|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन्।

राजधानीमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै नेता  भण्डारीले भने, ‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक मागेको स्मरण सुनाउँदै भण्डारीले भने, ‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिइएन्।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चीनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाए। उनले नेपालका नेताहरू विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाए। उनले भने,‘हामी नेपाली हरेक कुरामा सक्षम छौं, आज हेर्नुहोस सिंगापुरमा हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको वार्तामा गोरखा सैनिकले सुरक्षा दियो, यो गौरवको विषय हो।’

उनले नेपालको विकास र समृद्धिको मोडल नै गलत रहेको गुनासो गरेका छन्। उनले भने,‘गलत मोडलमा हामीले विकास निर्माणका कामहरू अघि बढाएका छौं, हामीले धेरै योजनाविद बनाऔं, धेरै प्रधानमन्त्री बनाऔं, धेरै सरकार बनाऔं, तर भु–बनोट सुहाउँदो विकास गर्न भने सकेनौं।’

नेपालको भू–बनोट अनुसार हिमाल हेर्नको लागिमात्रै, पहाडको क्षयीकरण र तराई आगामी २० वर्षमा डुबानमा पर्ने खतरा पनि उनले औंल्याए। उनले भने,‘हामीले जतिसक्दो चाँडो एकीकृत वस्ती बसाल्नुपर्छ, हाम्रा सडकहरू मान्छे मार्ने धराप् बनेका छन्, अब हामी विश्व विकासको मोडल अनुसार अघि बढ्नुपर्छ।’ उनले तत्काल कम्तिमा पनि पाँचवटा सुरुङमार्ग बनाउनुपर्नेमा जोड दिए।

अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि यही मोडेलमा देशको विकास हुन नसक्ने नेता भण्डारीको ठोकुवा छ। नेपालका आफ्ना पहिचानलाई भारतका प्रधानमन्त्री आएर देखाईदिनुपर्ने यो कस्तो विडम्बना भन्दै उनले प्रश्न समेत तेर्साए।

स्वदेशमै रोजगारी सिर्जना नहुँदा नेपालका ठूलो मात्रामा युवा जनशक्ति खासगरी प्लस टु उत्तिर्ण गर्नेबित्तिकै विदेश पलायन हुने गरेको पनि उनले सुनाए। उनले अहिले सत्तापक्ष सत्तापक्षजस्तो नभएको र प्रतिपक्षीपनि प्रतिपक्षजस्तो नभएको आरोप लगाए।

अहिले सरकारसँग दुई तिहाईभन्दा बढिको बहुमत हुँदापनि सोचेअनुसार काम नभएको उनको गुनासो छ। सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको पनि उनको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.