|

चितवन : किसानका लागि मौरीको रानी वितरण कार्य चितवनमा लक्ष्यअनुसार सफल हुन सकेन। सरकारी कार्यक्रमअनुसार चैत मसान्तसम्म ९४ जना किसानका लागि चार हजार ५०० मौरीको रानी वितरण गर्ने योजना थियो।

मौरीपालन विकास केन्द्र भण्डारा तोकिएको समयसीमाभित्र करिब ६० प्रतिशत मात्रै मौरीको रानी वितरण गर्न सफल भएको छ। समयमै वितरण नभएपछि असार १५ सम्म म्याद थप भएको अनुसन्धान केन्द्र भण्डाराका प्रमुख शिव रिजालले जानकारी दिए। 

रानी बन्नलाई कुमारी रानी बाहिर मिटिङ गरेर आउनु पर्दछ। तर, मौसम समस्याले त्यतै हराउने गरेकाले वितरणमा समस्या भएको अनुसन्धान केन्द्रका प्रमुख रिजालको भनाइ छ।

अघिल्लो वर्ष बाढीका कारण मौरीका घार बगाउँदा सरकारी तवरबाट मात्रै उत्पादन हुन नसक्ने देखेपछि यस वर्ष निजी क्षेत्रलाई रानी उत्पादनको जिम्मा दिइएको थियो। तर, निजी कम्पनीले जिम्मेवारीअनुसार रानी उत्पादन गरेर दिन सकेका छैनन्। उत्पादनको जिम्मा पाएको संचस मौरीपालन केन्द्र चितवनका सञ्चालक शंकर भट्टले आफुले जिम्मेवारी पाएअनुसारको रानी वितरण गर्न नसकेको स्वीकारे।

एक हजार रानी उत्पादन गर्ने जिम्मा लिए पनि उनले अहिलेसम्म १०० रानी मात्र उत्पादन गरेका छन्। अब थप करिव १०० रानी उत्पादन गर्ने बताए। आफु विरामी परेको र साथीले समेत धोका दिएकाले उत्पादनमा समस्या परेको उनको भनाइ छ।

भट्टका अनुासार जिल्लामा रानी उत्पादनका लागि नेपाल बी कन्सर्न भरतपुर, रावल बी फर्मा नवलपरासी र संचस मौरीपालन फार्म चितवनले जिम्मा लिएको हो। नेपाल बी कन्सर्नले दुई हजार र अन्य दुई फार्मले एक, एक हजार रानी उत्पादन गर्ने जिम्मा लिएका थिए। केन्द्रले ५०० रानी उत्पादन गर्ने लक्ष्य थियो। उनीहरूलाई प्रतिरानी उत्पादन गरेबापत ४२५ रुपैयाँ दिने सम्झौतामा उल्लेख छ। एक हजार रानी उत्पादन गरेबापत अनुगमन खर्चसहित पाँच लाख रुपैयाँ विनियोजन गरिएको आएको थियो। 

किसानको व्यवसायिकता र घार हेरेर उनीहरुलाई रानी वितरण गरिँदै आइएको छ। एउटा रानी वितरण हुनु भनेको एउटा घार वितरण गरे सरह मानिन्छ। एउटा रानी तयार हुन ३० देखि ३५ दिनसम्म लाग्छ।

नेपालमा पाँच हजारभन्दा बढी मौरीपालक किसान छन्। उनीले करिब दुई हजार ४०० मेट्रिक टन मह उत्पादन गर्छन्। तीमध्ये चितवनमा करिब ८०० मेट्रिक टन मह उत्पादन हुने नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेलले बताए। 

चितवनमा ०५१ बाट व्यवसायिक मौरीपालन सुरु भएको हो। यहाँ ३५० भन्दा बढी किसान मौरीपालन व्यवसायमा छन्। यस क्षेत्रमा मेलिफेरा मौरी व्यवसायिक रुपमा पालिन्छ। सेरेना मौरीले कम मह दिने भएकाले कम मात्र पालिने जिल्ला कृषि विकास कार्यालय चितवनको भनाइ छ। नेपालमा मेलिफेरा ५० हजार र सेरेना मौरी एक लाख बढी गोला रहेको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.