‘प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुन्छ’

|

काठमाडौं : नेकपाका नेता एवं राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरूलाई एक/दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन्।

राजधानीमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै नेता शर्माले भने, ‘युएनडिपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाईदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन्। युएनडिपीलाई मेरो भन्नु के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन्, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आफ्नै पैसाले खाएर पनि प्रशिक्षण लिन सक्छौँ।’

सांसदहरूलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ। उनले भने,‘उनीहरूले दिएको पैसा राष्ट्रिय महत्त्वका काममा सदुपयोग होस्, यो कुरा युएनडिपीको केन्द्रीय हेडक्वार्टरमा पुगोस्।’

नेता शर्माले साना–साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्तिसमेत जनाए। सांसदलाई अब कसैले पनि ‘डिक्टेट’ गर्न नपर्ने शर्माको जिकिर छ। दातृ निकायको सहयोग प्रायोजित रूपमा नभई आफूहरूको हितमा उपयोग हुनुपर्ने उनको भनाई छ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ।  उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ।’

चीनको ‘वान बेल्ट वान रोड’को वेल्ट एण्ड रोड ईनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाईदा लिनुपर्ने शर्माको तर्क छ। उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.