बाबुराम भन्छन् : बिउ रोप्दा भुस परेछ, उत्पादन दिएन

|

काठमाडौं : २०७२ सालमा नेपालको संविधान जारी भएपछि देशमा अब समृद्धि आवश्यक छ भन्दै तत्कालीन एनेकपा माओवादीबाट डा. बाबुराम भट्टराई अलग्गिए। पार्टीबाट अलग्गिएसँगै सांसद पद पनि परित्याग गरे उनले।

समृद्धिको सपना बोकेर अघि बढेका भट्टराईलाई अन्य माओवादी नेताले पनि साथ दिए। बाबुरामको व्यक्तित्व र सोच देखेर अन्य बुद्धिजीवी पनि उनलाई साथ दिन तयार भए। त्यसपछि करिब १० महिनाको प्रयासमा २०७३ असार ३० मा घोषणा भयो- नयाँ शक्ति पार्टी नेपाल। घोषणाताका देशमा समृद्धिका लागि उनले निकै धेरै आधार प्रस्तुत गरेका थिए। त्यसबेला उनलाई धेरै कार्यकताले विश्वास गर्दै साथ दिएका थिए।

प्रधानमन्त्री भएका बेला केही कामबाट लोकप्रिय बनेका उनलाई जनताले निकै विश्वास गरे तर जनताको विश्वास धेर टिक्न सकेन। गत वर्ष भएको निर्वाचनमा उनको पार्टीलाई जनताले सोचेजस्तो मत दिएनन्। नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय दलका लागि आवश्यक पर्ने समानुपातिकतर्फको तीन प्रतिशत मत पनि ल्याएन। यसको परिणाम थियो- पार्टी बनेको दुई वर्ष पुग्न नपाउँदै पार्टी फुट्न सुरु हुनु।

उनको पार्टीमा पूर्वमाओवादी, सरकारी सेवाबाट निवृत्त कर्मचारी, विभिन्न विषयविज्ञ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्रमा क्रियाशील व्यक्तिको आकर्षण थियो तर त्यो धेरै समय टिक्न सकेन। कम्युनिस्ट र गैरकम्युनिस्ट मिलेर बनेको पार्टीभित्र अन्तरविरोध सुरु भएपछि बाबुरामका विश्वासपात्र मानिएका नै पार्टीबाट अलग भए। समृद्धिबाहेकका केही विशेष योजना भएका कारण पार्टीबाट केही नेता अलग भए। चर्चामा रहेका केही नेता अलग भएपछि बाबुरामलाई संकट पर्‍यो।

जसरी हल्ला भएर पार्टी स्थापना भएको थियो, त्यसरी काम गर्न नसक्दा बाबुराम क्रमश: एक्लिँदै गए। यसअघिका संघर्षमा भाग लिएर चर्चामा आएका नेता अहिले बाबुरामसँग छैनन्। तामझामका साथ स्थापना भएको पार्टी क्रमश: सुस्ताउँदै गयो।

बाबुरामलाई साथ छाड्नेमा पहिलो बने, वाम बुद्धिजीवी मुमाराम खनाल। त्यसपछि पूर्वअर्थसचिव रामेश्वर खनालले पनि पार्टी छाडे। त्यस्तै पार्टीबाट र बाबुरामबाट केही आशा गरेर पार्टीमा आएका पूर्वडिआइजी गणेश राईले एक वर्ष नबित्दै पार्टी छाड्ने घोषणा गरे।

त्यसपछि गत वर्ष पार्टीका नेता देवेन्द्र पौडेल केही नेतासँगै पुनः माओवादीमै फर्किए। बाबुरामका विश्वासपात्र मानिएका उनले पार्टी छाडेपछि बाबुरामलाई संकट पर्‍यो। त्यसपछि पार्टी नेता रामचन्द्र झा र रामकुमार शर्माले पार्टी छाड्दै माओवादीमा फर्कने घोषणा गरे। बाबुरामको कार्यशैलीप्रति असन्तुष्टि देखाउँदै पार्टीका प्रवक्ता खिमलाल देवकोटा पनि पार्टीमा निष्क्रिय रहे। पछि उनी माओवादीमा फर्किए।

बाबुराम भन्छन् : बिउ रोप्दा भुस परेछ, उत्पादन दिएन

एक समय नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेको लर्को थियो। तत्कालीन माओवादीभित्र डा. भट्टराई पक्षका केही नेताहरू पार्टी छाडेर बाबुरामतर्फ गए तर पछि फेरि उनीहरू पार्टीबाट अलग रहे। ती नेता तथा कार्यकर्तालाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराईले ‘भुस’को संज्ञा दिए।

पार्टी स्थापनाताका पार्टीमा रहेका र पछि पार्टी छाडेकाहरू पार्टीमा नरहे पनि केही फरक नपर्ने पार्टी स्थापनाको दोस्रो वर्षमा भएको कार्यक्रमा उनले बताए। उनले भने, ‘हामीले सकेसम्म निफनेर, छिमोलेर राम्रो बिउ रोप्ने हो तर केही मरेका बिउ, भुस पनि परेछन्। उत्पादन दिन सकेन। तर हामी जति छौँ, त्यति दुई वर्षको बिरुवा भएका छौँ।’

उनले आफूलाई छाडेर गएका नेता सुरुमा आफ्नो ‘ब्राण्ड’ देखेर पार्टीमा आएको आरोप पनि लगाए। उनले भने, ‘केही नेताहरू बाबुरामको ब्राण्ड छ, छिट्टो अवसर पाइन्छ भनेर आउनुभयो तर हामी सत्तामा लिप्त नभएपछि उहाँहरू जानुभयो। यो सामान्य हो।’

रूपान्तरणका लागि राजनीति र सत्ताको लागि राजनीति दुई प्रकारका राजनीति हुने बताउँदै उनले आफूहरूले सत्ताको राजनीति नगर्ने बताए। उनले भने, ‘हामी कहिल्यै सत्ताको राजनीति गर्दैर्नाैं। हुनत हामी पनि सत्तामा जान्छौँ तर देशलाई समृद्ध बनाउँछौँ। सत्तामा लिप्त केही साथीहरू झुक्किएर आउनुभएको थियो, पछि जानुभयो।’ उनले कार्यकर्तालाई नआत्तिन आग्रहसमेत गरे।

‘हामी मकै होइनौँ छिटो फल दिन, हामी उन्नत बिरुवा हौँ’

स्थापना दिवसमा भएको कार्यक्रममा डा. भट्टराई नेकपा र कांग्रेसप्रति निकै आक्रोशित देखिन्थे। नयाँ शक्तिले ल्याएको समृद्धिको एजेण्डा विस्तारै स्थापित हुँदै आएको बताउँदै थिए। आफूहरू निर्वाचनमा कमजोर हुनुको कारण पनि उनले खुलाइहाले। विभिन्न षड्यन्त्रका कारण पनि आफूहरू निर्वाचनमा पराजित हुनुपरेको उनको भनाइ थियो। उनले भने, ‘हामीलाई षड्यन्त्र गरेर निर्वाचनमा हाम्रो चुनाव चिह्न पनि पाइएन। त्यसैले अर्काको चिह्नबाट निर्वाचनमा भाग लिनुपर्‍यो।’

तर आफूहरू अहिले पनि कमजोर नरहेको संयोजक डा. भट्टराईले दाबी गरे। ‘हामी सोचेजसरी नै अघि बढिरहेका छौँ’, उनले भने, ‘एकै पटक ह्वात्तै फल दिन हामी मकै होइनौँ। छ महिनामा फल दिनलाई हामी त उन्नत जातको बिरुवा हौँ। बढेर फल दिन समय त लाग्छ नि!’

‘हामीलाई धोका दिए’

२०७४ असोज ७ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दै पार्टी एकता गर्ने सहमति गरे। त्यो सहमतिमा डा. बाबुराम भट्टराई पनि थिए। तर सहमति भएको केही दिन बित्न नपाउँदै भट्टराई गठबन्धनबाट अलग्गिए।

त्यसबेला भट्टराईको निकै आलोचना भयो तर उनले यसको बचाउ गरे। आफूलाई धोका दिएकाले उक्त गठबन्धनमा सहभागी हुन नसकेको उनले बताए। उनले भने, ‘हामीलाई धोका भयो। हामी रूपान्तरणको राजनीति गर्न चाहान्थ्यौँ, उहाँहरू सत्ताको, त्यसैले हामी त्यो गठबन्धनमा बस्न सकेनौँ।’ अब नयाँ शक्ति पार्टी नेपाल केन्द्रमा बसेर विचार मिल्ने पार्टीसँग एकताका लागि पहल सुरु गर्ने डा. भट्टराईको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.