|

वीरगन्ज : मध्य तराईमा केही दिनयता बढेको असाध्य गर्मीका कारण विद्यालय जाने बालबालिका बेहोस हुन थालेपछि पर्साका अधिकांश शैक्षिक संस्थाहरू मंगलबारबाट बन्द भएका छन्। सोमबार एकै दिन जिल्लाका दुई नगरपालिकाहरूले एक हप्ताका लागि शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेसँगै मंगलबारबाट अरू पनि स्थानीय तहहरूले बन्द गर्ने निर्णय गर्दा जिल्लाका अधिकांश शैक्षिक संस्था  अबको एक हप्ता बन्द हुने भएका हुन्। वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिकाले जिल्लाको नै अगुवाई गर्ने खालका स्थानीय तह भएकोले अरू स्थानीय तहहरू पनि उनीहरूको सिको गरी धेरै काम गर्ने गर्दछन्।  

गएका पाँच छ दिन यता ४३ डिग्रीसम्म तामक्रम पुग्न थालेपछि वर्षे विदामा नै कटौति हुनेगरी गर्मी विदा दिइएको वीरगन्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख मन्जुर आलमले बताए। 'महानगरपालिका भित्रका विद्यालयहरू आगामी असार ३ सम्म बन्द हुनेछन्' उनले भने।

गर्मीका कारण विद्यार्थीहरू पढ्न रुची नदेखाउने, घर र्फकने समयमा घाम चर्किने भएकोले विद्यार्थीहरूमा स्वास्थ्यमा समस्या आउन थालेपछि महानगरपालिकाले यो कदम उठाउन परेको उनको भनाइ छ।  पोखरिया नगरपालिका भित्रका पनि शैक्षिक संस्थाहरू आगामी असार ४ गतेपछि मात्र खुल्ने गरी विदा दिने निर्णय भएको पोखरिया नगरपालिकाका नगर प्रमुख दिप नारायण रौनियार (मन्टु) ले बताए। 

जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरूमा कक्षा कोठामा पंखा लगायतको सुविधा नभएको र नीजि विद्यालयहरूमा पनि कोचेर विद्यार्थीहरू राख्ने गरेको, विद्यालय भवनमा जस्तापाताको छानो भएकोलगायतका कारणहरूलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय लिएको पोखरिया नगरपालिकाका नगर प्रमुख मन्टुको तर्क छ। 

गतवर्षसम्म जिल्लाका विद्यालयहरू बन्द गर्ने या नगर्ने भन्ने विषयमा आफू अग्रसर हुने साविकको जिल्ला शिक्षा कार्यालय हालको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय भने अहिले मुखदर्शक भएको छ। 'सबै अधिकार स्थानीय तहमा गएपछि हामीले के गर्ने भन्ने सवालै भएन। अब स्थानीय तहहरूले नै जे गर्छन् शिक्षा विकास तथा समन्वय इकाईका एक कर्मचारीले नाम उल्लेख नगर्न भन्दै भने। अब हामीले त्यसमा हस्तक्षेप गर्ने कुरै हुँदैन’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.