|

काठमाडौं : सारा विश्वका खेलप्रेमीको ध्यान खिचिसकेको फिफा विश्व कप–२०१८ बिहिबारदेखि रुसमा सुरु हुँदैछ। मस्को लुजनिकी रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ७ बजेदेखि सुरु हुने उद्घाटन समारोहमा बेलायती गायक रोबि विलियम्सले प्रस्तुति दिनेछन् । रुसले यो आयोजना पाउँदा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) भ्रष्टाचार र अनियमितताको आरोपमा फस्दै थियो। जसले यो आयोजनाको जिम्मा पाएको रुसलाई समेत अछुतो राखेन। आर्थिक अनियमितता कै कारण कुनैबेला आयोजना नै गुमाउने अवस्थामा पुगेको रुस यो विश्व कप जसरी पनि सफल बनाउन चाहन्छ। आपूmमाथि लागेका दाग मेटाउन चाहन्छ। आयोजनामा नै बढी ध्यान दिएरै होला रुसले आफ्नो फुटबल टोलीलाई भने बलियो बनाउन सकेन ।

३२ मुलुकका राष्ट्रिय टोलीले उपाधिका लागि ३२ दिनसम्म भिडन्त गर्ने यो विश्व कपको आयोजकको नाताले स्वतः स्थान बनाएको रुस अहिले खेल्ने टोलीहरुको फिफा वरियतामा सबैभन्दा तल्लो स्थानमा छ। तर, यसपालीको विश्व कपमा पहिलो दुई प्रतिद्धन्दिमध्ये साउदी अरेबिया पनि फिफा वरियतामा रुसभन्दा मात्र ३ स्थान माथि छ। अर्थात, यो विश्व कप फिफा वरियतामा दुई कमजोर टोलीबीचको भिडन्तबाट सुरु हुँदैछ। तर, त्यसको अर्थ त्यो भिडन्त हेर्न लायक हुँदैन भन्ने पनि होइन ।

समूह ‘ए’ मा इजिप्ट र उरुग्वे पनि रहेको छन्। त्यसैले रुस र साउदी अरेबिया नै यो विश्व कपको समूह चरणबाट बाहिरिने पहिलो दुई टोली बन्ने सम्भावना पनि बलियो छ। यो प्रतियोगितामा सहभागिता जनाउनु अगाडि नै ति दुईको प्रदर्शन समेत सम्झन लायक रहेन ।

रुस :
खेलेका पछिल्ला ६ खेलमा रुसले मात्र दुई खेल बराबरीमा टुंगायो, बाँकीमा हार व्यहो¥यो। आयोजकको नाताले विश्व कपमा खेल्न पाएको रुसले अन्तिम पटक अक्टोबर २०१७ मा दक्षिण कोरियालाई ४–२ ले हराएको थियो। त्यसपछि रुसले जित आत्मसात गर्न पाएको छैन । 

हुनत, मैत्रीपूर्ण खेलहरुले टोलीको वास्तविकताको चित्रण त गर्दैैन तर, टोलीको आगामी प्रदर्शन कस्तो रहन्छ भन्ने अनुमान गर्न भने सकिन्छ। २०१६ को युरो कप र २०१७ को कन्फेडेरेसन कपमा छनोटसमेत हुन नसकेपछि रुसी टोलीको आगामी प्रदर्शनका बारेमा गरिने अड्कल ठूलोरुपमा फरक नपर्ने पक्का छ। टोलीका प्रशिक्षक स्तानिस्लाभ चर्चेसोभको कार्यकालमा रुसले मात्र २६.३ प्रतिसत खेलमा सफलता पाएको छ। रुसी टोली सम्हालेका विगतका अन्य प्रशिक्षकको तुलनामा उनी इतिहास कै कमजोर प्रशिक्षक समेत बनिसके। घरेलु टोलीलाई यस पटक कसैले बचाउँछ सक्छ भने त्यो उसको स्टार गोलरक्षक इगोर एकिफिंभ मात्रले सक्छन्। तुलनात्मकरुपमा युवा खेलाडीको वर्चश्व रहेको रुसी टोलीमा ३२ वर्षिय गोलरक्षक सबैभन्दा पाका र अनुभवी खेलाडी पनि हुन्। दुर्भाग्य, मांशपेशीको चोटका कारण रुसले अर्का महत्वपूर्ण खेलाडी एलेक्जान्डर कोकोरिनलाई गुमाउने छ । 

सम्भवत् रुसले २०१८ को विश्व कपको समूह चरणमा एउटै पनि खेल नजित्ने आयोजक राष्ट्रको कीर्तिमान भने बनाउँदैन कि ! उसको समूह एसियाली मुलुक साउदी अरेबिया पनि त छ। तर, यो सम्भावनालाई साउदी अरेबिया कायम राखिदिन पनि सक्छ। चर्चेसोभले पछिल्ला खेलहरुमा झैं टोलीलाई ४–२–३–१ को शैलीमा मैदान उतार्ने छन् ।

साउदी अरेयिबा :
विश्व कपको तयारीका आधारमा हेर्ने हो भने साउदी अरेबियाको तयारी पनि रुसको भन्दा कम कमजोर छैन। छनोट चरणमा नै दुई जना प्रशिक्षकलाई जागिरबाट हटाएको साउदीले ७ महिनाअघि मात्र जुआँ एन्टोनियो पिजीलाई प्रशिक्षक नियुक्त गरेको थियो। तर, विश्व कपको पहिलो खेल आयोजक रुससँग खेल्न पाउनु ‘हरिया बाज’ का लागि सुखद संयोग पनि बन्नसक्छ ।

६ वटा तयारी खेलमध्ये दुईमा जित हात पारेको कारण साउदी अरेबियाको अवस्था केही राम्रो पनि देखिन्छ। ग्रीस र अल्जेरियालाई हराउनुले साउदीको मनोबल पनि बढेको छ। पछिल्लो पटक जर्मनीसँग खेलेको मैत्रीपूर्ण खेलमा मात्र २–१ ले हारेको कारण पनि साउदी अरेबिया केही उत्साहित बनेको छ ।
जुआँ एन्टोनियो पिजीले टोलीमा केही परिक्षण पनि गरेका छन्। उनले हरेक मैत्रीपूर्ण खेलमा मुख्य स्ट्राइकर अल साल्हावीलाई बेन्च मै बसाएका छन्। तर, उद्घाटन खेलमा भने उनले त्यो परिक्षण गर्ने छैनन् ।

रुसले साउदी अरेयिबासँग अन्तिम पटक सन् १९९३ मा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा रुस ४–२ ले विजयी बनेको थियो। यो विश्व कपको मैदानमा ओर्लंदा भने केही मात्रामा साउदी अरेबिया बलियो हुनेछ। तर, रुसलाई घरेलु मैदान र दर्शकको समर्थन रहने छ। रुसका लागि सकारात्मक पक्ष भनेकै यही हो। तर, एसियाली दर्शकलाई खुशी पार्न साउदी अरेबियाले रुसलाई स्तब्ध पार्नसक्ने सम्भावना बलियो छ। यसअर्थमा यो विश्व कपमा पहिलो जित हात पार्ने एसियाली मुलुक हुने सम्भावनालाई नकार्न मिल्दैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.