|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समग्र शैक्षिक सुधारका लागि मन्त्रीस्तरीय निर्णयबाट पाँचवटा विभिन्न निर्णय गरेको छ।

देश संघीय स्वरूपमा गइसकेको अवस्थामा संघीयताअनुसार शिक्षाको पुनर्स‌ंरचनाका लागि भन्दै मन्त्री पोखरेलले सुधारको निर्णय गरेका हुन्।

आज मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सुधार गरिएको शैक्षिक कार्यक्रमअनुसार चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा संचालन गर्ने भएको छ। विश्वविद्यालय तथा प्रतिष्ठानहरूले छुट्टाछुट्टै परीक्षा लिने र नतिजा प्रकाशन गर्दा समस्या आएको भन्दै एकीकृत परीक्षा लिने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ अनुसार चिकित्सा शिक्षाको शैक्षिक सत्र, परीक्षा र भर्ना प्रक्रियामा एकरूपता ल्याउन यस्तो निर्णय गरिएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओली तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सल्लाहबमोजिम चिकित्सा शिक्षाको प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा, नतिजा प्रकाशनलगायतका कार्यहरू एकसाथ गर्ने गरी एउटै क्यालेण्डर लागू गर्न आयोगबाट अन्तिम टुंगो लगाउने गरी निर्णय भएको छ।

यस्तै,  चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) संचालन गर्ने निर्णयका लागि प्रक्रिया अघि बढाइएको छ। यस कार्यका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा संचालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा. जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा छ सदस्यीय परीक्षा संचालन तथा व्यवस्थापन समिति गठन भएको छ। यसका सदस्यहरूमा  प्रा. डा. सिर्जना श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंजका परीक्षा प्रमुख, काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका परीक्षा प्रमुख, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका परीक्षा प्रमुखलाई सदस्य तोकिएको छ भने चिकित्सा शिक्षा आयोगका उपसचिव तुलसीप्रसाद आचार्यलाई सदस्य सचिव तोकिएको छ।

यस्तै, विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा उच्च शिक्षा संस्था संचालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ (संशोधनसहित)को समसामयिक परिमार्जन गरिनेसमेत बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.