|

प्रदेश ४ मा पर्ने बागलुङ जिल्ला झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ। नेपालको नक्सासँग मिल्दो जिल्लाका रूपमा पनि परिचित छ बागलुङ। यस जिल्लाको क्षेत्रफल ३७.८ वर्ग किलोमिटर छ। 

बागलुङलाई २०५३ माघ १८ मा नगरपालिकाको रूपमा घोषणा गरिएको हो। बागलुङ नगरपालिका धौलागिरीका चारवटै जिल्लामा पहिलो नगरपालिका पनि हो। २०६८ सालको जनगणनाअनुसार बागलुङ नगरपालिकाको जनसंख्या २९ हजार ३६० छ। यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ। यो नगरपालिका समुद्री सतहबाट ८०५ मिटरदेखि करिब दुई हजार १५० मिटरसम्मको उचाइमा अवस्थित छ।

नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा काठेखोला गाउँपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा जैमिनी नगरपालिकासम्म फैलिएको छ। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपा र तत्कालीन एमालेको चुनावी तालमेल भएको बागलुङ नगरपालिकामा तत्कालीन एमालेबाट प्रमुखको रूपमा जनक पौडेल र उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का निर्वाचित भएका थिए। प्रमुख पौडेलसँग थाहाखबरकर्मी संजय रेग्मीले गरेको कुराकानी प्रस्तुत छ।

स्थानीय तह निर्वाचनको एक वर्ष बितिसक्यो, तपाईंको नगरपालिकाका लागि एक वर्ष कस्तो रह्यो?

यो एक वर्षको अवधिलाई मैले सफल वर्षकै रूपमा लिएको छु। निर्वाचन अगाडि जनतालाई जे भनेको थिएँ, त्यो गर्दै गइरहेको छु। नागरिकका अपेक्षालाई पूरा गर्ने प्रयास गरेको छु। यो अवधिमा व्यक्तिगत समस्या पनि आए तर ती सबैलाई चिरेर नगरको विकासका लागि म लागिरहेको छु। नगरको विकास निर्माणका लागि प्राथमिकता निर्धारण गर्ने र सोहीअनुसार विकास निर्माणदेखि अन्य पक्षहरूको काम भइहरहेको छ।

यो एक वर्ष तपाईंलाई सिकाइ, अवसर कि चुनौती रह्यो?

मेरालागि बितेको एक वर्ष सिकाइ, अवसर र चुनौती सबै भयो। अझ विशेषतः मेरालागि गत वर्ष सिकाइ भयो, अन्य धेरैलाई पनि सिकाइ नै भयो भन्ने लाग्छ। यो एक वर्षको अवधिमा विषयवस्तु, योजनाबद्ध विकास, प्रशासनकि सुधार, उत्पादन वृद्धि, रोजगारीका अवसर निर्माणलगायतका सबै पक्षमा सिक्ने अवसर पाइएको छ। अब यही एक वर्षको अनुभवलाई प्रयोग गर्दै र नजानिएका कुरा भएमा फेरि सिक्दै आगामी चार वर्षमा यस नगरपालिकालाई अब्बल बनाउने प्रयास मेरो छ। संघीयताको अभ्यास हामी नेपालीका लागि नयाँ हो, त्यस कारण अन्यत्र जस्तै मेरो पनि एक वर्ष सिक्नमा महत्त्वपूर्ण रह्यो। 

स्थानीय तह सञ्चालनका क्रममा कस्ता खालका नीतिगत र व्यावहारिक समस्या तपाईंले भोग्नुभयो?

धेरै खालका समस्याहरू भोगिने गरेका छन्। सानादेखि ठूला समस्याले टाउको दुखाउँछन्। अहिले व्यावहारिकभन्दा नीतिगत समस्या ठूलो भएको छ, जसले अन्योल बढेको छ। तर अहिलेको बजेटले त्यस्ता समस्या चिर्छ भन्ने विश्वास छ। 

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच काम र अधिकारका विषयमा अझै पनि स्पष्टता छैन। पहिले त सबै सरकारका बीचमा अधिकार बाँडफाँडको स्पष्ट खाका आउनुपर्छ। अझै पनि काठमाडौं जानुपर्ने बाध्यता हट्न सकेको छैन। माथिको संरचनामा नै समस्या छ। संविधानले जति अधिकार दिएको छ, ती सबै अधिकार प्रयोग नै भएका छैनन्। कर्मचारीमा रहेको अधिकार जनप्रतिनिधिमा आउने भनिएको छ तर कर्मचारीका अधिकार उस्तै छन्, जसले जनप्रतिनिधिको अधिकार नै अन्योलमा छ। 

केन्द्रीकृत सोचाइका कारण कार्यालयहरूको अधिकार जनप्रतिनिधिमा आएको छैन। यसका कारण जनप्रतिनिधि र कर्मचारीबीच पनि अधिकारको अन्योल छ। संघीयता आयो कसरी भन्नु? अहिले पनि हटाउने भनिएका कार्यालय र संस्था ब्यूँताउने काम भइरहेको छ। हामीलाई आवश्यक पर्ने स्रोत र साधनको अभाव छ। आवश्यक कर्मचारी नै हामीसँग छैनन्, जसका कारण नगरिकमा जनप्रतिनिधिले काम गरेनन् भन्ने परेको छ। 

निर्वाचनको बेलामा घोषणापत्रमा उल्लेख गरिएका कुराहरू के कति पूरा भए वा हुँदै छन्? 

समग्रमा भन्दा नगरपालिकाभित्र भइरहेका जति पनि काम छन्, ती सबै घोषणापत्रमा नै उल्लेख गरिएअनुसारका छन्। नगरपालिकाका सबै वडामा बाटो पुर्‍याउने भनेका थियौँ, यो काम भएको छ। लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सुचारु गराउने भनेका थियौँ, अहिले जहाज आएको देख्नुभएकै होला। बसपार्क, सिटी हल निर्माणको कार्य टेन्डरमा छ। बजार र ग्रामीण क्षेत्रमा बाटाघाटा र अन्य विभिन्न योजनाहरू लागू भइरहेका छन्। खानेपानीका समस्या पनि निराकरणको मेसोमा छन्। उत्पादन र रोजगारीका विषयमा पनि लागिपरेका छौँ। खेलको विकासका लागि प्रदेशस्तरीय मेयर कप फुटबल नगरपालिकाले नै आयोजना गरेर सम्पन्न भइसकेको छ। घोषणापत्रका धेरै काम गरिएका छन्, अब अझ धेरै गर्न बाँकी छ। 

नागरिकहरूले सिहंदरबारको अधिकार गाउँमा महसुस गर्न पाएका छन् कि छैनन्?

नारामा परिकल्पना गरेको यही हो। अधिकार गाउँमा छ भन्नु कि छैन भन्नु, यो अलि अलमलमा छ। अधिकार गाउँमा आउने अभ्यास भने सुरु भएको छ तर त्यो अधिकार गाउँमा आउन नदिन अड्काउने काम भइरहेको छ। व्यवहारमा परिवर्तन गर्न नै चुनौती भएको छ। 

केन्द्रीकरणको सोच अझै पनि हट्न सकेको छैन। अझै पनि बजेट केन्द्रबाट आउने, सांसदले व्यक्तिगत रूपमा बजेट पाउनुपर्छ भन्दै सिधै पैसाको थैली माग्नेलगायतका काम त भइरहेकै छन् नि! अनि यसरी पनि गाउँमा अधिकार आएको अनुभव होला त? यी र यस्तै कारणले नागरिकहरू निराश छन्। धेरै काम गर्न अझै पनि गाउँका बजारमा, बजारका काठमाडौंमा नगई त भएको छैन नि!

बन्द भएको एयरपोर्ट पनि चलाउन सफल हुनुभयो, यसका लागि तपाईंले खेल्नुभएको भूमिका के हो? 

विमानस्थल सुचारु गर्ने कुरा जनताको चहाना पनि होे अनि घोषणापत्रमा पनि उल्लेख थियो। निजी क्षेत्रका विमान कम्पनीसहित नेपाल वायु सेवा निगममा गएँ। पूर्वसांसदले प्रयास गर्नुभएको थियो तर असफल हुनुभयो। यद्यपि, मैले धेरै ठूलो चुनौती लिएर विमानस्थल सुचारु गराउन सकेँ। 

धेरैले यो काम सम्भव हुँदैन भन्दै हतोत्साही पनि गराउन खोजेकै थिए। तर म यसलाई सफल पार्छु भनेर भोट माग्दा पनि भनेको थिएँ र सफल पनि पारेँ। यसका लागि जोखिम पनि त उठाएँ नि मैले। १० लाख रुपैयाँ धरौटी राख्नुपर्ने, यात्रुको बीमालगायतका धेरै कुरा चुनौतीपूर्ण थिए।

जहाजले यात्रु नपाउँदा रित्तो जहाजलाई पनि नगरपालिकाले नै भाडा दिएर चलाउने निर्णयमा आलोचना पनि त भयो नि! 

अहिलेसम्मको अवस्थामा यातायातको प्रमुख साधन सडक नै हो तर त्योभन्दा हवाई यात्रा कति सुविधाजनक छ, त्यो पनि त बुझ्नुपर्ने हुन्छ। गाडीबाट बिरामी काठमाडौं लैजाँदा १० घण्टा लगाउने कि एक घण्टामा नै लैजाने? अनि पहिले विमान चलेको एयरपोर्टमा पूर्वाधार पनि छन्, तिनलाई नै सदुपयोग गर्न सकिने अवस्था थियो। यस क्षेत्रको पर्यटन विकासका लागि पनि त विमान त अत्यावश्यक होइन र? अनि त्यो बेला २०३६ सालमा विमान चल्ने अनि अहिले यो अवस्थामा चलाउन असम्भव हुने? काम गर्दा आलोचना त हुन्छन्, त्यो ठूलो कुरा होइन। जसले जसरी बुझे पनि विमानस्थल सुचारु गराएको नागरिककै लागि हो नि! एयरपोर्ट चलाएर म मात्रै काठमाडौं–बागलुङ गरेको छु र? 

विकासका लागि वागलुङ नगरपालिकाका सम्भावनाहरू केके देख्नुभएको छ?

व्यावसायिक तथा नगदेबाली उत्पादनलाई प्रोत्सहान गर्दै फलफूल, दूध, मासु, अण्डा, तरकारीलगायतका उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौँ। युवालाई उत्पादनमा जोडेर यहीँ स्वरोजगारको अवस्था सिर्जना गर्नका लागि मिहिनेत गरिरहेका छौँ। 

हामी पुष्पलाल लोकमार्गको केन्द्र भागमा छौँ। भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोर पनि यही बाटो गएको छ। भारतका तीर्थयात्री मुस्ताङ अनि चिनियाँ तीर्थयात्री लुम्बिनी जाने बाटो यही त हो। यो हाम्रा लागि राम्रो अवसर हो। यहाँ हाम स्टेहरू छन्, कालिका भगवती मन्दिर, पञ्चकोट क्षेत्र यही नगरपालिकामा छन् भने देशको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार नै यही नगरपालिका हो। 

कालिका मन्दिर छेउको 'मिनी जु' बनिसकेको छ। मालिकादेखि संसारकोटसम्म दुई हजार हेक्टरमा फलिएको जंगलमा 'जियोलोजिकल जु' बनाउन सम्भाव्यता अध्ययन गरेर अहिले डीपीआरका लागि पहल भइरहेको छ। जियोलोजिकल जुमा जंगलकै बीचमा होटल र रेस्टुरेण्ट चलाएर विदेशी पर्यटकलाई व्यापक रूपमा आकर्षण गर्ने योजना छ। यसबाट नगरपालिकाले राम्रो आय गर्न सक्छ। 

नगरमा ऐतिहासिक महत्त्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट, संसारकोट आदि कोटहरू छन्। त्यस्तै, कालिका भगवतीबाहेक मालिका भगवती मन्दिर क्षेत्र, निराघाट क्षेत्र र कैलाम पोखरी क्षेत्र पनि सम्भावना भएका ठाउँ हुन्। यो नगरपालिका कालीगण्डकी नदी र किनारमा पाइने शालिग्रामले पनि प्रसिद्ध छ। 

नगरपालिकाको काम गर्दा वा विकासमा तपाईंले देख्नुभएका चुनौतीहरू केके हुन्? 

स्रोत र साधनको अभावमा नागरिकले अपेक्षा गरेअनुसरको उपलब्धि दिन नसक्नु नै प्रमुख चुनौती हो। भएकै जनशक्ति परिचालनमा समस्या छ। जनताले नतिजा छिटो खोज्छन् तर त्यसमा दिगोपनको कुरा जोडिन्छ। बलेवा विमानस्थल नै कालोपत्रे छैन, विमानस्थलसम्म जाने बाटो कच्ची छ। विमानस्थलमा अहिले चार प्रकारका विमान मात्र अवतरण गर्न सक्छन्। यसलाई स्तरीकृत गरेर अन्य विमान पनि आउन सक्ने बनाउनु छ। बागलुङ नगरपालिका टाढाटाढा गाउँसम्म छ, अब ती गाउँलाई बजारकै जस्तै समानान्तर विकास गर्न निकै कठिन छ।     

अब चार वर्षका लागि तपाईंले ठ्याक्कै यो गर्छु भनेर तयार पार्नुभएका योजना केके छन्?

पहिलो शिक्षा क्षेत्रमा धेरै परिवर्तन चाहिएको छ। शिक्षामा माग र उत्पादन मिलेको छैन। सामुदायिक विद्यालयलाई पनि स्तरीय बनाएर अंग्रेजी शिक्षाको खोजीमा लागेका विद्यार्थी र अभिभावकलाई सामुदायिक विद्यालयमा जाने बनाउनु छ। विपन्नले पनि अंग्रेजी शिक्षा लिने हो भने सामुदायिक विद्यालयलाई सक्षम र सबल बनाउनै पर्छ। हामीकहाँ आउने ठूलो बजेट शिक्षामा खर्चिनुपरेको छ। नगरपालिकाबासीहरूलाई तालिम वा सीप प्रदान गरेर स्वावलम्बी बनाउनु छ।

स्थानीय स्रोत र साधनको प्रयोग गरी एक गाउँ तीन उत्पादनको योजना निर्माण तयार पारिएको छ। व्यावसायिक तथा नगदेबाली उत्पादनलाई प्रोत्सहान गर्दै फलफूल, दूध, मासु, अण्डा, तरकारीलगायतका उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौँ। युवालाई उत्पादनमा जोडेर यहीँ स्वरोजगार बनाउन मिहिनेत गरिरहेका छौँ। 

फरक राजनीतिक दलका व्यक्तिलाई कसरी व्यवस्थापन गर्नुभएको छ? कि थोरै मत हुनेलाई पेलेरै जाने भन्ने छ?

पेल्ने भन्ने त कुरै भएन नि! हामीले काम गर्दा पनि सबै दलहरूलाई बोलाएर सर्वपक्षीय रूपमा छलफल गरेर योजना बनाएर कार्यान्वयनमा जाने गरेका छौँ। हामीले कसैको महत्त्वलाई कम गराउन खोजेका छैनौँ, जसका कारण सबै राजनीतिक दलका साथीहरूले राम्रो सहकार्य गर्नुभएको छ। निष्पक्ष भएर काम गरेपछि कसैको डर पनि भएन नि! मैले निष्पक्ष भएर काम गर्न सकिनँ भने त अरू दलका साथीहरूले प्रश्न गरिहाल्नुहुन्छ, तर म निष्पक्ष भएँ भने उहाँको समर्थन मलाई हुन्छ। हामीमा राजनीतिक वा अन्य कुनै प्रतिशोध छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.