|

सुमित श्रेष्ठ

रामेछाप : विपी राजमार्ग हुँदै रामेछाप जिल्लामा ठूला ढुवानी तथा सवारी साधन सञ्चालन हुनुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले लाठी चार्ज गरेपछि रामेछापका व्यवसायीहरू होटल तथा पसल बन्द गरेर हड्तालमा उत्रिएका छन्।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले हस्तक्षप गरी लाठी प्रहार गर्दा चारजना घाइते भएका छन्। समाचार संकलनमा गएका पत्रकारमाथि समेत प्रहरीले लाठी चार्ज गरेको थियो।

प्रहरीको लाठी चार्जबाट पत्रकार यूनिक विफा घिसिङ घाइते भएका छन्। घिसिङको दुवै गोडमा चोट लागेको छ। प्रहरीको आक्रमणबाट व्यवसायी नविन कार्कीको आँखामा गम्भीर चोट लागेको छ भने अर्का व्यवसायी रुद्रकुमार श्रेष्ठको ढाड र टाउकोमा गहिरो चोट लागेको छ।

रामेछाप आउँने ठूला मालबाहक गाडीलाई सिन्धुलीबाट प्रवेश नदिएको र दोलखा जाने ५० भन्दा बढी ठूला गाडीलाई भने राति छोडिदिएपछि रामेछापको गाडीलाई नछोडे दोलखाको गाडीलाई रामेछापबाट जान नदिने भन्दै व्यवसायीले अवरोध गर्दा प्रहरीले लाठी चार्ज गरेको थियो।

आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले विनाकारण व्यवसायीमाथि आक्रमण गरेको उद्योग वाणिज्य संघ रामेछापका वरिष्ठ उपाध्यक्ष केशवप्रसाद घिमिरेले बताए। सिन्धुली र रामेछाप प्रहरी र दोलखाका ढुवानी व्यवसायीको मिलेमतोमा पैसा लिएर दोलखाको गाडीलाई राति छोडिदिने गरेको घिमिरेको आरोप छ।   

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै व्यवसायीले होटल तथा पसलहरू बन्द गरेर सडकमा उत्रिएका छन्। प्रहरी हस्तक्षेपविरुद्धमा व्यवसायीले मोटरसाइकल र्‍यालीसमेत निकालेका छन्। रामेछापका यातायात व्यवसायीले दोलखा जाने ढुवानीका साधनलाई अवरोध गरेपछि हस्तक्षेप गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.