|

दमक (झापा) : बजेट तयार पार्न तोकिएको मिति नजिकिदै गर्दा स्थानीय तहमा योजना तर्जुमाको चटारो छ।  स्थानीय सकारको आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि अहिले टोल टोलमा छलफल चलाइरहेको छ।

गाउँ तथा नगर सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट बनाउन विभिन्न वस्ती र टोलमा पुगेर योजना माग गरिरहेका छन्। प्रमुख-उपप्रमुखहरू बजेट तर्जुमाको समन्वयकारी भूमिकामा छन् भने वडाध्यक्ष तथा वडासदस्यहरू बजेटबारे छलफल चलाउँदै वडा र टोल टोलमा पुगि रहेका छन्।

दमक नगरपालिकाले आगामी असार ५ गतेभित्रमा वडा स्तरबाट योजनाहरू छनौट गरी नगरमा पेस गर्न भनेको छ। सोहिअनुसार हाल विभिन्न टोल र वस्तीहरूमा जनप्रतिनिधिसहितको योजना तथा बहसका बारेमा छलफल भइरहेको उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिइन्। केहि वडाहरूमा छलफल सकिएको र नगरपालिकामा योजना आउने क्रम सुरु भएको उनले बताइन्। नगरपालिकाले आगामी असार ९ गते बजेट तर्जुमा गर्ने तयारी गरेको छ।

यस्तै झापाको कमल गाउँपालिकाका अधिकांश टोल र वस्तीमा अहिले योजना तर्जुमाका लागि छलफल चलिरहेको छ। प्रत्येक वडाका पाँचदेखि सात ठाउँसम्म आगामी बजेटका बारेमा छलफल भइरहेको कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जानकारी दिए। आगामी असार ५ गतेसम्ममा वस्ती भेला सक्ने र वडा तथा वस्तीबाट आएका योजनाहरूको अध्ययन गरी बजेट तयार पारिने उनले बताए। असार दोश्रो साताभित्र बजेट तर्जुमा गर्ने तयारीमा गाउँपालिका जुटेको उनले बताएका छन्।

यस्तै गौरादह नगरपालिकाका जनप्रतिनिधि पनि अहिले टोल र वस्ती भेलामा परिचालित भएका छन्। प्रत्येक वडाका वस्ती तहसम्म पुगेर बजेट तर्जुमाका बारेमा छलफल हुने, वस्तीको आवश्यकताका बारेमा विश्लेषण हुने र ती योजनालाई नगरपालिकाको बजेटमा समावेश गर्ने तयारीमा लागेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए। असारभरिमा टोल र वडाबाट आएका योजनाहरू विश्लेषण गरिने र नगरको बजेट तर्जुमा गरिने उनले बताए। असार दोश्रो साताभित्र गौरादह नगरपालिकाले बजेट ल्याउने तयारी गरेको छ।

 सबैको माग पूर्वाधार

वडा र टोल स्तरमा हुने अधिकांश भेलामा भने स्थानीयले बजेटमा पूर्वाधार निर्माणका योजना समेट्न माग गरेका छन्। सडक स्तरीकरण, ग्राभेल, कालोपत्रे, कल्भर्ट, पुल, बिजुली, खानेपानीलगायतका योजनाहरू बढी माग भएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए। सडक नभएका ठाउँमा सडक निर्माण, भएका ठाउँमा स्तरीकरण र ग्राभेल, ग्राभेल भएका ठाउँमा कालोपत्रे, नदी किनारमा तटबन्धन, बिजुली नभएका ठाउँमा विद्युतीकरण, पुल तथा कल्भर्ट निर्माण जस्ता योजनामा स्थानीयको बढी माग हुने गरेको उनले बताए।

यस्तै दमक नगरपालिकामा पनि धेरैको माग पूर्वाधार तर्फनै देखिएको छ। बाटो कालेपत्रे, स्तरीकरणलगायतका योजनामा स्थानीयको माग हुने भएको भए पनि सबै प्रकारका योजना समेट्ने प्रयास भइरहेको उपप्रमुख अधिकारीले बताइन्। पाँचवटा विषयगत शाखाले शिक्षा, स्वास्थ्य, सुशासन, लक्षित वर्ग, सामाजिक सुरक्षालगायतका क्षेत्रमा पनि आवश्यकताका आधारमा योजना तथा बजेटको प्रकृया चलिरहेको उनले बताइन्।

गौरादह नगरपालिकामा पनि पूर्वाधार निर्माण तर्फनै स्थानीयको माग बढी देखिएको छ। नगरका प्रवक्ता भण्डारीले भने, ‘धेरै जसो टोल तथा वस्ती भेलाहरूमा पूर्वाधार निर्माणलाई समेट्नु पर्‍यो भन्ने स्थानीयको माग छ, हामी सकेसम्म प्राथमिकता निर्धारणसहित ती योजनालाई बजेटमा समावेश गर्ने तर्फ लाग्ने छौँ।’

पर्यटन र कृषि प्राथमिकतामा

झापासँगै जोडिएको इलामको चुलाचुली गाउँपालिकामा भने आगामी वर्षको बजेटमा पर्यटन र कृषिलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन्। गाउँपालिकाले पनि दिगो आम्दानीको आधार पर्यटन र स्थानीयवसीको समृद्धिको आधार कृषि बनाउने भन्दै बजेटमा ती कुराले प्राथमिकता पाउने गाउँपालिका प्रमुख प्रदिपचन्द्र राई बताउँछन्।

‘पूर्वाधार निर्माणको अतिनै बढी आवश्यक छ, गाउँपालिकाको सबै बजेट त्यसैमा हाले पनि पुग्दैन’ उनले भने, ‘तर हामी पूर्वाधार निर्माणसँगै यसपटक कृषि र पर्यटनलाई प्राथमिकता दिएर बजेट बनाउने योजनामा छौँ। पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारसँग पनि सहकार्य गरी ठूला योजनामा ध्यान दिने लक्ष्य छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.