|

काठमाडौं : गर्मी बढेसँगै काठमाडौं उपत्यकामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ।

केही दिनयता बढेको गर्मीका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

डा. पुनका अनुसार विगत वर्षहरूमा भन्दा यस वर्षको सुरुवाती समयमा नै सर्पदंशका बिरामी बढेका छन्। उनले भने, 'विगतमा यस सिजनमा सामान्यतया दैनिक १० देखि १५ जना सर्पले टोकेका बिरामी आउने गर्थे, यसपालि त दैनिक इमर्जेन्सीमा नै १५ देखि २० बिरामी आएका छन्।'

डा. पुनका अनुसार इमर्जेन्सीबाहेक हाल दैनिक ओपिडीमा १५ जना सर्पदंशका बिरामी आउने गरेका छन्। सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु नपर्ने भए पनि सर्पले टोकेर अलिक गम्भीर खालका बिरामीलाई भने भर्ना नै गरेर उपचार गर्नुपर्ने उनले बताए।

उनले भने, 'तराईका सर्प जस्तो उपत्यकाको सर्प त्यति बिसालु त हुँदैनन् तर जुन बिरामीको रगतमा सर्पको टोकाइबाट अलिक खराबी देखिन्छ, उनीहरूलाई भने १५ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ।'

डा. पुनका अनुसार हाल टेकु अस्पालमा आउने बिरामी विशेषगरी भक्तपुर, ठिमी, ललितपुरका ग्रामीण भेग काभ्रे, सिन्धुपाल्चोक, धादिङलगायतबाट सर्पले टोकेका धेरै बिरामी उपचारका लागि आउने गरेका छन्। सर्पदंशका बिरामी अझ बढ्दै जान सक्नेसमेत उनले बताए। उनले भने, 'हुनत यो सिजन सर्पले टोकेको बिरामीहरू उपचारमा आउने बेला हो तर गएका वर्षहरूमा भन्दा यस वर्षको सुरुवाती समयमा नै सर्पदंशका बिरामी बढेका छन्। सायल यो जलवायु परिवर्तनको प्रभावले बढ्दै गएको गर्मीले होला।' 

हाल अस्पतालमा ज्वरो, स्क्रब टाइफस, टाइफाइड, झाडापखाला तथा डेँगुका बिरामी पनि आउने क्रम बढ्न थालेको र गएका वर्षको तुलनामा यस वर्ष टाइफाइड तथा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउनेको संख्या धेरै रहेको डा. पुनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.