यौँ साथै कामको थालनी अब छिट्टै हुन्छ।

    विशेषगरी शिक्षा, स्वास्थ्य, खानेपानी, परमपरागत मठमन्दिरको जगेर्ना र सरसफाईमै विशेष योजनाहरू बनाउँदै छौँ। अन्य योजनाहरूको सम्बन्धमा आवश्यक छलफल चलिरहेको छ।

    सूर्यविनायक नपालाई राम्रो शहर, सफा र हराभरा, बस्नलायक शिक्षित र योग्य बनाउनका लागि हामीले स्मार्ट सिटीको रूपमा विकास गर्न लागिरहेका छौँ।

    सूर्यविनायक नपाका जनतालाई सिंहदरबारको सबै अधिकार आएको महसुस गराउन तपाईंले केके गर्नुभयो?

    यो पहिलो वर्ष हामीलाई कानुनी अधिकारको नै कमी भयो। सुरुमा ऐन भएन, त्यसपछि आएको ऐनमा पनि धेरैजसो प्रदेशको कानुनबमोजिम हुने भन्ने व्यवस्था रह्यो। अहिले केही अधिकारसहितको ऐन आउने क्रममा रहेको छ, त्यसैले अबका दिनमा काम गर्न केही सहज होला। अहिलेसम्म ऐन कानुन र विधि विधानले गर्दा जनताले त्यो अनुभूति पूर्ण रूपमा गर्न सकेका छैनन्।

    तर पनि हामीले नगरसभा बैठकबाट विभिन्न ऐन, कानुनको निर्माण र नीतिगत निर्णयहरू गरेका छौँ। जनता कामका लागि आउनासाथ उनीहरूका काम छिटो छरितो सम्पन्न गर्ने वातावरणको सृजना गरेका छौँ। नपालाई प्रविधिमैत्री बनाएर लैजाने प्रयास गरेका छौँ। प्रविधिको प्रयोगले काम छिटो छरितो र सरल तरिकाले सम्पन्न गराउन सहयोग पुग्ने विश्वास छ। जनतालाई प्रत्यक्ष रूपमा सुशासन दिने प्रयास भएका छन्।

    अब चार वर्षका लागि नपाका पनि सबै ऐन कानुन, विधि विधान बनाइसक्छौँ। माथिल्लो निकायले पनि आवश्यक ऐन बनाइसक्यो। अबको चार वर्षभित्र जनतालाई सिंहदरबारको सबै अधिकारको अनुभूति दिलाउनेछौँ।

    सूर्यविनायक नपालाई अबको चार वर्षपछि जनताले कस्तो पाउँछन्?

    जनताले बस्नलायक, सफा हराभरा, शान्त वातावरण भएको भक्तपुरका चारवटा नपामध्ये विकसित र उत्कृष्ट नपाको रूपमा यस नपालाई पाउनेछन्। नपामा अहिले वडा १ बाट १० वडासम्मै सरर जाने बाटो छैन, अब छिट्टै यो पनि हुन्छ। यस विषयमा आवश्यक छलफल गरी हामीले गुरुयेजना बनाइसक्यौँ साथै कामको थालनी अब छिट्टै हुन्छ। नपाको १ देखि १० वटै वडा जोड्ने पूर्ण रूपमा कालोपत्रे भएको सडक जनताले पाउनेछन्। यसले नपाको एक वडाबाट अर्को वडामा आवतजावत गर्न सहज हुनेछ।

    शत प्रतिशत काम मेरो कार्यकालमा नहोला तर सम्भव भएसम्म नपा स्मार्ट सिटीका रूपमा विकास भएको पाउनुहुनेछ। त्यसैगरी गुणस्तरीय शिक्षा र स्वास्थ्य जनताले घरदैलोमा नै प्राप्त गर्नेछन्।

    तपाईंले स्मार्ट सिटीको कुरा गर्नुभयो तर अहिले नपाभित्र अनियन्त्रित रूपमा जग्गा प्लटिङ गर्ने र डाँडा तथा ढिस्को भत्काउने कार्य भइरहेका छन्, यसलाई रोक्न नपाले चासो देखाएन भन्ने जनगुनासो पनि छ नि?

    नपाले विगतमा स्मार्ट सिटीको परिकल्पनाअनुसारै प्लानिङ गर्ने शर्तमा केही स्थानमा प्लटिङ गर्ने स्वीकृति दिएका थियौँ। अब प्लटिङ पूर्ण रूपमा रोकेका छौँ। पहिला ऐन कानुन नबन्दा दुई/तीन वटालाई स्वीकृति दिएका थियौँ। त्यो पनि स्मार्ट सिटीको हिसाबमा बनाउनेलाई, जसमा सडक पूर्ण रूपमा कालोपत्रे हुनुपर्ने, बिजुली बत्तीदेखि टेलिफोन र इन्टरनेटको सुविधा हुनुपर्ने, अण्डरग्राउण्ड बत्ती हुनुपर्नेलगायत सबै व्यवस्थित हुनेगरी स्वीकृति दिएका थियौँ। स्मार्ट सिटीभन्दा बाहिरको र विकासको नाममा चारदेखि छ मिटरको बाटो बनाएर अलिअलि ब्लक घेरेर जग्गा बिक्री गर्नेलाई स्वीकृति दिएका छैनौँ।

    नपाले कर संकलनमा जोड दियो तर त्योअनुसारको सुविधा दिन सकेन भन्ने जनगुनासो पनि सुनिँदै छ, यसमा नपाको धारणा के छ?

    नगरपालिका भएपछि त्यसैअनुसार कर उठाउनै पर्‍यो। पहिला गाविस हुँदा र अहिले नपा हुँदा धेरथोर करको दर र दायरा स्वतः फरक पर्छ। यो जनताले बुझ्नुपर्छ र बुझेका पनि छन् भन्ने विश्वास छ।

    जनताबाट उठेको करबाटै नपा सञ्चालन हुने हो र यहाँको विकास निर्माणका कार्य पनि सोहीअनुसार हुने हो। जति धेरै आन्तरिक आम्दानी वृद्धि हुन्छ, त्यही अनुपातमा जनताले सेवा सुविधा पनि पाउनुपर्छ। यसमा नपा एकदम सकारात्मक छ। तर जनताको ढाडै सेक्ने गरी नपाले कर उठाएको छैन। करको दायरा फराकिलो बनाउँदै वर्षौंदेखि करको दायरामा आउन नसकेकाहरूलाई अभियानमार्फत् करको दायरामा ल्याउने काम भएको हो।

    भूकम्पपीडितका समस्या ज्यूँका त्यूँ छन्, अझै पहिलो किस्ता नपाएको, लाभग्राहीको सूचीमा नाम छुटेका गुनासा छन्। दोस्रो किस्ता पाउनेको संख्या अत्यन्त न्यून रहेको छ। यस्तो अवस्थामा असार मसान्तको समयसीमा अपुग हुने अवस्था छ। यसमा नगरपिलकाले कस्तो पहल गरेको छ?

    पहिलो कुरा हामीले लाभग्राहीको सूचीमा नाम छुटेका र पहिलो किस्ता पाउन नसक्नेहरूको समस्या छिटो समाधान गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छौँ, सोहीअनुसार पहल र ताकेता गरिरहेका छौँ।

    दोस्रो कुरा जसले दोस्रो किस्ता पाउन सकेका छैनन्, पहिलो किस्ता लाने तर समयमा घर निर्माण गर्न नसक्नेहरूको हकमा हिजोका दिनमा हाम्रै प्रस्तावका कारण चैतबाट असार मसान्तसम्मको समयसीमा थप भएको हो।

    अब अहिले पनि घर निर्माणमा धेरै समस्या छ। एकातिर प्राविधिक इञ्जिनियरहरूको कमी छ। हामीले पुनर्निर्माण प्राधिकरणबाट खटिएर आउनुभएका प्राविधिकहरूलाई आवश्यक थप सहयोग गर्छौं भनेका छौँ। सोहीअनुसार नपाका प्राविधिकहरूले पनि फिल्डमा खटेर काम गरेका छन्। अर्कोतिर निर्माण सामग्रीहरूको अभाव र मूल्य वृद्धिका कारण समयमा घर निर्माण हुन सक्ने अवस्था छैन। यस विषयमा हामी सम्बन्धित निकायमा छलफल गरी उचित निकास निकाल्छौँ।

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]