|
सभामुख र उपसभामुख

काठमाडौं : प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख र उपसभामुखको विषयमा बहस भएको छ। विशेष समय र विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव पेश गर्न छलफलमा सहमागी भएका सांसदहरूले सभामुख र उपसभामुख पदबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच बहस भएको हो। यसै विषयमा कतिपय सांसदहरू भने भनाभनमा नै उत्रिएका छन्।

तत्कालिन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णबहादुर महरा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए भने तत्कालिन नेकपा एमालेबाट डा. शिवमाया तुम्बाहाङ्फे कांग्रेसबाट उपसभामुख प्रत्यासी बनेकी पुष्पा भुसाललाई पराजित गरेर निर्वाचित भएकी थिइन्। एमाले र माओवादी जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कांग्रेसले संविधानमा व्यवस्था भएअनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुनुनपर्ने भन्दै एकजनाको राजीनामा माग गर्दै आएको छ। कांग्रेस नेताहरूले सार्वजनिक कार्यक्रमहरूमा पनि यो विषयमा अभिव्यक्ति दिइरहेका छन् भने सदनमा पनि यो विषयले प्रवेश पाएको छ। कांग्रेसले हाल सभामुख र उपसभामुखमध्ये एक र राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षमध्ये एकले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख भिन्न दलबाट चयन हुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनल आफ्नो धारणा राख्दैगर्दा सत्तापक्षका सांसद खगराज अधिकारीले आपत्ती जनाएका थिए। त्यसपछि यो विषयमा भनाभन नै भएको छ।

सांसद खाँडले बोल्दै गर्दा सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुखको हैसियत दल विशेषको नभई स्वतन्त्र भएको दाबी गरेका थिए। उनले सभामुख र उपसभामुख निर्वाचन पश्चात नै स्वतन्त्र हैसियतमा रहेको पद भएकाले दलिय बाँडफाँटको कुरा औचित्यहिन भएको बताए। लगत्तै प्रतिवाद गर्न माइक समातेर उभिएका कांग्रेसका सांसद देवप्रकाश तिमिल्सिनालाई भने सभामुखले समय दिएनन्। त्यसपछि बोलेका कांग्रेसका सांसदहरू पार्वता डिसी चौधरी, अतहर कमाल मुसलमान, भरत शाह लगायतले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए, जसको संकेत सभामुख वा उपसभामुख मध्ये एकले राजीनामा दिनु रहेको थियो।

विभिन्न मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्न रोष्टममा पुगेका सांसद अतहर कमाल मुसलमानले संविधान कार्यान्वयको सुरुवात सदनबाट नै हुनुपर्ने भन्दै सभामुख र उपसभामुख पदको सवालमा कांग्रेसका प्रमुख सचेतकले बोल्दै गर्दा सत्ता पक्षबाट सांसहरूबीचमा भनाभन हुने अवस्था श्रृजना हुनु गलत भएको बताए। उनले यस्तै हुने हो भने भोलिका दिनमा सदन संचालन हुन पनि अप्ठ्यारो हुने तर्फ सचेत गराएका थिए। कांग्रेसले उठाएको सवाल पद प्राप्तीको विषय नभएर न्याय र सिद्धान्त तथा संविधान कार्यान्वयनको विषय भएकाले गम्भीरता पुर्वक ग्रहण गर्न सत्तापक्षको ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न सभामुखलाई आग्रह गरेका थिए। उनले आफूले बनाएको नियमलाई गम्भीरतापुर्व कार्यान्वयन गर्न सरकारसँग माग गरेका थिए।

त्यसैगरी सांसद भरतकुमार शाहले उत्कृष्ट प्रजातान्त्रिक मुलुकमा पनि सभामुख र उपसभामुख भिन्न दललाई दिने चलन रहेको भन्दै प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै सांसद प्रकाश रसाईलीले सभामुख र उपसभामुख संविधानले गरेको व्यवस्था अनुसार गर्नुपर्छ भन्दा सांसदहरूप्रति आरोप प्रत्यारोप हुने अवस्था श्रृजना हुनुले राम्रो सन्देश नजाने भन्दै कानुन र संविधानमा उल्लेख भएको प्रावधान कार्यान्वय गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। उनले भने, “संविधान मैले नै बनाएको भन्ने केही नेताहरूले बाहिर गएर प्रतिक्रिया दिनु आपत्तिजनक कुरा हो।  एउटा पदका लागि नेपाली कांग्रेस पार्टी मरिहत्ये गर्ने पार्टी होइन। कुरा कानुन र संविधानको हो।”

सांसद पार्वता डिसी चौधरीले सभामुख भन्दा विधि र पद्धती अनुसार चल्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद देवप्रकाश तिमिल्सिनाले संविधान कार्यान्वयन गर्नुपर्छ भन्दा सत्तापक्षका सांसदले विरोध गरेकोमा आपत्ती जनाउँदै संविधानको अक्षरशः कार्यान्वयन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सभामुख र उपसभामुख कसैले पनि राजीनामा नदिने बताएका छन्। उनले मंगलबार चितवन पुगेर सभामुख र उपसभामुख अहिले कुनै पनि पार्टीमा नभएको र पार्टीमा नभएको व्यक्तिलाई पार्टीमा छ भनेर राजीनामा गर्न भन्नु संविधान र नियमविपरीत हुने बताएका थिए। पढ्नुहोस्, प्रचण्डको भनाइ : 

सम्बन्धित सामाग्री :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.