अधिकांश खेलाडीको रोजाइमा ब्राजिल

|

इलाम : २०१८ फिफा विश्वकप फुटबलको सुरु हुनै लाग्दा विशेष चर्चा सुरु भइसकेको छ। गाउँ टोल र गल्लीमा फुटबलकै चर्चा हुने गर्छ। युवा मात्र होइन फुटबल बच्चादेखि बूढाबूढीसम्मको विशेष आकर्षण छ। फुटबलप्रेमीले आफूलाई मन पर्ने टिमको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

कतिपयले समर्थन गरेको टिमको जर्सीसमेत लगाएर फोटो पोस्‍ट गर्दै छन्। नेपाली राष्ट्रिय टिम खेलाडीहरूलाई समेत फुटबलले राम्रो छोएको छ। अधिकांश खेलाडीले ब्राजिललाई समर्थन गरेका छन् भने अर्जेन्टिना, स्पेन, जर्मन र इङल्यान्डले समेत नेपाली खेलाडीलाई प्रभाव पारेको छ।

कप्तान विराज महर्जनको समर्थन ब्राजिललाई

नेपाली राष्ट्रिय टिमका कप्तान विराज मर्हजन यसपटकको विश्वकपमा ब्राजिललाई समर्थन गर्दै छन्। सन् १९९८ को विश्वकपदेखि नै ब्राजिलको सर्मथक विराज सन् २००२ मा ब्राजिलको कट्टर समर्थक भइसकेका थिए। उनी भन्छन्, '१९९८ को विश्वकपदेखि ब्राजिलको समर्थन गर्न थालेको हुँ। त्यतिबेला ब्राजिल उपविजेता बनेको थियो। तर, अलि सानै भएकाले सबै कुराचै थाहा थिएन।

२००२ बाट चाहिँ हालसम्मै ब्राजिललाई मेरो सर्पोट।’ उनलाई ब्राजिलियन टिमको अफेन्सिभदेखि लिएर डिफेन्सिभ सबै पक्ष सबल लाग्छ। विराजलाई ब्राजिलियन टिमका डिफेन्स मार्सेलोको खेल मर्नपर्छ। उनी भन्छन् ‘मार्सेलो राम्रो डिफेन्सिभ मात्र नभई ओभरल्याप गर्दै गोल गर्न सक्ने क्षमता भएको खेलाडी हुन्।’

उपकप्तान भरत खवासको समर्थन ब्राजिललाई

नेपाली फुटबल टिमका उपकप्तान तथा विभागीय टिम त्रिभुवन आर्मीका कप्तान भरत खवासको समर्थन यसपटक ब्राजिल टिमलाई रहेको छ। सन् १९९८ को विश्वकपदेखि नै ब्राजिलको समर्थक भरत सन् २००२ मा ब्राजिलको कट्टर समर्थक भइसकेका थिए। उनी भन्छन्, '१९९८ को विश्वकपदेखि ब्राजिलको समर्थन गर्न थालेको हुँ। त्यतिबेला ब्राजिल उपविजेता बनेको थियो। तर, अलि सानै भएकाले सबै कुरा चै थाहा थिएन।

२००२ बाट चाहिँ ब्राजिलको खेल राम्रोसँग थाहा छ।’ यसपटकको विश्वकप ब्राजिलले जित्ने उनको विश्लेषण छ। ब्राजिलले जित्ने आधार दिँदै उनी भन्छन्, 'ब्राजिलमा विश्वका स्टार खेलाडी छन्। अर्कोतर्फ ब्राजिलको विश्वकप इतिहास पनि राम्रो छ। ब्राजिलका युवा ताथ अन्य खेलाडी ऊर्जावान छन्। ब्राजिलको टिमवर्क पनि तारिफयोग्य छ।’

विश्वकपमा ब्राजिललाई समर्थन गरे पनि उनको मनपर्ने खेलाडी भने उरुग्वेका फरवार्ड लुइस सुआरेज हुन्। 'सुआरेजले गोल गर्ने कला एकदमै गज्जबको छ। कलात्मक क्षमताले सबैलाई मन्त्रमुग्ध पार्ने क्षमता सुआरेजसँग छ’ भरतले भने। ब्राजिलियन टिममा भने उनलाई नेइमार मन पर्छ। नेइमारले गोलका लागि गर्ने मिहिनेत राम्रो पक्ष भएको उनको भनाइ छ।

महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीसमेत ब्राजिलकै फ्यान

नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा विभागीय टिम एपिएफकी भरपर्दो स्ट्राइकर सावित्रा भण्डारीसमेत ब्राजिलले विश्वकप जित्नेमा आशावादी रहेको बताउँछिन्। २०१४ को विश्वकपपछि ब्राजिललाई समर्थन गर्न थालेकी भण्डारीले ब्राजिलको फर्वाड लाइन र डिफेन्सिभ लाइन राम्रो रहेको कारण विपक्षी टिमलाई दबाब हुने बताइन्।

क्रिस्टियानो रोनाल्डो मनपर्ने खेलाडी भए पनि पोर्चुगलको टिम खासै राम्रो नभएकोले ब्राजिल नै सन् २०१८ को विजेता हुने उनको धारणा छ। रोनाल्डोपछि नेयमार मनपर्ने भण्डारीले यसपटक सन् २०१४ को नतिजा नदोहोरिने बताउँछिन्। उनी भन्छिन् ‘२०१४ पछि खेलिएका २० मध्ये १९ खेल ब्राजिलले जितेको छ। अहिले टिम फर्ममा छ।’

पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङको समर्थन अजेन्टिनालाई

नेपाली राष्ट्रिय टिमबाट सन् २००२ देखि २००७ सम्म फर्वाड पोजिसनमा खेलेका सुरेन्द्र तामाङ यसपटकको विश्वकप अर्जेन्टिना टिमले जित्नेमा आशावादी रहेको बताउँछन्। २०१४ को ब्राजिल विश्वकपमा अर्जेन्टिनाको टिम नयाँ जेनेरेसनको भएकाले फाइनल उठाउन नसकेको बताउँदै उनी भन्छन् ‘४ वर्षको अन्तरालमा टिममा धेरै परिपक्वता आएको छ। यसै अवधिमा अर्जेन्टिनाको खेलाडीहरू नाम चलेका क्लबबाट स्तरीय प्रर्दशन गर्न सफल छन्।’ म्यारोडनो विशेष मनपर्ने तामाङलाई नयाँ पुस्तामा अर्जेन्टिनाको कप्तान लियोनल मेस्सी मनपर्छ। ‘मेस्सीको स्किल राम्रो छ। उनी सेल्फिस खेल्दैनन्। सबै पोजिसनका लागि मेस्सी फिट छन्’ तामाङ भन्छन्।

थ्री स्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंको रोजाइ ब्राजिल

थ्री स्टार क्लबलाई २०६९ सालको शहिद स्मारक लिग तथा किस्टोन क्लबलाई पोकोना कप जिताएका प्रशिक्षक प्रदीप हुमागाईं ब्राजिलिय टिम छैटौँपटक च्याम्पियन बन्ने बताउँछन्। वेस्टह्याम युनाइटेडको अमेरिकामा रहेको किस्टोन एथ्लेटिक्सका फुटबलका प्रशिक्षक हुमागाईं ब्राजिली टिमका युवा खेलाडीहरूले विश्वकप दिलाउनेमा विश्वस्त रहको धारणा राख्छन्। उनी भन्छन् ‘ब्राजिलको सर्टपास राम्रो छ। सबै खेलाडीहरूले आफ्नो भूमिका राम्रोसँग निभाउन सक्छन्।’

१९९० को विश्वकपदेखि ब्राजिललाई समर्थन गरेका उनी प्रशिक्षक टिटेको रणनीतिले ब्राजिलले स्तरीय खेलकौशल देखाउन सक्ने बताउँछन्। ‘चार वर्ष अघिभन्दा ब्राजिलमा धेरै परिवर्तन छ। प्रशिक्षक टिटे गेम चेन्जर भएकाले पनि पछि परेको नतिजा ब्राजिलले उल्ट्याउन सक्छ।’ हुमागाईंका सबैभन्दा मनपर्ने खेलाडी ब्राजिलको काउटिन्हो र थिएगो सिल्भा हो। दुवै खेलाडीको आत्मविश्वास ब्राजिलको हतियार भएको हुमागाईं बताउँछन्।

राष्ट्रिय टोलीका डिफेन्स कमल श्रेष्ठको समर्थन अर्जेन्टिना

राष्ट्रिय टिमका भरपर्दा डिफेन्स कमल श्रेष्ठ मेस्सीको प्रेरणाले अर्जेन्टिना विश्व च्याम्पिनय बन्न कसैले रोक्न नसक्ने बताउँछन्। एट्याकिङ राम्रो भएकाले अर्जेन्टिनाको प्रहारले सहज रूपमा विपक्षी टिमको जाली चुम्ने श्रेष्ठ बताउँछन्। उनी भन्छन् ‘अर्जेन्टिनाका खेलाडीहरू प्राय: सबै एट्याकिङ र डिफेन्सिभ दुवै खेल्न सक्ने भएकाले विपक्षी टिमलाई दबाब राख्न सक्छन्।’

ब्राजिललाई समर्थन गर्दै आएका श्रेष्ठ २०१६ बाट अर्जेन्टिनालाई समर्थन गर्न थालेका हुन्। डी मारिया र मेस्सी मन पराउने उनी अन्तिम विश्वकपमा मेस्सीको जादु चल्ने बताउँछन्।

राष्ट्रिय टिमका डिफेन्स जितेन्द्र कार्की ब्राजिलको समर्थनमा

पारो क्लबमा दुईवटा खेल खेल्न भुटानमा रहेको राष्ट्रिय टिमका डिफेन्स जितेन्द्र कार्कीले ब्राजिलको टिमलाई समर्थन गरेका छन्। थिएगो सिल्भा मनपर्ने कार्की टिम सन्तुलनका कारण आफूले २००२ बाटै ब्राजिलको टिमलाई समर्थन गरेको बताउँछन्। उनी भन्छन् ‘ब्राजिलको टिमको टिम सेट छ। गोल गर्ने स्ट्राइकरदेखि लिएर गोलपोस्‍ट सम्हाल्ने किपरसम्म योग्य छन्। सबै युवा खेलाडीहरू रहेकाले यसपटक ब्राजिलले जित्छ।’

अनन्तको समर्थन जर्मनी

राष्ट्रिय टिमका डिफेन्स झापा झिलझिलेका स्थायी बासिन्दा अनन्त तामाङ यसपटकको विश्वकपमा जर्मन टिम फाइनल पुग्ने बताउँछन्। उनी भन्छन्, ‘जर्मनको टिम ब्यालेन्स राम्रो छ। एट्याकिङसमेत उत्कृष्ट छ।’ सन् २०१० को विश्वकपबाट जर्मन टिमलाई समर्थन गर्न थालेका अनन्तको मनपर्ने खेलाडी भने स्पेनमा सर्जियो रामोस हुन्। स्पेनका सेन्ट्रल डिफेन्स रामोसको बल क्लियरिङ र सुटआउट राम्रो लाग्ने उनले बताए। अनन्त फाइनलमा जर्मनीले ब्राजिल वा स्पेनसँग प्रतिस्पर्धा गर्ने बताउँछन्।

झापा-११ का प्रशिक्षक प्रवेश कटुवालको समर्थन ब्राजिल

झापा-११ का प्रशिक्षक एवं पूर्वकप्तान प्रवेश कटुवालको समर्थन ब्राजिल टिमलाई रहेको छ। खेलमा पछि परेका अवस्थालाई समेत उल्टयाउन सक्ने क्षमताका कारण छैटौँपटक उपाधि जित्न ब्राजिल टिमलाई कसैले रोक्न नसक्ने उनको धारणा छ। प्रवेश भन्छन्,

‘ब्राजिलको टिम फर्ममा छ। फुटबलको पर्याय नाम ब्राजिल भएकाले उसले २ गोलले पछि परेका अवस्थालाई समेत उल्टयाए ३ गोल गर्न सक्छ।’ रोनाल्डो र रोमेरियाको खेलबाट प्रभावित प्रवेश १९९४ बाटै ब्राजिल टिमको समर्थनमा छन्। ब्राजिलको फ्यान भए पनि उनलाई स्पेनमो जाभियर हर्नान्डेज मनपर्छ। सेन्टर मिडफिल्डरबाट खेल्ने प्रवेश जाभियरसमेत सोही पोजिसनमा खेल्ने भएकाले मनपरेका बताउँछन्। ब्राजिल टिममा भने उनलाई नेयमार मनपर्छ।

गोलरक्षक विकेशको रोजाइ ब्राजिल

राष्ट्रिय टिमका दोस्रो रोजाइका गोलरक्षक विकेश कुथुलाई ब्राजिल टिम मनपर्छ। सन् २००२ बाटै विश्वकप हेर्न थालेका विकेश सुरुमा बाबाले समर्थन गर्ने टिम ब्राजिल मनपर्थ्यो। पछि खेल बुझ्ने भएपछि समेत ब्राजिलकै टिम राम्रो लागेको उनले बताए। गोलरक्षक भएकाले उनलाई स्पेनका इकार कासिलास मनपर्थ्यो तर यस विश्वकपमा कासिलास नभएकाले जर्मनमा म्यानुएल नेयुर विकेशको मनपर्ने खेलाडी हुन्। रोमाबाट क्लब फुटबल खेल्ने ब्राजिलका गोलरक्षक एलिसन रामसेसको गोलरक्षा गर्ने कला समेत मनपर्ने विकेश बताउँछन्।

भुटानमा रहेको नेपाली टिमका स्ट्राइकर नवयुग श्रेष्ठको समर्थन स्पेनिस टिमलाई रहेको छ भने हाल हङकङमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको समर्थन भने इङल्यान्ड टिमलाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.