|

काभ्रेपलाञ्चोक : ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एक जना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ।

जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय चौबासको भवन निर्माण कार्य जिम्मा लिएर बीचमा नै अलपत्र पारेका अग्रिम निर्माण सेवाका प्रोपाइटर नविन चौलागाईबाट काम लिएका लालप्रसाद चौलागाईलाई प्रहरीले पक्राउ गरेका हुन्। 

चौलागाईले २०७३ साल बैशाख २० गते योजना सम्झौता गरेका थिए। २०७४ बैशाख १९ सम्पन्न गर्ने गरी सम्झौता गरेको उक्त काम ६० प्रतिशत मात्रै सम्पन्न गराई काम अगाडी नबढाएको कारण आवश्यक सोधपुछको लागि आज कातिकेदेउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए। 

‘चलागाईलाई आवश्यक सोधपुछको लागि आज पक्राउ गरिएको हो, कस्तो खालको कार्वाही हुने भन्ने विषयमा भोलि टुंगो लाग्नेछ’ मरासिनीले भने। चौलागाई अग्रिम निर्माण सेवाका प्रोपाईटर नविन चौलागाईबाट ठेक्का लिएको पेटी ठेकेदार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा ठेक्का सम्झौता गरी समयमा नै काम नगर्ने निर्माण कम्पनीका ठेकेदारहरुको विवरण तयार गरी कार्वाहीको प्रक्रिया अगाडि बढाइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.