यसरी गरिनेछ कृषकलाई उत्साहित

|

काठमाडौं : कृषि भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनालले अहिले नेपालको कृषि विकासको लागि निरन्तर सपना देखिरहेको दाबी गरेका छन्। ती सपनालाई केही विश्‍लेषण गरेर पाँच वर्षमा नेपालको कृषि उत्पादन दोब्बर बनाउने योजनाअनुसार सरकारले सार्वजनिक गरेको बजेटमा 'पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाइनेछ' भन्ने शब्द राख्न सफल भएका छन्।

'कृषिको विकासको लागि मैले तीन/चारवटा राम्रै सपना देखेको छु, कति पूरा गर्न सक्छु कति सक्दिनँ' खनालले भने। कृषिको विकासमा कोशेढुंगा सावित गर्ने गरी कृषि भूमिसुधार तथा सहकारी मन्त्रालयले ५८ बुँदे योजना अघि बढाएको छ। आगामी पाँच वर्षभित्र कृषिमा दोब्बर उत्पादन बढाउने लक्ष्य मन्त्रीले बोकेका छन्।

मन्त्री खनालले आफ्नो ५८ बुँदे योजनालाई 'हतारमा ल्याइएको एउटा खाका' भएको बताएका छन्। पाँच वर्षमा दोब्बर कृषि उत्पादन गर्ने विषय आफैँ ढुक्क नभएर पनि केही गरौँ न त भनेर बनाइएको अपूर्ण खाका रहेको स्वीकार गरे।

'दुई/तीन पटक मन्त्री भएकाहरूले आफ्नो अनुभवको आधारमा फटाफट योजना ल्याउनु भयो, मैले यसअघि हरिवोल गजुरेलले केही खाका बनाउनु भएको रहेछ ती खाका हेरेर अनि पहिलेका कृषि बाहेकका मन्त्रालयका केही योजना समेटर ५८ बुँदे ल्याएको हुँ, यो पूर्ण छैन' मन्त्री खनालले भने।

अघि बढ्ने कसरी भन्ने सन्दर्भमा केही लक्ष्य बोकिएको बताएका छन्। 'पाँच वर्षमा कृषिको उत्पादन दोब्बर वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने नीति हामीले ल्याएको हो' खनालले भने 'विगत हेर्दा दोब्बर बनाउन सकिदैन तर पछि सर्न हुँदैन, हैन, सकिदैन भनेर चुप लागे पनि बसिदैन।'

मन्त्री खनालले लक्ष्य बोकेरै अघि बढ्नु परेका कारणले पुग्न नसकिने भए पनि लक्ष्य ठूलै लिनु पर्ने विषयलाई प्राथमिकता दिएका छन्। यसका विषयमा आफूले केही योजना बनाएर अघि बढ्ने तयारीमा जुटेको समेत मन्त्री खनालले बताए। 

यसरी गरिनेछ कृषकलाई उत्साहित

कहिले उत्पादन भएका सामाग्री बिक्री गर्न नपाएको त कहिले मूल्य नपाएको कारण निरास किसानलाई उत्साहित बनाउनका लागि सरकारले एकीकृत नमूना बजार योजना अघि बढाउने तयारी गरेको मन्त्री खनालले बताए। सातै प्रदेशमा यस्ता बजार सञ्‍चालनमा ल्याउनको लागि आठ अर्ब रुपैयाँ खर्च गर्ने तयारीमा मन्त्रालय रहेको छ।

प्रदेश सरकारसँगको समन्वयनमा गराउने यो एकीकृत बजारमा कृषि उपजका विउविजनसहितको खाद्य गोदाम, कोल्ड स्टोर, परीक्षण केन्द्रदेखि लिएर पर्यटकीय क्षेत्रसमेत बन्ने छ।

यो योजना सरकारको दिघकालीन योजनाअन्तर्गत भएता पनि प्रदेश ५ मा भने सुरु गरिहाल्ने तयारीमा रहेको मन्त्री खनाल बताउँछन्। प्रदेश ५ को राजधानी बुटवलमा दुर्इ अर्ब रुपैयाँ खर्चेर एकीकृत नमुना बजार बनाउने योजना छ। यो बजार निर्माण ५० विघा जग्गामा फैलनेछ।

 त्यही बजारमा ट्रकमा सामान ल्याएर बेच्नेदेखि झोलामा सागका मुठा लिएर बेच्ने कृषकले समेत सुविधा पाउने गरी योजना ल्याउने तयारी रहेको मन्त्री खनाल बताउँछन्।

यस्तो बजार बनाउनकै लागि यसै वर्षभित्र विस्तृत आयोजना अध्ययन प्रतिवेदन तयार पार्ने तयारीमा मन्त्रालय छ। प्रदेश सरकारसँगको समन्वयनमा गराउने यो एकीकृत बजारमा कृषि उपजका बीउविजनसहितको खाद्य गोदाम, कोल्ड स्टोर, परीक्षण केन्द्रदेखि लिएर पर्यटकीय क्षेत्रसमेत बन्नेछ। यसको लागि सरकारले दुई अर्ब लगानी गर्ने तयारीमा रहेको छ।

‘एकीकृत बजार व्यवस्थापनलाई रुपन्देही जिल्ला छनोट गरिएको छ' मन्त्री खनालले भने। एकीकृत बजारमा झण्डै एक लाख मेट्रिक टन विभिन्न कृषि उपजका विउविजनसहितको खाद्य गोदाम, सबै प्रकारका आधुनिक मेसि सहितको प्रगोशाला निर्माण यही बजारभित्र रहने छ। त्यस्तै ५० हजार मेट्रिक टनसम्मको कोल्ड स्टोर पनि यहीँ रहने हुनाले यो बजारमा कुनै पनि किसिमको अभाव नहुने मन्त्री खनाल बताउँछन्।

यही बजारबाट कृषिमा बिचौलिया हटाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा रहेको छ। सरकारले बनाउने कोल्ड स्टोरमा कृषकले आफ्नो उपजको मूल्य नपाएको खण्डमा सरकारले न्यूनतम मूल्य निर्धारण गरी सामान खरिद गर्ने योजना रहेको छ।

बिहान पाँच बजेदेखि बेलुका छ बजेसम्म कृषि सामाग्री बजारमा ल्याउनको लागि सरकारले कृषि करिडोर प्रयोगमा ल्याउने छ। त्यस्तै बजारभित्र उत्पादक र वितरण सहकारी सञ्‍चालन गरी तिनै सहकारीमार्फत कारोबार गर्ने र बिचौलियका आवश्‍यकता हट्ने मन्त्री खनालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.