|

दैलेख : गतवर्ष जेठमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-८ की २४ वर्षीया लालसरा विकको छाउगोठ बसेकै बेला ज्यान गयो। त्यसको दुई महिना नबित्दै सोही नगरपालिकाकी तुल्सी शाहीको पनि छाउगोठमै ज्यान गयो। चामुण्डाविन्द्रासैनी नगरपालिका-४ लैनचौरकी तुल्सीको छाउगोठमा बस्दा सर्पले डसेर ज्यान गएको थियो। यी दैलेखमै घटेका घटनाहरू हुन्।  

गत शनिवार मात्रै दैलेखसँग सीमा जोडिएको अछाममा महिनावारी बार्न छाउगोठ बसेकी एक किशोरीको सर्पले डसेर ज्यान गयो। तुर्माखाँद गाउँपालिका-४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएको थियो। 

त्यसको लगत्तै दाङमा जग्गा नबेचेको सामान्य निहुँमा एक महिला निर्घात कुटिइन्। सोही दिन कालिकोटमा कुटपटिपछि एक दलित महिलाको ज्यान गयो। तत्कालीन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका-९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाइबाट ज्यान गएको हो।

त्यसको लगत्तै महिला तथा बालिका माथि हुने हिंसा रोकथामको अभियान लिएर सचेतनाका निम्ति घरदैलो गर्दै हिँडेकी दैलेख नौमूले गाउँपालिका–४ कालिकामा अभियानकर्ता नै महिलाद्वारा कुटिए। बढ्दो बालविवाह रोकथाम र घरेलु हिंसाविरुद्ध महिला सशक्तिकरणको विषयमा घरदैलोमै भेटघाट कार्यक्रम लिएर गएका मोतीकला ढेंगा, नर्जिता पुन स्थानीय महिलाद्वारा कुटिएका थिए। शनिबार मात्रै आफ्नै श्रीमानबाट भारतमा बेचिएकी महिला (उनको छोरासहित) उद्धार गरिएको थियो।

दैलेखलगायत विभिन्न जिल्लामा दलित, महिला तथा बालबालिका माथि घट्दै गएका घटनाहरूलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्लामा कार्यरत सामाजिक संघ संस्थाहरूले कुसंस्कार र कुरीतिविरुद्ध गाउँ अभियान संचालन गरेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतसँगै सिमाना जोडिएको गुरासँ गाउँपालिकाका विभिन्न वडाहरूमा यस्तो अभियानको थालनी गरिएको हो।

सामाजिक रूपमा कुसंस्कार र कुरीतिको रूपमा लिइएको जातिय विभेद, महिला हिंसा, बाल विवाह, छाउपडी पर्था, यौन दुर्व्यहार, जर्बरजस्ती करणी, मानव बेचखिन तथा ओसारपसार, लागुऔषध दुर्व्यसनी, समूहमा हुने रुपान्तरित विकृतिलगायतका विषयमा समुदायलाई सचेत बनाउने उद्देश्यले जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरूले संयुक्त रूपमा यस्तो अभियानको थालनी गरेका हुन्।

दैलेखसँगै विभिन्न जिल्लामा कुरीति, कुसंस्कार तथा आपराधिक क्रियाकलापहरू नदोहोरिउन भन्ने उद्देश्यले यस्तो अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय दैलेख महिला सेलका प्रहरी हवल्दार नर्जन शाहीले बताए।

दैलेखको गुरासँ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, स्थानीय दलित, महिला, बालबालिका, युवा युवती, शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई लक्षित गर्दै कुसंस्कार र कुरीतिविरुद्धको अभियान चलाइएको छ। अभियान अन्तर्गत गुरासँ गाउँपालिक-८ धरमपोखरामा एकदिने सचेतीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको सोसेक दैलेखका मनोविमर्शकर्ता निर्मला विसीले जानकारी दिइन्।

अभियान अन्तर्गत गुरासँ गाउँपालिका ३ पालिकान्ला र तल्लोडुङ्गेश्वरमा एक दिने सचेतीकरण कार्यक्रम गरिने विसीले जानकारी दिइन्। 'गाउँ अभियानमा पुग्दा स्थानीय महिलाहरूको सक्रियता पाएका छौँ, स्थानीय महिलाहरूनै जातिय विभेद, बाल विवाह, छाउपडि प्रर्थाजस्ता कुप्रर्था र कुरीतिविरुद्ध लाग्ने प्रतिवद्धता जनाएका छन्,' विसीले भनिन्।

अभियानका क्रममा स्थानीय महिलाहरूले आमा सचेतीकरण कार्यक्रम संचालन गर्न माग गरेको उनले बताइन्। बाल विवाहमा आमाहरूको बढी भूमिका हुने गरेको भन्दै स्थानीयले यस्तो कार्यक्रम गर्न माग गरेका हुन्। गुरासँ गाउँपालिकामा संचालन गरिएको अभियान जिल्ला प्रहरी कार्यालय दैलेख, गुरासँ गाउँपालिका, जिल्ला बाल कल्याण समिति, बाल हेल्पलाइन दैलेख, सोसेक दैलेखले सयुक्त रूपमा आयोजना गरेका हुन्। जिल्लामा भएका यस्ता कुरीति र कुसंस्कारलाई न्यूनीकरण गर्न दैलेखका ११ वटै  स्थानीय तहहरूले पनि अभियान संचालन गर्नुपर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.