|
फोटोः vibesmag.com.np

काठमाडौं : ‘दशैं नै हो कि यो मेरो दशा फर्की आएको….’ दशैं सुरु भएपछि धेरैका मुखमा गुन्जिने गीत हो यो। योगेश्वर अमात्यले गाएको यो गीतजस्तै अरु पनि गीत छन् जसले दशैं सम्झाउँछन्, दशैं आएको अनुभूति गराउँछन्।  

पुराना गीत त छँदैछन्, दशैंको अवसर पारेर नयाँ गीत ‘रिलिज’ गर्ने होड पनि चल्छ कलाकारबीच। हामी तपाईँलाई दशैंको बारेमा गाइएका केही सदाबहार गीत प्रस्तुत गर्दैछौँ।

१. मौलिक मालश्री

जब दशैं आउँछ रेडियो टेलिभिजनमा मालश्री बज्न थाल्छ। मुख्यतयाः दशैं तिहारमा बजाइने मालश्री खासमा राग हो। यो दशैंमा बज्ने सबैभन्दा चर्चित संगीत हो। मालश्री धनु र यसका प्रकारबारे बीबीसीले दुई वर्षअघि रिपोर्ट बनाएको थियो।  

२. दहीमा टीका…

नमुछे आमा दहीमा टीका नछरे जमरा

दैवले पर्दा उठायो आमा आउँदिन फर्केर

यो गीतमा परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरेका छन्। श्रीमतीलाई आफू मरेपनि नाडीका चूरा नफुटाउन र सिन्दूर नपुछ्न अनुरोध यो गीतमा छ। दशैंको यो सदबहार गीत रचनाको पछाडि छुट्टै कथा छ। चर्चित सर्जक नारायण रायमाझीका दाइ लक्ष्मण रायमाझी भारतीय सेनामा काम गर्थे। उनी सन् १९९९ मा भारत पाकिस्तानबीच भएको ‘कार्गिल युद्ध’ मा पनि लडेका थिए। त्यही बेला उनले त्यो गीत लेखेका थिए। उनले यो गीत रेर्कड गर्न भाइ नारायण रायमाझीलाई पठाएका थिए। नारायण रायमाझीले यो गीतलाई एकसरो लोकभाकाको रुपमा आफ्नै आवाजमा रेकर्ड गरे। सुरुमा त्यति चर्चा नभएको यो गीत पछि दृष्टिविहीन गायक कृष्णभक्त राइले २०५७ सालमा आधुनिक शैलीमा गाएपछि यो गीतले खुबै चर्चा कमायो।*

३. मुगलानको ‘दशैं आयो…’

पिढीँमा बसी, औला भाची, छोराको आउने दिन गन्दैथिन्

दशैंको दिन ती बुढी आमै आइपुग्दा छोरो दंगै छिन्

दशैंका बारेमा लेखिएको यो सदाबहार गीत नेपाली फिल्म ‘मुगलान’ को हो। परदेश गएको छोरा घर आएको,  छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गीतमा छन्। दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापाको अभिनय यो गीतमा छ।

४. दशैं कि दशा?

दशैं नै हो कि यो मेरो दशा फर्की आएको

वचनैपिच्छे किन यो मेरो टाउको खाएको

दशैं आएको… दशैं आएको…

दशैं पर्वमात्र होइन, यसको आफ्नै अर्थिक महत्व पनि छ। त्यसैले त भनिन्छ दशैं आफ्नो गच्छेअनुसार मनाउनुपर्छ।  दशैंमा नयाँ लुगा चाहियो, घर सजावट गर्नैपर्‍यो, खसी र च्यांग्रा ढलाउनैपर्‍यो अनि मान्यजनलाई दानदक्षिणा पनि गर्नैपर्‍यो। योगेश्वर आमात्यले गाएको यो गीत दशैंका यस्तै समस्याका बारेमा छ। आवश्यकता असीमित तर पैसा सीमित। त्यसैले त यो गीतमा घरमुली 'पैसा न सैसा टिकी ट्यास ट्यास!' भन्दै तनाव व्यक्त गर्छन्।

५. नारायणगोपालको ‘विछोडको पीडा…’

विछोडको पीडा नसकी खप्न दशैंको बेलामा

तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

नारायणगोपालको यो सदाबहार दशैं गीतमा एउटा परदेशी घर फर्किने बाचा गर्छ। दशैंको बेलामा परदेशमा रहँदाको पीडा र घर फर्किने उसको चाहना गीतमा पोखिएको छ।

६. फौजीको दशैं….

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार

किन आउँछ दशैं तिहार किन बिदा बार

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार

कर्तव्य नै हाम्रो दशैं कर्तव्य तिहार

सबैले दशैं मनाइरहँदा सेना प्रहरी भने घर जान पाउँदैनन्। तन सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन खटिए पनि मन हुन्छ गाउँघरमा। सशस्त्र प्रहरीका इन्सपेक्टर दीपक कोइरालाले लेखेको यो गीतले यस्तै सुरक्षाकर्मीको कथा बोल्छ। यो गीत सशस्त्र प्रहरीको अडियो भिजुअल सेक्सनले निकालेको हो। गीत भन्छ- हामीलाई दशैं तिहार कहिल्यै आएन। सुरक्षा र सेवा नै हाम्रो कर्तव्य हो। परिवारले घर आउ भनेर पत्र पठाउने र लालाबाला बाटो हेर्ने भएपनि मन बुझाउन भन्नुपर्ने गीतका शब्द छन्। घर आउने झिनो आश राख्न अनुरोध गीतमा छ। जगदीश समालले गाएको गीतमा गैरे सुरेशको संगीत छ। यो गीतको संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका हुन्।  

७. सुनको जलप

यो दशैंमा घर आउने मन थियो
पापी साहुले दिएन तलब….

विष्णु खत्रीको लय, शब्द र स्वरमा रहेको यो गीतमा विदेशमा काम गर्न गएका नेपाली युवाको पीडा पोखिएको छ। दशैंको बेलामा पनि तलब नदिएपछि घर आउन नपाएको युवकको पीडाले गीत भरिएको छ। हात जोडेर तलब माग्दा पनि साहुले उसलाई तलब दिएको छैन। उसकी श्रीमती तलब नभए पनि घर आउ भनेर जोड गर्छिन्। दासको जस्तो जीवन बाँच्नुभन्दा त फाँसी चढाए सुख हुन्थ्यो भन्ने पीडा गीतमा छ।

८. सुगमको गीत चर्चामा

वर्षमा दिनमा लै लै हर्षका दिन यी लै लै

दशैं तिहार चाडबाड खुसीले सारा भर्‍यो नि संसार….

रवि श्रेष्ठको शब्दमा रहेको यो गीत सुगम पोखरेलले गाएका हुन्। सुगमकै अभिनय रहेको यो गीत दशैंका बारेमा गाइएका नयाँ गीत मध्ये चर्चित गीत हो। गीतमा सुगमकै संगीत छ। वर्षमा एक चोटी आउने दशैंले रमाइलो ल्याउने र निधारमा टीका अनि कानमा जमरा भएपनि विदेशमा रहेका नेपालीका आँखामा आँशु हुने कुरा गीतमा छ।

९. दशैं आयो, खाउँला पिउँला…

दशैंका गीतमध्ये यो बालगीत निकै चर्चित छ। बच्चाहरुले गाउँने यो गीतमा चोरेर भए पनि दशैं मनाउँछु भन्नेलाई चोर्नु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ। यो बालगीतबाट प्रभावित भएर अन्य गीत पनि बनेका छन्। शिव थापाको यो गीत तिनै मध्ये एक हो।

१०. जीवनको ‘यसपाला त यस्तै भो आमा…’

जनगायक जीवन शर्माले गाएको ‘यसपाला त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीतमा दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह समेटिएको छ। जीवनलाई धेरै स्टेज कार्यक्रममा यो गीत गाउन आग्रह गरिन्छ। नेपाली एकता समाज युएइले गरेको कार्यक्रममा जीवनले गाएको गीतको भिडियो

र, अन्त्यमा

‘दाइ त मेरो लाहुर जाने, म बैनी त सम्झेरै रोइरहने’ बोलको गीत पनि दशैं तिहारकै बारेमा सम्बन्धित छ। ‘दशैं आउला तिहार आउला निधारमा को टिका लगाउला?...’ गीतमा बहिनीको दाजुलाई प्रश्न छ। ‘दशैं आउँदा तिहार आउँदा घर सम्झि मै फर्की आउँला…’दाजुको जवाफ छ।

तपाईँलाई मन परेका कुनै दशैं गीत यहाँ छुटे कि?

*सुरुमा तथ्य गलत परकोले सच्याइएको। (अपडेटः २०७३ असोज १८ गते, साँझ ६:२४)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • तुलसीजि नम्बर ९ को गित दशै आयो खाउला पिउला शिव थापा मगर को गित भर्खर नै बजार मा आएको गित कसरी पुरानो भयो।यो त नया गित होइन र ? यसरी तपाईं जस्तो ब्यक्ति ले जानी जानी गल्ती गर्नु हुन्छ।भएन नि सर।

  • lokdohori githaru xute jastai ' yo dashaima ma ghar aaen , samjhanalae pathaun kehi paen rumalai xa chino .......