|

दमक (झापा) :  झापाको दमक र आसपासका सामुदायिक विद्यालयमा अचेल विद्यार्थीको चाप बढ्दो छ। भर्खरै सकिएको विद्यार्थी भर्ना अभियानका क्रममा पनि कतिपय बोर्डिङ छोडेर पनि विद्यार्थीहरू सामुदायिक विद्यालयमै भर्ना भए।

बोर्डिङ स्कुलमा जस्तै गरी अंग्रेजी माध्यम सामुदायिक विद्यालयमा नै हुन थालेपछि सामुादायिक विद्यालयले समुदायको विश्वास जित्दै गएका छन्। तर, हालसम्मको अंग्रेजी माध्यमको शिक्षामा सन्तुष्ट रहे पनि शिक्षकहरूको उचित व्यवस्थापन तथा सरकारबाट आवश्यक सहयोग हुन नसक्दा भने चुनौती रहेको विद्यालयका प्रधानाध्यापकहरूको भनाइ छ। 

अंग्रेजी माध्यमले तान्यो विद्यार्थी

दमकको हिमालय माविमा हाल २७ सय विद्यार्थी अध्ययनरत रहेका छन्। सरस्वती माविमा यो संख्या १२ सयको हाराहारीमा छ। कमल गाउँपालिका-५ को मंगलमय माविमा पनि १३ सयको हाराहारीमै विद्यार्थी संख्या रहेको छ। यी विद्यालयमा धेरैजसो कक्षा अहिले अंग्रेजी माध्यमबाटै संचालन हुने गरेको छ। ‘अंग्रेजी पढन आउनेको चाप हामीले थेग्न सकिरहेका छैनौ। हिमालय माविका प्रधानाध्यापक विष्णुकान्त झाले भने, 'शिक्षकको समस्या भए पनि हामीले त्यसको व्यवस्थापन गरेको छौं। निजी स्रोतमा १२ जना गरी जम्मा ७३ जना शिक्षक/शिक्षिका रहनुभएको छ।’

हिमाविमा सहरका विद्यार्थीका लागि २ वटा बसमध्ये एउटा मात्र चालु अवस्थामा छ। अंग्रेजी माध्यमबाट पनि पाँच व्याचले एसईई उत्तीर्ण गरिसेकेको छ। अंग्रेजी माध्यममा निजी संस्थागत विद्यालयले प्रयोग गरेका अंग्रेजी माध्यमकै पाठ्यपुस्तकहरू पढाइने गरेको बताइएको छ। सरकारले निःशुल्क भने पनि आवश्यकताका आधारमा व्यवस्थापन शुल्क भनेर विद्यार्थीहरूबाट वर्षभरिको बढीमा ३२ सयसम्म लिइने गरेको विद्यालय प्रशासनले जनाएको छ। कक्षा १० मा जम्मा ६ वटा सेक्सन रहेकोमा ४ वटा सेक्सन भने अंग्रेजी माध्यमका रहेका छन्। प्रअ झाले विद्यालयमा अंग्रेजी माध्यममा पढाउन नसक्ने शिक्षकहरु नरहेको बताए। 

टाई र बेल्टले बोर्डिङकाे छनक

हाल सामुदायिक विद्यालयमा पनि बोर्डिङको जस्तै विद्यार्थीलाई युनिफर्म र टाई बेल्ट अनिवार्य गरिएको छ। यो पनि निजी संस्थागत विद्यालयकै सिको गरेको बताइन्छ। तर अन्ततः विद्यालयमा अंग्रेजी शिक्षा लागू गरेपछि आकर्षण बढेको दमकको सरस्वती माविका प्रधानाध्यापक सिताराम ढकाल र कमलको मंगलमय माविका प्रधानाध्यापक मोहन बगाले बताए। ‘बोर्डिङकै जस्तो पढाई हुने भएपछि विद्यार्थी र अभिभावकले सामुदायिक विद्यालय नै रोज्न थालेका छन्। प्रधानाध्यापक ढकाल र बगालेले भने. 'हामीले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न थालेका छौं। अभिभावक पनि अंग्रेजी शिक्षा भनेपछि मरिहत्ते गर्छन्।

अहिलेको बजार र अन्तर्राष्ट्रिको माग नै यही छ।’ यसैगरी अघि बढ्ने हो भने निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न सकिन्छ। सरस्वती माविका प्रअ ढकालको भनाई छ, 'शिक्षकको व्यवस्थापन पनि क्रमशः हुँदै जान्छ। सरकारले तालिमको व्यवस्था पनि गरेको छ। ’सरस्वती माविमा कक्षा १ देखि १० सम्मनै अंग्रेजी भाषामा पढाई हुन्छ। मंगलमयमा भने १ देखि ४ सम्म र ६ देखि १० कक्षासम्म अंग्रेजी माध्यमको पढाई हुन्छ।यि विद्यालयहरूले सुरुमा आफ्नो विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षा समेत लिने गरेका छन्। 

दरबन्दीको समस्या

सरस्वती माविमा निजी स्रोतका शिक्षक दरवन्दी २ जना भएकोमा हाल १ जना मात्र कार्यरत छन् भने मंगलमयमा १० जना निजी स्रोतका शिक्षक रहेको प्रअ बगालेले जानकारी दिएका छन्। शिक्षण सिकाई शुल्क भनेर सरस्वतीमा वार्षिक बढीमा ९ सय  र मंगलमयमा वार्षिक बढीमा ४५ सयसम्म लिइने गरेको छ। निजी संस्थागतको तुलनामा यो अत्याधिक न्यून शुल्क हो। ‘पुराना शिक्षकहरूले पनि मिहिनेत गर्नुपर्छ। अंग्रेजीमा माध्यममा पढाउन सक्नुहुन्छ। ’ मंगलमयका प्रअ बगाले सरकारसंग भने गुनासो गर्दै भन्छन्, 'विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकको संख्या बढी छ। तर विद्यार्थी बढी भएका विद्यालयमा शिक्षक संख्या कम छ। यसको उचित व्यवस्थापन गर्नुपर्छ।’ मंगलमयमा बहिराका लागि विशेष कक्षा समेत संचालन हुँदै आएको तर सरकारले बजेटको उचित व्यवस्थापन गर्न नसकेको प्रअ बगाले बताए।

कमल गाउँपालिका शिक्षा शाखाका स्रोत व्यक्ति केशव भट्टराई भने सामुदायिक विद्यालयले दिइरहेको अंग्रेजी माध्यमको शिक्षा क्रमशः गुणस्तरीय बन्दै गएको र यो ठीकै छ भन्ने अवस्थामा रहेको बताउँछन्। तर अभिभावकको सन्तुष्टिलाई हेर्नुपर्ने स्रोत व्यक्ति भट्टराईको बुझाई छ।

अभिभावक सन्तुष्ट भए भने यसले सफलता पनि प्राप्त गर्छ। विद्यालयका प्रअहरूले क्रमशः नेपाली भाषाको शिक्षा हट्न सक्ने बताइरहँदा स्रोत व्यक्ति भट्टराई भने सरकारको नीति त्यस्तो नभएकाले त्यस्तो अवस्था अहिलेनै नरहेको बताउँछन्। पूर्व प्राथमिक विद्यालयमा मन्टेश्वरी विधिबाट अध्ययन अध्यापन गराउने भन्दै दमक र कमलमा केही समयअघि मात्र सोसम्बन्धी तालिम समेत प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.