|

काठमाडौं : नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त ‘अभ्यास सूर्यकिरण—१३’ समापन भएको छ। प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापनसम्बन्धी विषयहरु समावेश गरि भारतको पिथौरागढमा जेठ १६ गतेदेखि सञ्चालन भएको सयुक्त अभ्यास मंगलबार सकिएको हो। भारतको मिजरममा २०६७ सालबाट पहिलोपटक सुरु भएको संयुक्त अभ्यास हाल एक÷एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गरेको नेपाली सेनाले जनाएको छ। 

अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तीलकबहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाका तर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महासेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए। 

नेपाली सेनाका तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रूपमा गएका मध्यपश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्पmबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रूपमा समापन गरेका हुन्। समापन सम्वोधनको क्रममा उनीहरू यस्ता अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्वि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे। साथै अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा अभ्यासमा सहभागी फौजहरूलाई बधाईसमेत दिएका थिए। 

यस संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाबीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान भएको नेपाली सेनाले जनाएको छ। दुई देशका सेनाबीच सम्पन्न सैनिक अभ्यासले सदियौँदेखि कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै द्विपक्षीय सकलदर्जाहरूबीचको समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.