|

काठमाडौं : बुधबार साँझको ६ बजेको थियो। हामी काठमाडौंको केन्द्रविन्दु रत्नपार्क पुगेका पुग्यौँ। रत्नपार्क क्षेत्र उपत्यकाको व्यस्त ठाउँमध्येकै एक हो। त्यसैले होला मानिसको चलपहल बाक्लै थियो। कोही अफिसको काम सकेर फर्किएका हुनुपर्छ, कोही किनमेल गरेर। गन्तव्‍य सबैको एउटै थियो, समयमै आरामसँग घर वा डेरा फर्किनु। तर, त्यो उपत्यकावासीका लागि केही समययता युद्ध जित्नुसरह छ।

पहिला-पहिला ठेलमठेल गरी सार्वजनिक सवारी चढेर घर फर्कंदा सकस गरेर फर्कनुपर्ने अवस्था थियो। तर, आजभोलि भने गाडी चढ्न लाइनमा बसेर चढ्नुपर्ने नियम भएर केही सजिलो भएको छ। यसरी लाइनमा बसेर चढ्नुपर्ने नियम ट्राफिक प्रहरीले बनाइदिएको हो। प्रहरीले एकपटक बनाइदिएको नियम अहिले भने यात्रु आफैँले पालना गरेर लाइन बस्ने गरेका छन्।

यातायात क्षेत्रमा देखिएको सेन्डिकेट प्रथाले यात्रु मर्कामा परेको भन्दै सरकारले यसको अन्त्यको घोषणा गरेको थियो। सरकार र यातायात व्यावसायीबीचको लामो रस्साकस्सीपछि वैशाख २४ गते सरकारले यातायात क्षेत्रमा हुने सम्पूर्ण सिन्डिकेट अन्त्यको घोषणा गरेको हो।

सिन्डिकेट हटे पनि यात्रुलाई उत्तिकै सास्ती

सरकारको सिन्डिकेट अन्त्यको घोषणासँगै सबै यातायात समिति कम्पनी शैलीमा जाने र यात्रुलाई सहज हुने बताइएको थियो, तर त्यसको अनुभूति यात्रुले भने गरेका छैनन्। रत्नपार्कबाट चल्ने माइक्रोमध्ये सबैभन्दा बढी भिड हुने गोंगबु हुँदै भत्केको पुल जाने माइक्रोको लाइनमा बसेका थिए दमौलीका राजु गुरुङ।

उनी एक कार्यक्रमको लागि दमौलीबाट काठमाडौं आएका थिए। कार्यक्रम सकेर आफन्तको घर भत्केको पुल जान खोजेका उनी एक घन्टासम्म लाइनमै बसेका रहेछन्। हामीले तिनै गुरुङलाई लाइनमा बस्दाको अनुभूति कस्तो हुन्छ? भनेर प्रश्न गर्दा उनले भने, ‘यस्तो गर्मीमा लाइनमा बस्दाको पीडा भनी साध्य छैन।' उनले थपे, 'सरकारले सिन्डिकेट अन्त्य भएको घोषणा त गर्‍यो, तर यो व्यावहारिक नै भएन सबै उही साना गाडीहरू छन्, कुनै ठूला बसहरू चलेका छैनन् उपत्यकाभित्र मात्र होइन बाहिर जाने यात्रुहरूलाई समेत यस्तै समस्या छ।

त्यही लाइनमा बसेका अर्का थिए रमेश अधिकारी उनको घर सिन्धुली हो। अहिले सामाखुशी बस्दै आएका रहेछन्। उनी पनि डेरा जान लाइनमा बसेको आदि घण्टाभन्दा बढी भइसकेको थियो। 'लाइनमा बसेको आधा घण्टा भयो, गाडी आउँदैन सधैँ डेरा जाँदा  र आउदा यस्तै दु:ख छ' उनले दुखेसो सुनाए।

'सिन्डिकेट हट्यो भन्छन् अवस्था उस्तै छ। माइक्रोभित्र त्यस्तै अटसमटस गरेर बस्नुपर्छ। बाटोभरी ओर्लिने र चढ्ने उस्तै हुन्छन्। सिन्डिकेट हटेर के फरक छ र हामी त उस्तै देख्छौँ,’ अधिकारीले भने।

रमेश र राजु प्रतिनिधिपात्र हुन्, रत्नपार्क भृकुटीमण्डप, माइतीघर, नयाँबानेश्वर, कोटेश्वर,लगनखेल चक्रपथबाहिर चल्ने साना ठूला सवारीसाधनको यात्रा गर्ने सबैजसो यात्रुको हालत यस्तै हो। सधैँ भिड भाडमै यात्रा गर्नुपर्ने बाध्याता छ। सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरे पनि आम जनताले भने त्यसको अनुभूति गर्न पाएका छैनन्। 

 

आजको भोलि नै समस्या समाधान हुँदैन : विभाग 

यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्याल भने सिन्डिकेटसम्बन्धी विभिन्न समस्य समाधान गर्न यातायात मन्त्रालयले जेठ १७ गते कार्यदल बनाएको बताउँछन्। कार्यदलले ३० दिनभित्र प्रतिवेदन पेस गरेपछि विभागले थप कार्ययोजना सार्वजनिक गर्ने उनको भनाइ छ।

यात्रुले अनुभूति हुने गरेर आफूहरू यातायात क्षेत्रमा भएको समस्या समाधान गर्न लागिपरेको उनले बताए। उनले भने, 'सिन्डिकेट अन्त्यपछि ३०० सयभन्दा बढी यातायात व्यवसायीले रुट दर्ता गरेका छन्। उपत्यकामा बढी चाप हुने यात्रुलाई मध्यनजर गरेर केही ठूला बसहरू चलाएका छौँ आजको भोलि नै समस्या समाधान हुने भन्ने हुँदैन समाधानका लागि सुरु गरेको दुई महिना भएको छ।' उनले थपे, 'यातायात विभाग एक्लैले गर्न सम्भव पनि छैन सबै निकायले साथ दिए भने केही समयभित्रै परिवर्तन भएको अनुभूति गराउने गरी यातायत व्यवस्था विभाग लागेको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.