|

काठमाडौं : अछाममा छाउगोठमा बसेको बेला सर्पले टोकेर मृत्यु भएको घटनामा खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएकी छन्। अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँ निवासी १८ वर्षीया किशोरी पार्वती बुढाको छाउगोठमा मृत्यु भएको घटनामा आवश्यक कानुनी कार्वाहीका लागि मन्त्री मगरले प्रधानमन्त्री कार्यालयमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।

खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयलाई औपचारिक पत्र लेख्दै मन्त्री मगरले महिलाको रजस्वाला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्ने गराउन कार्य कानुनले कसुरको रूपमा लिएकोले उक्त घटनामा संवेदनशील भई तत्काल कार्वाहीका लागि अनुरोध गर्नु भएको छ।

पत्रमा उल्लेख छ, 'संवैधानिक र कानूनी व्यवस्थाको विपरित अमानवीय ढंगबाट धार्मिक, सामाजिक, सांस्कृति परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा महिलाको रजस्वाला सुत्केरीको अवस्थामा छाउपडीमा राख्न प्रयोग हुने छाउगोठहरू तत्काल भत्काउन स्थानीय प्रशासनलाई निदेर्शन दिन र मृत्यु भएको घटना सम्बन्धमा आवश्यक छानबीन गरी कानुनी प्रक्रिया बढाउन आवश्यक निर्देशनका लागि अनुरोध गर्दछु।'

खानेपानी मन्त्रालयले यसअघि महिनावारी र स्वच्छताका विषयमा राष्ट्रिय दिवस मनाउँदै यो विषयलाई गम्भीरतापूर्वक लिन सबैपक्षलाई अनुरोध गरेको थियो। अछामको घटना सार्वजनिक भएपछि सो सम्बन्धमा कानुनी कार्वाही अघि बढाउने, देशैभरीका छाउगोठ तत्काल भत्काउने र स्थानीय सरकारमार्फत यसविषयमा गम्भीरतापूर्वक काम गर्न मन्त्रालयले अन्र्तमन्त्रालय समन्वयसमेत अघि सारेको छ।

यसैगरी यही विषयमा गम्भीरतापूर्वक छलफल गर्न मन्त्रालयले आगामी साता यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरूको कार्यक्रमको समीक्षासमेत गर्ने सचिवालयले जनाएको छ। महिनावारीका क्षेत्रमा थुप्रै संस्थाहरू कार्यरत भएपनि महिलाहरूको मृत्यु हुने घटनाले निरन्तरता पाइनै रहेको सन्दर्भमा गम्भीर भएर गैर सरकारी क्षेत्रलाई नियमन र परिचालन गर्नुपर्ने आवश्यकताका आधारमा मन्त्रालयले आउँदो साता अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी क्षेत्र एवं दातृ साझेदारहरूको बैठक बोलाएको हो।

खानेपानी मन्त्रालयले निकट भविष्यमा नै महिनावारीसम्बन्धी राष्ट्रिय नीति निर्माण सार्वजनिक गर्ने तयारीसमेत छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.