|
फाइल फाेटाे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले मिति सार्वजनिक गरेको हो। 

चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री ओलीले असार ५ देखि १० सम्म छ दिन चीन भ्रमण गर्ने सार्वजनिक गरेको छ। प्रधानमन्त्री ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा चीन जान लागेका हुन्। प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने सदस्यहरूको नाम तय गर्ने गृहकार्य भइरहेको बताइएको छ। हालसम्म प्रधानमन्त्री ओलीसँग चार मन्त्री जाने तय भएको छ। भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नाम तय भएको छ। भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरू र उच्च सरकारी अधिकारी पनि भ्रमण टोलीमा रहनेछन्। निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता भ्रमण टोलीमा रहने बताइएको छ। भ्रमणमा कति जना जाने भन्ने अन्तिम नामावली भने तय भइसकेको छैन। 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता गर्ने बताइएको छ। त्यस्तै प्रधानमन्त्रीले चीनका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ‘वान बेल्ट वान रोड (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, ओलीको भ्रमणका बेलामा दुई देशका हितका विषयका कुराकानी हुने बताइएको छ। नेपाल–चीन पारवहन सम्झौता प्रोटोकलमा हस्ताक्षर हुने बताइएको छ। ओलीको चीन भ्रमणका क्रममा काठमाडौं–रसुवागढी–केरुङ रेलमार्गका विषयमा पनि छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र ल्हासा पुग्ने कार्यक्रम समेत रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.