आयमा प्रदेश ७, जिडिपीमा प्रदेश ६ कमजोर

|

काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रदेशअनुसारको नेपालको आर्थिक स्थिति सार्वजनिक गरेको छ। प्रदेशको कुल गार्हस्थ उत्पादन, प्रति व्यक्ति आय, रोजगारीको अवस्थालगायतका विषयमा तयार पारेको तथ्यांक सार्वजनिक गरेको हो। 

तथ्यांकअनुसार प्रति व्यक्ति आय र कुल गार्हस्थ उत्पादन दुवैमा प्रदेश ३ सबैभन्दा माथि छ। कुल गार्हस्थ उत्पादनमा प्रदेशगत अंशको अन्तर ठूलो रहेको दोखिएको छ।

प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशभन्दा सबल रहेको देखिएको छ। यस प्रदेशले कुल गार्हस्थ उत्पादनमा ३१.९ प्रतिशत हिस्सा ओगटेको देखिन्छ, जसअनुसार ३० खर्ब ७२ करोड रुपैयाँको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा प्रदेश ३ को जिडिपी नौ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ। दोस्रो ठूलो योगदान गर्नेमा प्रदेश १, तेस्रोमा प्रदेश २, चौथोमा प्रदेश ५ र पाँचौँमा प्रदेश ४ रहेका छन्।

यी प्रदेशको क्रमश: पाँच खर्ब २५ अर्ब, चार खर्ब ८८ अर्ब, चार खर्ब चार अर्ब र तीन खर्ब १५ अर्ब रुपैयाँको जिडिपी रहेको छ। त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा प्रदेश ७ को ६.३ प्रतिशत अर्थात् एक खर्ब ९० अर्ब रुपैयाँको जिडिपी र कर्णाली प्रदेशले सबैभन्दा कम ४.१ प्रतिशत हिस्सा अर्थात् एक खर्ब २४ अर्ब रुपैयाँको जिडिपी रहेको छ। 

उद्योग र सेवा क्षेत्रहरूमा समेत प्रदेशगत योगदानको अन्तर व्यापक रहेको देखिन्छ। कृषि क्षेत्रमा प्रदेश १ सबैभन्दा बलियो छ। समग्र कृषि क्षेत्रमा उक्त प्रदेशको अंश २१.५ प्रतिशत छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा न्यून ६.० प्रतिशत छ। उद्योग क्षेत्रमा प्रदेश ३ सबैभन्दा माथि रहेको छ। उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा उक्त प्रदेशको अंश ३१ प्रतिशत छ। उद्योग क्षेत्रमा कर्णाली प्रदेश र प्रदेश ७ अत्यन्त कमजोर देखिएका छन्। 

उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा प्रदेश ७ को अंश ३.९ प्रतिशत र कर्णाली प्रदेशको अंश ३.३ प्रतिशत रहेको छ। प्रति व्यक्ति आयको हिसाबले पनि प्रदेश ३ को एक हजार ५३४ डलर रहेको छ भने दोस्रोमा प्रदेश १ एक हजार २४, तेस्रोमा प्रदेश ४ एक हजार २१, चौथोमा प्रदेश ५ को ८६८ डलर प्रति व्यक्ति आय रहेको छ।

त्यस्तै, प्रदेश २ को प्रति व्यक्ति आय ७९९, प्रदेश ६ को ६७७ र प्रदेश ७ को ६६० डलर प्रति व्यक्ति आय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.