|

दाङ : बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सडक अनुशासनमा सरोकारवालाहरूले जोड दिएका छन्। प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले मंगलवार आयोजना गरेको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता साथै सवारी दुर्घटना न्यूनीकरण विषयक कार्यक्रममा बोल्ने वक्ताहरूले सडक अनुशासन र ट्राफिक नियमको अक्षरस पालना गर्नुपर्नेमा जोड दिएका हुन्।

अन्य जिल्लाको तुलनामा दाङमा अत्याधिक सवारी दुर्घटना हुने गरेको भन्दै सरोकारवालाहरूले सबै पक्षले ट्राफिक नियमको पालना गर्दै सडक अनुशासन कायम राख्नुपर्ने बताए। प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डिआइजी शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरका न्यायाधीश महेश शर्मा पौडेलले कानुन कार्यान्वयन र ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटना रोकिने बताए।

त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको अक्षरस पालना हुनुपर्ने बताए। नियम पालनामा चालक नै बढी जिम्मेवार हुनुपर्ने भन्दै चालक र यातायात व्यवसायीहरूले नै अन्यलाई पनि सिकाउनु पर्ने र राज्यका निकायहरूले सडकलाई भरपर्दो बनाउनु पर्नेमा जोड दिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बढ्दो सवारी दुर्घटनालाई रोक्न सडक सुधार, चालक र पैदल यात्रुको अनुशासन, गाडीको अवस्था ठीक हुनु पर्नेमा जोड दिए।

कार्यक्रममा डिआइजी बस्नेतले भएका स्रोत साधन र जनशक्तिलाई अधिकतम प्रयोग गर्दै सडक अनुशासन कायम गर्न आफुहरू सक्रिय रहेको बताए। साथै उनले मातहतका प्रहरीहरूलाई ट्राफिक नियमको कडाईका साथ पालना गर्न निर्देशन समेत दिए।

सम्मेलनमा पाँच प्रदेशका १२ जिल्लाका अधिकृत तहका करिब २०० बढि प्रहरीको सहभागिता रहेको थियो। तुलसीपुर बसपार्क पिपल बोट नेर एकतर्फी सडक (वान वे) छ। बसपार्क क्षेत्रमा सवारीको चाप अत्यधिक हुदा दुर्घटना हुन सक्ने भन्दै वान वे गराईएको हो।

उक्त ट्राफिक नियम पालन नगर्नेलाई कानुनी दायरामा ल्याउन पिपल बोट नेर ट्राफिक प्रहरी बस्ने ब्यबस्था पनि गरिएको छ। तर त्यहाँ प्रायः ट्राफिक प्रहरी बस्ने गरेका छैनन्। जसले गर्दा ट्राफिक नियम उललंघन भइरहेको हुन्छ भने दुर्घटनाको पनि जोखिम उत्तिकै हुन्छ।  ट्राफिक प्रहरीको संख्या थोरै भएकाले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले प्रतिक्रिया दिँदै आएको छ। त्यहाँ मात्रै हाेइन अहिले समग्र प्रदेश ५ मा नै ट्राफिक प्रहरीको संख्या कमी छ। जसले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको प्रदेश ५ का प्रहरी अतिरिक्त महानिरीक्षक शेर बहादुर बस्नेतले बताए।

प्रहरी नायव निरीक्षक भुवनेश्व तिवारीका अनुसार प्रदेश ५ मा आठ हजार दुई किलोमिटर सडक छ। सोही सडकमा एक लाख ९९ हजार २६४ सवारी साधनहरू चलिरहेका छन्। डिएसपी तिवारीका अनुसार उक्त सडकमा ४४९ जना ट्राफिक प्रहरी मात्रै कार्यरत छन्। एउटा ट्राफिक बराबर १७.८२ किलोमिटर सडकको हेर्नुपर्ने बाध्यता छ भने ४४४ सवारी साधनको निगरानी गर्नुपर्ने बाध्यता रहेको उनले बताए। जसले गर्दा सवारी दुर्घटना बढि रहेको उनले बताए। उनका अनुसार प्रदेश ५ मा  आर्थिक वर्ष २०७२/०७३ मा ८०१ वटा सवारी दुर्घटना भएका छन्। जसबाट आर्थिक वर्ष २०७२/०७३ मा ५२८ जनाको मृत्यु भएको छ भने ७४४ जना गम्भीर घाइते, ६२७ जना सामान्य घाइत भएका छ।

त्यस्तै २०७३/०७४ मा ७ सय ५० वटा सवारी दुर्घटना भएका छन्। जसबाट ५४२ जनाको मृत्यु भएको छ भने ६८० जना गम्भीर घाइते, ४३२ जना सामान्य घाइते भएका थिए।  त्यस्तै चालु आर्थिक वर्षको अहिलेसम्म ७२७ सवारी दुर्घटना भएका छन्। जसबाट ४८० को मृत्यु भएको छ भने ४१९ जना गम्भीर घाइते, ४ सय ३२ जना सामान्य घाइते भएका छन्।

दैनिक १.४६ जना दरले मृत्यु हुने गरेको डिएसपी तिवारीले बताए। उनका अनुसार सबैभन्दा बढि दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म बढि सवारी दुर्घटना हुने गरेको छ। प्रदेश ५ का प्रहरी प्रमुख बस्नेतका अनुसार चालकको लापरबाहीका कारण बढि सवारी दुर्घटना हुने गरेको बताए।

साथै तीब्र गति, ओभरलोड, मापसे गरेर सवारी चलाउनु, जीर्ण सडक, साघुरो सडक, हेडलाईड नबाल्ने, सडकमा निर्माण सामग्री राख्नु, पैदल यात्रुको लापरबाही, जेब्रा क्रसिङको समस्या, सडकमा यात्रु प्रतिक्षालय नहुँनु, सवारीको अवस्था जाँच नगर्नु, झुण्डिएर यात्रा गर्नेजस्ता कारणले सवारी दुर्घटना बढिरहेको उनले बताए।

मंगलबार तुलसीपुरमा भएको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिबृद्धि साथै सवारी दुर्घटना न्यूनीकरण विषयक एक दिवसिय कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.