|

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ विकास बैंक आर्थिक अभावले बन्द हुने अवस्थामा पुगेको छ। प्राविधिक कार्य सञ्चालन गर्न आर्थिक अभाव भएपछि बैंक बन्द हुने अवस्थामा पुगेको हो।

जिल्ला कृषि विकास कार्यालय र गाउँपालिकाले उपलब्ध गराउँदै आएको अनुदानको रकम प्राप्त नहुँदा समस्या परेको बीउ बैंक सञ्चालन गर्दै आएको अनमोल कृषि सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताए। 'अनुदानको केही रकम  कृषि विकास कार्यालयले दिए पनि गाउँपालिकाले दिने ५० प्रतिशत रकम सम्झौता गरेर पनि उपलब्ध गराएको छैन। बारम्बार वडा कार्यालयदेखि गाउँपालिका पुग्दासमेत अनुदानको रकम पाएनौँ।’ उनले भने, 'भण्डारण गृहको क्षमता ५० क्विन्टल राख्ने मात्रै छ। भण्डारण क्षमता बढाउनका लागि भवन निर्माणको कार्य अगाडि बढाइए पनि आर्थिक अभावले पूरा हुन पाएको छैन।’

धान र गहुँको बीउ ढुसी, मुसा र किराबाट जोगाउनका लागि भण्डार गृहमा प्रयोग हुने रसायनिक पदार्थ र बिषादीको समेत आर्थिक अभावले व्यवस्था हुन नसकेको उनले बताए। भण्डार गृहको क्षमता कम भएपछि उत्पादीत बीउ स्थानट्ठय बासिन्दाका घरमा असुरक्षित तरिकाले भण्डारण गर्नु परेको उनले बताए। ‘भण्डारणका लागि समस्या भएपछि स्थानीय बासिन्दाको सुत्ने कोठमासमेत बीउका बोराहरू राखेका छौँ,' उनले भने।

तिलोतमा जातको गहुँको मूल बीउ ५० क्विन्टल र प्रथम पुस्ताको आदित्य जातको गहुँको बीउ १५० क्विन्टल बैंकमा आवद्ध किसानले उत्पादन गरेका छन। बैंकले स्थानीय जातका धानका बीउ २५ र उन्नत जातका धानको बीउ राधा-४ र सुख्खा-३ जातका बीउ उत्पादन गर्दै आएको छ। स्थानीय जातका धान ५० क्विन्टल र उन्नत जातका धानको बीउ ७० क्विन्टलको हाराहारीमा उत्पादन हुने गरेको छ। धान र गहुँको बीउको माग उच्च भएकाले माग धान्न मुश्किल हुने गरेको सहकारीका सदस्य आशाराम चौधरीले बताए।‘बजारको मूल्यभन्दा सस्तोमै बीउ पाइने भएकाले किसान बीउ खरिद गर्न टाढाटाढाबाट यहाँ पुग्ने गरेका छन्’, उनले भने।

लोपोन्मुख प्रजातीका २२ जातका धानको बीउ बैंकमा संरक्षित

एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थमा पुगेका स्थानीय धानका प्रजातीको खोजी गरी बीउ बैंकमा संरक्षण गर्दै आएको छ।

बढी फल्ने उन्न जातको धान खेतीतर्फ किसानको आकर्षण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन्। स्थानीय २२ प्रजातीका धानको बीउ अनमोल कृषि सहकारीले सञ्चालन गर्दै आएको बीउ बैंकमा संरक्षण गरी राखिएको छ। छिटो पाक्ने १५ जातका र ढिलो पाक्ने सात जातका धान बैंकले संरक्षण गरेको सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताए।

छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनीया, थापाचीनि, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकी लगायत १५ जातका धान संरक्षण गरिएका छन्। ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र वाउन्न चीनी लगायतका धान संरक्षण गरिएका छन्।

प्रति वर्ष स्थानीय जातका धान खेती गरेर यहाँका सहकारीमा आवद्ध किसानले संरक्षणमा टेवा पुर्‍याउँदै आएका छन्। 'स्थानीय जातका धानका बीउहरूको विशेषता बारे स्थानीय कृषकहरूलाई जानकारी दिर्इ खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ', अध्यक्ष रानाले भने, ‘कृषकहरूले स्थानीय जातका धानको महत्त्व बुझेर हाल पुनः छाडदै गएका धानको खेती गर्न थालेका छन्।’

सहकारीमा आवद्ध किसानहरूले एकै ठाउँमा देखिने गरी नमूनाका रूपमा घरमै तयार गरीएको मलको प्रयोग गरी डाभरसिटि व्लकमा स्थानीय जातका धानको खेतीलाई निरन्तरता दिँदै आएका छन्। प्रतिवर्ष लोपोन्मुख अवस्थामा पुगेका धानको खेती गरी धान संरक्षणमा टेवा पुर्‍याउँदै आएको छ।

बीउ संरक्षणको कार्य हुदै आएकाले लोपहुदै गएका प्रजातीको संरक्षणमा टेवा पुगेको स्थानीय किसान रामप्यारा चौधरीले बताए। यस वर्ष स्थानीय जातको धानको बीउ ५० क्विन्टल बढी उत्पादन भएको छ। बजारको दर रेटभन्दा १० देखि १५ रुपैयाँ सस्तोमा धानका बीउ किसानलाई बिक्रि हुँदै आएको छ।

'स्थानीय धानको बीउ मात्रै बिक्री गर्दैनौँ' सहकारीकाका पदाधिकारी आशाराम चौधरीले भने, ‘स्थानीय जातका धानमा विकासे धानको क्रसिङ गरेर नयाँ धानका प्रजातीको विकासमासमेत लागेका छौँ।’ सुख्खा सहन सक्ने र कम मलमै बढी प्रतिफल दिने धानका प्रजातीको विकासमा लागेको उनले बताए। स्थानीय जातका धानको खेती गर्न र भण्डारण गर्न निकै चुनौती रहेको सहकारीमा आवद्ध सदस्यहरूको भनाई रहेको छ।

बीउलाई किरा र ढुसीबाट जोगाउनका लागि जैविक विषादीको प्रयोग गरी टिनको भकारीमा भण्डारण गरिदै आएको छ। शंकरपुर, देखतभूली, बेलौरी नगरपालीका, रामपुर विलासिपुर र कृष्णपुर क्षेत्रका एक हजार बढी किसानहरूले बीउ बैंकबाट बीउ खरिद गरेर खेतमा लगाउने गरेका छन्।

गाँउबाटै किसानहरूले बीउ पाउने भएकाले समयको बचत, पैसाको बचत हुने गरेको छ। बीउ बैंकका लागि उत्पादन अनुरूपको भण्डारण गृह, कृषि औजार, बीउ भण्डारण सामग्री र कर्मचारीको तलवको व्यवस्थाको माग बीउ बैंक सञ्चालन गर्दै आएको सहकारीका पदाधिकारीले गरेका छन्।

गैरसरकारी संस्थाको सहयोगमा विस २०६४ सालमा स्थापना गरिएको बीउ बैंक जिल्ला कृषि विकास कार्यालय र दातृ नियकाको सहयोगमा सञ्चालन हुँदै आएको थियो। सहकारी गठनपछि सबै निकायले सहयोग उपलब्ध गराउन बन्द गरेपछि बैंक सञ्चालन गर्न अप्ठेरो परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.