सुरु भयो एआइजी बढुवाको दौड

|

काठमाडौं :  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) को दरबन्दी घटाए पछि प्रहरीको प्रदेश संरचना कस्तो रहने भन्ने बारे अझै टुङ्गो लागेको छैन्। संघीय प्रहरी ऐन नबन्दा यसको टुङगो नलागेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शैलेन्द्र थापाको भनाई छ। गृहमन्त्रालयले भने प्रहरीलाई प्रदेश संरचनामा लैजादाँ कस्तो बनाउनेदेखि नेतृत्व बाँडफाँडका बिषयमा धमाधम निर्यण गर्दै गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

यसको पछिल्लो शुरुवात नेपाल प्रहरीमा १६ जनासम्म प्रहरी अतिरिक्त महानिरक्षिक र शसस्त्रमा ११ जना सम्म (एआइजी) भएकामा प्रदेश संरचनामा जाने भएसँगै प्रहरीमा तीन जना र शसस्त्रमा २ जनामात्रै एआइजी रहने व्यवस्था गरेको सुवेदीको भनाई छ।

यसरी बन्दै छ प्रहरीको नयाँ संरचना 

अब एक जना प्राविधिक एआइजीसहित नेपाल प्रहरीमा जम्मा ४ जना एआइजी हुनेछन्। यसअघि एआइजीले नेतृत्व गरेका ठाउँमा कसले गर्ने र अन्य ठाउँको नेतृत्व कसले गर्ने भन्ने बहसको समेत अन्त्य भएको छ। अब प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) रहने करिब पक्का भएको छ। तर अब तीन जना डिआइजीलाई एआइजीमा बढुवा गर्ने र उनीहरुलाई कहाँ पदस्थापन गर्ने भन्ने बहस चलेको छ।

प्रहरी हेडक्वाटरको प्रशासन विभाग र मानवस्रोत विकास विभागलाई गाभेर प्रशासन तथा मानवस्रोत विकास विभाग बनाइने तयारी भइरहेको र त्यसको प्रमुख एआइजीले गर्ने तयारी भएको उच्च प्रहरी स्रोतको भनाई छ। त्यस्तै प्रहरी हेडक्वाटरमै रहेको अपराध अनुसन्धान विभाग र राष्ट्रिय प्रहरी प्रतिष्ठानमा रहेको एआइजीको दरबन्दीलाई यथावत राख्ने तयारी छ। जसअनुसार बढुवा भएका तीन एआइजीलाई प्रहरी प्रतिष्ठान, अपराध अनुसन्धान विभाग र प्रशासन तथा मानव स्रोत विकास विभागका प्रमुख राख्ने तयारी गृहमन्त्रालयको छ।

उपत्यकाको तीन जिल्लाको कमाण्ड सम्हालेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको प्रमुख समेत अब (डिआइजी) रहने प्रहरी स्रोतको भनाई छ। संघीय संरचनामा जाँदा आयुक्त कार्यालयलाई केन्द्रीय कमाण्डको रुपमा खडा गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ। जसको नाम काठमाडौं प्रहरी राख्ने र यस कार्यालयले पहिलेकै तीन जिल्लाको कमाण्ड सम्हाल्ने बताइएको छ।

छुट्टै विमानस्थल सुरक्षा बल गठन हुने

प्रहरीको प्रदेश संरचना अनुसार हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको मातहत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डलाई प्रहरी प्रधान कार्यालय मातहत राख्ने र विमान स्थल सुरक्षाका लागि छुट्टै कार्यालय राख्ने तयारी समेत भइरहेको प्रहरी प्रधान कार्यालयको भनाई छ। देशभर बन्दै गरेका अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलको सुरक्षाका लागि ‘विमान स्थल सुरक्षा बल’ बनाउने तयारी भएको प्रहरी स्रोतको भनाई छ। जसको नेतृत्व डिआइजीले गर्नेछन्।

त्यस्तै यसअघि डिआइजी प्रमुख रहने ट्राफिक प्रहरी महाशाखामा अब वरिसष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रमुख हुने बताइएको छ। जसअनुसार अहिले पनि महाशाखाको नेतृत्व एसएसपी बशन्त पन्तले सम्हालेका छन्।

यी हुन् एआइजिका प्रतिसप्रधी 

नेपाल प्रहरीमा तीन जना एआइजी रहने भनिए पनि हाल नेपाल प्रहरी एआइजीबिहिन छ। एआइजी बढुवाका लागि डीआइजीहरु उत्तमकुमार कार्की, छविलाल जोशी, पवनप्रसाद खरेल, ज्ञानविक्रम शाह, शरद चन्द, पुस्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्न्यात र सुरेशविक्रम शाह गरी १० जना प्रतिस्पर्धामा छन्।

२०४५ असार ३० मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द ३० वर्षे सेवा हदका कारण आउँदो असार २९ मा अनिवार्य अवकाश हुँदैछन्। प्रहरीमा सेवा अवधि हटाउने बारे बहस भएपनि सेवा अवधि लगभग नहट्ने पक्का जस्तै भएको छ। त्यसैकारण उनीहरुले आउँदो असार २९ मा अनिवार्य अवकाशमा जाँदैछन्।

उनीहरु अवकाशमा जाने भएपछि बाँकी रहेका ५ जना डिआइजीबीच एआइजी बढुवाका लागि प्रतिस्पर्धा हुने निश्चित छ। डिआइजी पुष्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्न्यात र सुरेशविक्रम शाहमध्येबाट ३ जना एआइजीमा बढुवा हुनेछन्। उनीहरु पाँचै जना २०४६ माघ २९ गते हालका आइजीपी सर्वेन्द्र खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.